रसुवागढीमा निर्माणाधीन एकीकृत जाँच चौकीको ५० प्रतिशत काम सकियो

रसुवागढीमा निर्माणाधीन एकीकृत जाँच चौकीको ५० प्रतिशत काम सकियो

रसुवा । चीनसँगको अन्तर्राष्ट्रिय व्यापारिक नाका रसुवागढीमा निर्माण भइरहेको एकीकृत जाँच चौकी (आइसिपी) को करिब ५० प्रतिशत काम सकिएको छ। निर्माण सुरु भएको २ वर्षमा करिब ५० प्रतिशत काम सकिएको हो।  

आइसी निर्माणको ठेक्का पाएको श्यामसुन्दर र बिना जेभी कन्ट्रक्सनले दिएको जानकारी अनुसार आइसिपी भवन निर्माणको साथै शसस्त्र प्रहरी बलको भवनको फाउण्डेसनको काम पनि भइरहेको छ। यसको करिब ३० प्रतिशत काम सकिएको छ। आइसिपी भवनको आरसिसिको काम सकिएर पहिलो तलाको कोलम उठाउने तयारी भइरहेको प्रोजेक्ट म्यानेजर योगेन्द्र तुम्बाहाङफेले बताए। ‘सुपर स्टकचरको काम करिब ५० प्रतिशत सकिएको छ’, उनले भने, ‘अहिले हामीले कामलाई गति दिएका छौं।’

२०७५ पुसदेखि निर्माण सुरु भएपनि कामले गति लिन सकेको थिएन। अहिले आइसिपी निर्माणले गति लिएको प्रोजेक्ट म्यानेजर तुम्बाहाङफेले बताए। साइडमा अहिले २२ जना कामदार छन्। थप १५ जना कामदार आउने चरणमा रहेको उनको भनाइ छ।  

कानुनी प्रक्रिया, ट्रान्सफर्मरको व्यवस्थापनमा ढिलाई, निर्माण सामग्रीको अभाव, कामदारको अभाव, नाकामा डाइभर्सन पुल निर्माण लगायतका कारण निर्माण कार्य सुस्त भएको थियो।  आइसिपी निर्माणको काम ठेकेदार कम्पनी श्यामसुन्दर रबिना जेभी कन्ट्रक्सनले गरिरहेको छ।  

निर्माण प्रक्रिया सुरु भएपछि आफुले ठेक्का पाउनुपर्ने माग गर्दै एमबी चक्रेश्वरी शिवशक्ति जेभीले २०७३ पुष १९ गते सर्वोच्च अदालतमा रिट हालेको थियो। अदालतमा परेको रिट निवेदन २०७५ जेठ २४ मा खारेज भएको थियो।  

न्यायाधीश चोलेन्द्र शम्शेर जबरा र डम्बर बहादुर शाहीको संयुक्त इजलासले रिट निवेदन खारेज गरेपछि निर्माणको काम सुरु भएको थियो। सम्झौता अनुसार २०७७ असार २५ गतेभित्र भवन निर्माण गरिसक्नु पर्ने थियो। भवन निर्माणका लागि करिब ६२ करोड खर्च हुने छ। विभागका अनुसार ६१ करोड ९८ लाख ६८ हजार ७५ रुपयाँ खर्च हुने छ।  

भवन पाँच तलाको हुने छ। यसमा भन्सार, अध्यागमन, क्वारेन्टिन र सुरक्षा निकाय रहने छन्। भवन निर्माणपश्चात जाँचपास गर्न तथा अवैध क्रियाकलाप रोक्नका लागि सहज हुने छ। २०७१ सालदेखि औपचारिक रूपमा सञ्चालनमा आएको रसुवागढी नाकामा दैनिक २ सय ५० भन्दा बढी सवारी साधन आवतजावत गर्ने गरेका थिए। अहिले कोभिड–१९ का कारण चिनियाँ सीमित गाडीले रसुवासम्म सामग्री ल्याएर झार्ने काम गरिरहेका छन्।  

चीनले अन्तर्राष्ट्रिय नाकाको रूपमा घोषणा गरेसँगै सीमामा व्यापारी, व्यावसायी र सवारीको चाप बढ्दै गएको थियो। रसुवागढी नाकाबाट चीनको केरुङ पुग्नका लागि २४ किलोमिटर दूरी पार गर्नुपर्छ।

यो समाचार नागरिक न्यूजबाट साभार गरिएको हो । यसलाई नागरिक न्यूजमा पढ्न तलको लिङ्कमा क्लिक गर्नुहोला ।

https://nagariknews.nagariknetwork.com/economy/448671-1612182576.html?click_from=category

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *