राष्ट्रिय गौरवका आयोजनाप्रति प्रधानमन्त्रीको गम्भीर चासो

राष्ट्रिय गौरवका आयोजनाप्रति प्रधानमन्त्रीको गम्भीर चासो

काठमाडौं । राष्ट्रिय गौरवका आयोजनाको काम प्रभावकारी रूपमा सम्पन्न हुन नसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले काममा तीव्रता ल्याउन आफ्ना प्रतिनिधिमार्फत देशव्यापी अनुगमन थालेका छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले पनि केही दिनअघि देशभरमा सञ्चालनमा रहेका २४ वटा राष्ट्रिय गौरवका आयोजनाका प्रमुखसँग छलफल गरी आयोजनाको हालसम्मको प्रगतिबारे जानकारी लिएको थियो ।

प्रधानमन्त्री कार्यालयले सबै आयोजना प्रमुखसँग जानकारी लिएपछि उनीहरूले पेस गरेको प्रगति विवरणअनुसार काम भए नभएको बारेमा प्रधानमन्त्रीका सल्लाहकारसहितका सरकारी अधिकारीले देशव्यापी अनुगमन थालेका हुन् । उनीहरूले आयोजनाको अनुगमन गर्दै समयमै आयोजना सम्पन्न गराउने गरी आवश्यक सहजीकरणसमेत गर्न थालेका छन् ।

प्रधानमन्त्री केपी शर्मा ओलीका विकास विज्ञ सल्लाहकार इ. गजेन्द्र थपलियाको नेतृत्वमा गएको टोलीले सिँचाइ क्षेत्रमा रहेका महाकाली तेस्रो सिँचाइ आयोजना, रानीजमरा गुलरिया सिँचाइ आयोजना, बबई आयोजना, भेरी बबई डाइभर्सन आयोजना र सिक्टा सिँचाइ आयोजनाबारे स्थगलत अध्ययन गरी ती आयोजनाले भोग्नुपरेका समस्याबारे जानकारी लिएको छ । स्थगलत अध्ययनका क्रममा सिँचाइ मन्त्रालयका सचिव मधुसूदन अधिकारी, राष्ट्रिय योजना आयोगका सिँचाइ हेर्ने सदस्य डा. कृष्ण वली, सिँचाइ विभागका महानिर्देशक मधुकर राजभण्डारीलगायतले राष्ट्रिय गौरवका आयोजना समयमै सम्पन्न गर्न निर्देशन दिँदै समस्या समाधान गर्न आफूहरू तयार रहने प्रतिबद्धता जनाएका थिए । यसअघि राष्ट्रिय गौरवका आयोजनाबारे केन्द्रबाट प्रभावकारी रूपमा अनुगमन हुन नसक्दा काममा निकै सुस्तता आएको थियो भने कतिपय आयोजनामा अनियमिततासमेत भएको थियो । आयोजनामा हुने सुस्तता र अनियमितता रोक्न केन्द्रबाट प्रभावकारी अनुगमन थालिएको हो ।

प्रधानमन्त्रीकै निर्देशनअनुसार सबै आयोजनाको अनुगमन गरेर समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने गरी अघि बढेका छौं ।

इ. गजेन्द्र थपलिया, प्रधानमन्त्रीका विकास विज्

प्रधानमन्त्रीका विकास विज्ञ सल्लाहकार थपलियाले राष्ट्रिय गौरवका आयोजना समयमै सक्नुपर्ने प्रधानमन्त्रीको निर्देशनअनुसार ती आयोजनाको अनुगमन थालिएको जानकारी दिए । ‘सबै आयोजनाको अनुगमन गरेर समस्या समाधानका लागि आवश्यक सहजीकरण गर्ने गरी अघि बढेका छाै,’ विकास विज्ञ थपलियाले राजधानीसँग भने । अनुगमनका क्रममा आयोजना प्रमुख तथा प्रतिनिधिले आयोजनाको काम गर्दा रुख कटानको समस्या तथा स्थानीय तहबाट जग्गा उपलब्ध गराउनेलगायतका समस्या भोग्नुपरेको बताएका छन् ।

यसैगरी, कोभिडका कारण काममा सुस्तता आएको र निर्माण व्यवसायीको म्याद थपसम्बन्धी समस्याका कारण पनि कामहरू प्रभावकारी रूपमा अघि बढ्न नसकेको पाइएको विकास विज्ञ थपलियाले जानकारी दिए ।

सल्लाहकारलगायतको केन्द्रबाट गएको सरकारी अधिकारीहरू सम्मिलित अनुगमन टोलीले कतिपय आयोजनाको वर्क सेड्युललाई रिसेडुल गर्न समेत ठेकेदाहरूलाई निर्देशन दिएको छ । प्रधानमन्त्रीकै निर्देशनअनुसार प्रधानमन्त्री कार्यालयले राष्ट्रिय गौरवका आयोजनाको नियमित रूपमा अनुगमन गरी आयोजनाले भोग्नुपरेका समस्या समाधान गर्न सम्बन्धित मन्त्रालय र मातहतका निकायलाई समेत आवश्यक निर्देशन दिँदै आएको छ । आयोजनासँग सम्बन्धित निकायका केन्द्रीय प्रतिनिधिलाई आयोजना सञ्चालन भएकै स्थानमा लगेर हेर्न लगाउने र आवश्यक सहजीकरण गरी समयमै आयोजना सम्पन्न गर्न लगाउने नीति अख्तियार गरिएको प्रधानमन्त्रीका विकास विज्ञ सल्लाहकार थपलियाले जानकारी दिए । प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले केही समयअघि मात्रै २४ वटै राष्ट्रिय गौरवका आयोजनाका प्रमुखलाई बोलाएर आयोजनाबारे जानकारी लिँदै समयमै सक्न आवश्यक निर्देशनसमेत दिएको थियो ।

यो समाचार नेपाल राजधानी डेल्ली डट कमबाट साभार गरिएको हो । यो खबर राजधानी डेल्लीमा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://rajdhanidaily.com/id/29551/

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *