मन्त्री यादवले गरे मुस्लिम विवाह भवनको उद्घाटन

१६ कात्तिक, काठमाडौँ । खानेपानीमन्त्री प्रदीप यादवले वीरगञ्जमा नवनिर्मित मुस्लिम विवाह भवनको उद्घाटन गरेका छन् ।

वीरगञ्ज महानगरपालिका- १४, बहुअरीमा मुस्लिम समुदायको सांस्कृतिक, धार्मिक र सामाजिक आवश्यकताहरूलाई मध्यनजर गरी निर्माण विवाह भवनको शुक्रवार उनले उद्घाटन गरेका हुन् ।

६० लाख रुपैयाँको कुल लागतमा निर्माण गरिएको यो भवनमा एउटा ठूलो सभा हल र दुई वटा अतिरिक्त कोठा छन्, जसमा विवाह, सभा, धार्मिक तथा सामाजिक कार्यक्रमहरूको आयोजना गर्न सकिन्छ ।

पर्सा निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्य समेत रहेका मन्त्री यादवको संसदीय पूर्वाधार विकास कोष र वीरगञ्ज महानगरपालिकाको संयुक्त लगानीमा भवन निर्माण भएको हो ।

‘यो भवन स्थानीय स्रोत र सहकार्यबाट निर्माण गरिएको उत्कृष्ट उदाहरण हो, जसले समुदायको आवश्यकतामा केन्द्रित परियोजनाहरूको महत्त्वलाई उजागर गर्छ,’ मन्त्री यादवले भने ।

भवनले मुस्लिम समुदायका सांस्कृतिक गतिविधिहरूलाई प्रोत्साहन गर्दै, उनीहरूको सामाजिक संलग्नता र एकतालाई अझ सुदृढ बनाउने उनले बताए ।

वीरगञ्ज महानगरपालिकाका मेयर राजेशमान सिंहले महानगरपालिकाको विकास नीति सबै समुदाय र वर्गका लागि समान रूपमा लाभदायक हुने बताए । ‘हामी वीरगञ्जलाई समावेशी, सुरक्षित र समृद्ध महानगरको रूपमा विकसित गर्न चाहन्छौँ, जहाँ प्रत्येक समुदायले सम्मानपूर्वक आफ्नो परम्परा र पहिचानलाई जोगाउन सक्छ,’ मेयर सिंहले भने ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *