मुग्लिङ–पोखरा सडक विस्तारका नाममा यात्रुलाई साढे चार वर्षदेखि सास्ती

काठमाडौं – चिनियाँ ऋण लगानीमा विस्तार अघि बढेको मुग्लिङ–पोखरा सडक आधा दशकयता अस्तव्यस्त छ । मुग्लिङ बजारदेखि त्रिशुली पारी मध्यपहाडी लोकमार्ग समेत रहेको उक्त सडक खण्ड विस्तारमा चरम ढिलाइ हुँदा यात्रुलाई सकस परिरहेको छ ।
मुलुकको पर्यटकीय राजधानी पोखरा पुग्ने मुख्य मार्ग नै भद्रगोल हुँदा पर्यटन क्षेत्रमै असर परिरहेको छ । सडक विस्तारमा देखिएको ढिलाइप्रति सरकार भने बेपर्बाह बनेको छ । ठेकेदार कम्पनीले निर्माणमा आलटाल गरिरहँदा समेत निर्माण चाँडो गराउन सरकार कठोर बन्न सकेको छैन ।
नेपालका सरकारी अधिकारी र चिनियाँ ठेकेदारको हेल्चेक्र्याइँका कारण सर्वसाधारण भने धुँवा, धुँलो, हिलो र खाल्डाखुल्डी ब्यहोर्दै कष्टकर यात्रा गर्न बाध्य छन् । सडक विस्तारकार्यमा निरन्तर ढिलासुस्त गर्दा सवारीसाधन सञ्चालन गर्न निकै सकस परिरहेको चालकहरू बताउँछन् ।
सडक विस्तारको लक्ष्य चौडाइ बढाउने, डेडिकेटेड लेन निर्धारण गर्ने र कालोपत्रे गर्ने हो । विस्तारकार्य शुरू भएदेखि नै यो खण्डमा निर्माणले भने गति लिन सकेन । जसका कारण, उक्त सडकखण्डको हालत अत्यधिक खाल्डाखुल्डीसहित जीर्ण हुन पुगेको छ ।
सडक दूरावस्थाकै कारण पोखरादेखि काठमाडौंसम्म बसमा यात्रा गर्दा १६/१७ घण्टासम्म लाग्ने गरेको छ । शुरूमा आयोजना पूर्वतयारीको काम गर्न नै लामो समय लागेकाले विस्तारमा ढिलाइ भएको निर्माण कम्पनीको तर्क छ ।