वर्षामै धमाधम कालोपत्र

वर्षामै धमाधम कालोपत्र

शिव पुरी

रौतहट । चन्द्रपुर-४ स्थित पूर्वपश्चिम राजमार्गमा ठेकेदारले वर्षाका बेलामा पनि धमाधम कालोपत्र गरिरहेका छन् । सोमबार कामदारलाई सडकमा जमेको पानी फाल्न लगाएर ठेकेदारले चिसोमै कालोपत्र गरेका हुन् । असार मसान्तमा जसरी पनि काम सक्नुपर्ने बाध्यताअनुसार हतारहतारमा कालोपत्र गरिएको छ ।

स्थानीय आश्रय निर्माण सेवाले सडक डिभिजन कार्यालय चन्द्रनिगाहपुरबाट दुई महिनाअघि झन्डै ४८ प्रतिशत बिलो (कमरेट) मा ठेक्का सकारेको थियो । आश्रयले २ करोड ४३ लाख ४६ हजारमा ठेक्का सकार गरेको डिभिजन कार्यालयले जनायो । उसले २०७८ वैशाख १५ गते ठेक्का सम्झौता गरेको थियो । असार २५ गतेभित्रमा कालोपत्र गरिसक्नुपर्ने सम्झौतामा उल्लेख छ । तर वर्षाका बेला धमाधम कालोपत्र गरेको भन्दै स्थानीयले विरोध गरेका छन् ।

आश्रयले ११ सय मिटर लम्बाइ र २० मिटर चौडाइमा कालापत्रको ठेक्का सकार गरेर दुई महिनापछि काम थालेको हो । उसले काम थालेको बेला वर्षा सुरु भइसकेको थियो । ग्राभेल राख्नेदेखि कम्पाइक्सन र प्राइम राख्ने काम हुँदा पानी परेको थियो । पछिल्लो एक सातायता पानीमै उसले कालोपत्र गरिरहेको छ । डिभिजन प्रमुख नरेश केशरीले पानी परेका बेला कालोपत्र रोक्न भनेको बताए । ‘मौसमको अनुकूलता हेरेर मात्र कालोपत्र गर्न भनेका हौं,’ उनले भने, ‘ठेकेदारलाई जथाभावी गर्न दिएका छैनौं । गुणस्तरहीन काम हुन दिँदैनौं । सडकको पानी सुकेपछि मात्र कालोपत्र गर्न भनेका छौं ।’

आर्थिक वर्षको लामो समयसम्म काम नगर्ने र अन्तिमतिर वर्षा लागेपछि बजेट खर्च गर्नुपर्ने प्रवृत्ति यो सडक निर्माणमा पनि देखिएको हो । वर्षाका बेला गरेको कालोपत्र टिकाउ नहुने स्थानीय युवा समाजसेवी बालकृण श्रेष्ठले बताए । ‘सडकमा जमेको पानी फालेर र हावा लगाएर कालोपत्र गरेको छ । यसमा सरोकारवाला निकायले हेरेको छैन,’ उनले भने, ‘यो गुणस्तरहीन काम भयो । वर्षाका बेला हुँदै गरेको कालोपत्रको काम तत्काल रोक्नुपर्छ ।’

आश्रय निर्माण सेवाका सञ्चालक रामाश्रेय साहले काम गर्दा गर्दै पानी परेको परै गरेको बताए । ‘समय छैन । काम चाँडै सक्नुपर्ने छ,’ उनले भने, ‘पानीमै कालापत्र गरेको भए पनि यो टिकाउ हुन्छ ।’ ठेकेदारले काम सक्नुपर्ने समय अब ४ दिन मात्र बाँकी छ । उसले सुरुमा राजमार्गको दुवै साइडमा जेसीबी लगाएर रातिराति काम गरेको थियो । बजेट खर्चमा प्रगति देखाउन हतारमा काम गर्दा विकास आयोजनामा गुणस्तरीय काम हुन नसकेको स्थानीयको गुनासो छ ।

यो समाचार ईकान्तिपूर डट कमबाट साभार गरिएको हो । यो खबर ईकान्तिपूर डट कममा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://ekantipur.com/pradesh-2/2021/07/06/162554538396718391.html

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *