वाग्मती प्रदेशका १३ वटै जिल्लामा शीतभण्डार बन्दै

वाग्मती प्रदेशका १३ वटै जिल्लामा शीतभण्डार बन्दै

प्रताप विष्ट

हेटौंडा । वाग्मती प्रदेशले प्रदेशका १३ वटै जिल्लामा शीतभण्डार (कोल्ड स्टोर) निर्माण गरिरहेको छ । स्थानीय सहकारी संस्था र निजी कम्पनीसँगको साझेदारीमा शीतभण्डार निर्माण कार्य अगाडि बढाइएको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले छ ।

मन्त्रालयका अनुसार अधिकांश शीतभण्डार निर्माणको अन्तिम चरणमा छन् । यसका लागि मन्त्रालय र साझेदार संस्थाहरूसमेतको गरी ९७ करोड ८३ लाख ६३ हजार रुपैयाँ लगानी भएको छ । किसानद्वारा उत्पादित तरकारी र फलफूललाई धेरै दिनसम्म ताजै राख्न शीतभण्डार निर्माण भइरहेको हो ।

प्रदेश सरकारले बजेटमा घोषणा गरेको ‘एक जिल्ला, एक शीतभण्डार’ कार्यक्रमअन्तर्गत मकवानपुरको थाहा नगरपालिकामा पनि शीतभण्डार निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । प्रदेश सरकारको ७० प्रतिशत र सहकारीको ३० प्रतिशतको लगानीमा निर्माण भइरहेको कोल्ड स्टोर चालु आर्थिक वर्षबाट सञ्चालनमा आउने नगरपालिकाले जनाएको छ । नगरपालिकाको समन्वयमा थाहा–३ मा १० रोपनी क्षेत्रफलमा निर्माणाधीन शीतभण्डारको सञ्चालन सहकारीले गर्ने नगरप्रमुख लवशेर विष्टले बताए ।

११ करोड ४७ लाख रुपैयाँमा ठेक्का सम्झौता गरी २०७६ कात्तिक ९ बाट केन्द्रको निर्माण थालिएको थियो । १ हजार ७ सय मेट्रिक टन क्षमताको उक्त शीतभण्डार निर्माणका लागि प्रदेश सरकारले ८ करोड ३ लाख र उत्तरी क्षेत्रका २७ वटा सहकारीले ३ करोड ४४ लाख रुपैयाँ लगानी गरेका छन् । उक्त कोल्डस्टोरबाट तरकारीको पकेट क्षेत्रका रूपमा रहेको थाहा, इन्द्रसरोवर र कैलाश गाउँपालिकाका कृषकहरू लाभान्वित हुनेछन् ।

शीतभण्डार निर्माण भएपछि उत्तरी क्षेत्रका किसानले बढी मूल्य तिरेर अन्यत्र भण्डारण गर्नुपर्ने समस्याको अन्त्य हुने र कृषकको ठूलो रकमसमेत बचत हुने विष्टको भनाइ छ । जिल्लामा तरकारी उत्पादनमा अग्रणी थाहा नगरपालिकामा योसँगै सानाठूला ४ वटा शीतभण्डार हुने भएका छन् । थाहा–६ मा साना किसान कृषि सहकारी संस्थाले ३ वर्षअघिबाट शीतभण्डार सञ्चालन गर्दै आएको छ ।

यो समाचार ईकान्तिपूर डट कमबाट साभार गरिएको हो । यो खबर ईकान्तिपूर डट कममा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://ekantipur.com/pradesh-3/2021/07/05/162544809796551691.html

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *