मेलम्ची बाँध निर्माण अन्तिम चरणमा, सुरुङ्ग निरीक्षण गर्न टोली आउँदै

मेलम्ची बाँध निर्माण अन्तिम चरणमा, सुरुङ्ग निरीक्षण गर्न टोली आउँदै

काठमाडौं । मेलम्ची खानेपानी आयोजनाको मुख्य स्थायी बाँध बनाउने काम अन्तिम चरणमा पुगेको छ । मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले बाँधको काम लगभग अन्तिम चरणमा पुगेको गोरखापत्र अनलाइनलाई जानकारी दिनुभयो ।

बाँधमा राखिने गेटहरुको काम यही माघ महिनासम्ममा सिध्याउने लक्ष्य रहेको आयोजनाले बताएको छ । उक्त क्षेत्रका काम तीव्र गतिमा भइरहेको जानकारी दिँदै उहाँले चाँडै सकिने बताउनुभयो । केही समय अगाडि नै अस्थायी बाँध बनिसकेको र अर्को स्थायी बाँध बनाउने काम भइरहेको उहाँले बताउनुभयो । बाँध निर्माणको काम अन्तिम चरणमा पुगेको बताउँदै उहाँले सुरुङमा रहेको त्रुटि सच्याउने काम पनि सकिन लागेको जानकारी दिनुभयो ।

मेलम्चीको पानी पिउने उपत्यकावासीको दुई दशक लामो सपना हो । आयोजनाको काममा हाल कोरोनाको कारण समस्या नरहेको समेत उहाँले बताउनुभयो । बाहिरबाट आउने कामदार निश्चित समय क्वारेनटाइनमा बस्ने गरी व्यवस्था गरेको प्रवक्ता पन्तले बताउनुभयो ।

सुरुङको निरीक्षण गर्न जर्मनीको टोली आउँदै

मेलम्ची खानेपानी आयोजनाको सुरुङ निरीक्षण गर्न जर्मनको प्राविधिक टोली नेपाल आउने भएको छ । उक्त टोली अवको एक हप्ताभित्र आउने मेलम्ची खानेपानी आयोजनाका प्रवक्ता राजेन्द्र पन्तले जानकारी दिनुभयो । उहाँहरु आएसँगै सुरुङ निरीक्षण पछि प्राविधिक टोलीले प्रतिवेदन दिनुहुने प्रवक्ता पन्तले बताउनुभयो । उक्त प्रतिवेदनले ठीक छ भनेपछि पानी हालेर पुनः परीक्षण गरिने आयोजनाले बताएको छ ।

सुरुङमा पानी पठाउन थालिएको दुई महिनासम्म परीक्षण गर्न समय लाग्ने प्रवक्ता पन्तले बताउनुभयो । ड्याम निर्माणको काम अन्तिम चरण पुगेको बताउँदै उहाँले सुरुङमा रहेको त्रुटि सच्याउने काम पनि सकिन लागेको जानकारी दिनुभयो ।

अब भनेको विद्युतीकरणको काम र अनुगमन, प्राविधिक बाहेक लगभग सबै काम अन्तिम चरणमा पुगेको आयोजनाको भनाइ छ । केही महिना यता सुरुङमा पुनरावलोकनको काम भइरहेको छ । अहिले काम द्रुतगतिमा भइरहेको बताउँदै उहाँले काठमाडौँमा पानी झार्न अब धेरै समय नलाग्ने बताउनुभयो ।

यो समाचार गोरखापत्र अनलाईन डट कमबाट साभार गरिएको हो । यो खबर गोरखापत्र अनलाईनमा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://gorkhapatraonline.com/economics/2020-12-07-27872

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *