मेलम्ची पाइपलाइनको काम १० किमीमात्र बाँकी

मेलम्ची पाइपलाइनको काम १० किमीमात्र बाँकी

मेलम्ची खानेपानी आयोजनाले एक हजार किलोमिटर पाइपलाइनको काम सम्पन्न गरेको छ । खानेपानीको पहिलो चरणमा १ हजार १० किलोमिटर पाइपलाइन विस्तार गर्नुपर्नेमा अब १० किलोमिटर मात्र काम बाँकी छ । मेलम्चीको पानी घरघरमा वितरण गर्ने पाइपलाइन विस्तार तथा मर्मत गरी तयारी अन्तिम अवस्थामा पुगेको आयोजना कार्यान्वयन निर्देशनालय (पीआईडी)ले जानकारी दिएको छ ।

खानेपानी मन्त्रालयका अनुसार मेलम्चीको पानी उपत्यकामा आइसकेपछि नयाँ पाइपलाइन र पुरानै वितरण प्रणालीबाट तत्कालका लागि पानी वितरण गर्ने तयारी छ । मेलम्चीबाट सुरुङमार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई उपत्यकाका विभिन्न स्थानमा वितरणको व्यवस्थापन तयारी अवस्थामा रहेको निर्देशनालयको भनाइ छ । अब बाँकी काम सम्पन्न हुने चरणमा रहेको छ । निर्देशनालयका अनुसार थोक वितरण प्रणालीको ७७ किलोमिटरमध्ये ७५.५ किमी सम्पन्न भइसकेको र थोक वितरण प्रणालीको परीक्षण पनि सकिएको छ ।

पीआईडी प्रमुख कमलराज श्रेष्ठले चक्रपथभित्रको वितरण प्रणाली पहिलो चरणमा सम्पन्न हुने अवस्थामा पुगेको र दोस्रो चरणको वितरण प्रणाली चक्रपथ बाहिरको क्षेत्रमा हुने जानकारी दिए । “चक्रपथ बाहिरको क्षेत्रलाई याङ्ग्री र लार्के खोलाको पानी थप हुँदासम्म पाइपलाइन विस्तार गरिनेछ, मेलम्चीको पानी आउनासाथ पानी वितरण गर्न सकिने अवस्थामा हुुन्छ,” उनले भने, “पहिलो चरणको पाइपलाइनको काम अन्तिम चरणमा छ । मेलम्चीबाट सुरुङमार्ग हुँदै सुन्दरीजलमा आउने पानीलाई उपत्यकाका विभिन्न स्थानमा वितरणको व्यवस्थापन तयारी अवस्थामा छ ।”

मेलम्चीको पानी आउनासाथ पानी वितरण गर्न सकिने अवस्थामा रहेको उनले बताए । पुरानो वितरण प्रणाली मर्मत गरी तयारी अवस्थामा राखिएकाले हालकै अवस्थामा मेलम्चीको पानी वितरण गर्न सकिने उनको भनाइ छ । “मेलम्ची आएपछि ६ महिनाको समय टेस्टिङमा लाग्ने छ, मेलम्चीको १७ करोड लिटर पानीमध्ये, टेस्टिङका लागि २ करोड नयाँ पाईपलाईबाट र अरु केयुकेएलको पुरानो पाइपलाइनबाट वितरण गरिने छ,” श्रेष्ठले भने । उनका अनुसार दोस्रो चरणको कामका लागि पनि सम्झौता भइसकेको छ ।

खानेपानी विज्ञहरूले भने पाइपलाइन परीक्षणका क्रममा त्रुटी आए मेलम्चीको पानी उपत्यकाबासीको धारामा आउन तीन महिना लम्बिनसक्ने बताएका छ । “म त अब खासै अन्य प्राविधिक समस्या आउने देख्दिनँ, प्राविधिक समस्या नआएको भए त मेलम्चीको काम सकिइसकेको थियो, यतिबेलासम्म उपत्यकामा मेलम्चीको पानी आइसक्थ्यो,” खानेपानी मन्त्रालयका पूर्वसचिव भीम उपाध्याय भन्छन्, “हुन त पाइपलाइन ट्रायलको समयमा पनि समस्या आउन सक्छ, समस्या आयो फेरि २-३ महिना रोकिन सक्छ, यद्यपिी अब मेलम्ची आउन समय लाग्दैन ।”

यस्तो छ कार्ययोजना
मेलम्चीको पानी प्राप्त हुनासाथ हालै बनेका थोक वितरण प्रणाली र पानीपोखरीको निर्मलीकरण गर्न १० देखि १४ दिन लाग्ने ।

केयुकेएलको खानेपानी वितरण प्रणालीको उपयोग गरी मुख्य क्षेत्रहरूमा खानेपानी वितरण गर्ने । यसका लागि आवश्यक संयन्त्र तथा अन्तरजडान भइसकेको ।

हालको प्रणालीबाट वितरण गरिने सेवा क्षेत्रहरूः महांकाल, पानीपोखरी, बाँसबारी, बालाजु, अनामनगर, मीनभवनमार्फत तिनले सेवा दिइरहेका क्षेत्रहरूमा पानी पठाइने ।
ललितपुर क्षेत्रको लागि भने खुमलटार पानीपोखरीबाट पुरानै वितरण प्रणालीमार्फत चक्रपथभित्र पर्ने क्षेत्रहरूमा वितरण गर्न आवश्यक पर्ने इन्टरकनेक्सन गरिसकिएको र संयन्त्रहरू तयारी अवस्थामा ।

नयाँ वितरण प्रणालीहरूको क्रमशः वितरण परीक्षण सम्पन्न गर्दै नयाँ वितरण प्रणालीबाट पानी वितरण सुरु गरी पुरानो प्रणालीबाट वितरण बन्द गर्दै नयाँमा वितरण प्रणालीमा सार्दै लाने ।

यो समाचार कारोबार डेल्ली डट कमबाट साभार गरिएको हो । यो खबर कारोबार डेल्लीमा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *