मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क्स’ निर्माण तीव्र

मेलम्ची खानेपानी आयोजनाको ‘हेडवर्क्स’ निर्माण तीव्र

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाअन्तर्गत ‘हेडवर्क्स’ निर्माण दुई महिनाभित्र सम्पन्न गर्ने लक्ष्य लिइएको छ । गत पुस दोस्रो सातासम्म सम्पन्न हनुपर्ने भए पनि ‘हेडवक्र्स’ को निर्माण विश्वव्यापीरूपमा फैलिएको कोभिड–१९ का कारण ढिलाइ भएको हो ।

सो अवधिमा काम सुस्तगतिमा भएकाले तोकिएकै अवधिमा सम्पन्न गर्न नसकिएको आयोजनाका सूचना अधिकारी राजेन्द्रप्रसाद पन्तले बताए। अहिले निर्माण धमाधम अघि बढिरहेकाले चैतसम्ममा सम्पन्न गरिसकिने उनको भनाइ छ ।

‘हेडवर्क्समा कङ्क्रिट गर्ने, गेटको फ्रेम राख्नेलगायतका काम सकिएको छ,’ उनले भने, ‘विद्युतीय कामलगायतका अरु केही काम अझै बाँकी छ ।’

गत वर्ष चैतदेखि आयोजनामा जनशक्ति र सामग्री अभावका कारण निर्माणले गति लिन नसकेको सूचना अधिकारी पन्तले बताए । उनका अनुसार सो अवधिमा आवश्यक जनशक्तिको आधाभन्दा कम मात्रैले निर्माणस्थलमा काम गरेका थिए । कोरोना सङ्क्रमण फैलन सक्ने जनाउँदै स्थानीय तहले मालवाहक सवारी साधनको आवतजावतसमेत रोकेका थिए ।

सो अवधिमा काम पूरै ठप्प नभए पनि सुस्त भएको उनले बताए । उनले भने, ‘कोभिडका कारण ढिलाइ भएको आयोजनामा अवधि थप्न सक्ने भनी सरकारले निर्णय गरेको छ ।’

नेपालमा कोभिड सङ्क्रमण कम हुँदा आयोजनाअन्तर्गत सुरुङमा भएको त्रुटि सच्याउने काम भइरहँदा ‘हेडवर्क्स’ निर्माण पनि अघि बढाइएको थियो । आयोजनामा यसअघि कार्यरत कम्पनीले गर्ने बाँकी काम सम्पन्न गर्ने गरी सम्झौता भएको चिनियाँ निर्माण कम्पनी सिनो हाइड्रोले ‘हेडवर्क्स’को बाँकी काम अघि बढाएको छ ।

आयोजनाले गत महिना सुरुङको परीक्षणका क्रममा ‘हेडवर्क्स’ को निर्माण नसकिएकाले अस्थायी बाँधमार्फत पानी पठाएको थियो । सुरुङमा रहेको ढोका गलत तरिकाले जडान भएकाले दुर्घटना भएको पाइएको थियो । अहिले त्रुटि सच्याउने काम भइरहेको छ । त्रुटि सच्याएर सुरुङको पुनः परीक्षण गर्दा अस्थायी बाँधकै प्रयोग गरिने भएको छ ।

दुई दशक पहिले निर्माण शुरु भएको सो आयोजनाअन्तर्गत अहिले सुरुङ निर्माण सम्पन्न भइसकेको छ ।

इटालेली निर्माण कम्पनी सिएमसीले आयोजना अलपत्र छाडेर गएपछि सरकारले विसं २०७५ असोजमा बाँकी काम सम्पन्न गर्ने गरी ठेक्का सम्झौता गरेको थियो । आयोजनाअन्तर्गत यसअघि नै सुन्दरीजलमा दुई पानी प्रशोधन केन्द्र निर्माण सम्पन्न भइसकेको छ ।

यो समाचार क्लिकमाण्डु डट कमबाट साभार गरिएको हो । यसलाई क्लिकमाण्डुमा पढन कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *