वाटर पम्प नआइपुग्दा खानेपानी आयोजनाको काम रोकियो

वाटर पम्प नआइपुग्दा खानेपानी आयोजनाको  काम रोकियो

काठमाडौं। खोटाङको हलेसीमा निर्माणाधीन खानेपानी आयोजनाको वाटर पम्प नआइपुग्दा काम रोकिएको छ। एक सातामै आइपुग्नुपर्ने पम्प एक महिनाभन्दा बढी समयदेखि भारतबाट ल्याउन नसकेपछि वाटर लिफ्टिङको काम रोकिएको हो।

निर्माणको जिम्मा पाएको महादेव खिम्ती निर्माण सेवाका अनुसार अहिले सामान आउने अवस्था छैन। आइपुगे पनि कामदारले साइट छाडेर हिड्न थालेका कारण काम गर्न नसक्ने अवस्था आएको हो। 

कोटेश्वर-जडीबुटी सडक विस्तारको काम रोकिएको छ। असारसम्म सक्ने भन्दै तीव्र गतिमा भइरहेको काम साइट कामदार लैजान नसकिएकाले काम रोक्नुपरेको सडक डिभिजन काठमाडौं प्रमुख कुबेर नेपालीले बताए। उनका अनुसार निर्माण सामाग्री ल्याउन सक्ने अवस्था पनि छैन। भएका सामाग्रीबाट काम गराउन प्रशासनले स्वीकृति दिएको छैन।

यो सडकको कालोपत्रेको काम मात्रै बाँकी छ। कोभिड संक्रमण नियन्त्रणका लागि विभिन्न क्षेत्रमा लगाइएको निषेधाज्ञासँगै मुलुकका विभिन्न क्षेत्रमा निर्माणाधीन परियोजना प्रभावित भएका छन्। स्थानीय प्रशासनले निषेधाज्ञाको समयमा विकास निर्माणलाई निरन्तरता दिने भनिए पनि व्यवहार भने ठ्याक्कै उल्टो छ। स्थानीय प्रशासनले निर्माण सामाग्री ओसारपसार गर्न दिएका छैनन्, जसका कारण सबैजसो आयोजनाको काम प्रभावित भएका छन्।

विमानस्थल, भवन, सडक, पुल, जलविद्युत, सिंचाइ लगायतका सबैजसो पू्र्वाधार विकास आयोजनाको साइट खाली हुन थालेको नेपाल निर्माण व्यवसायी महासंघका अध्यक्ष रवि सिंहले बताए। उनका अनुसार कोरोना संक्रमण कम हुँदा विस्तारै लय समात्न लागेको निर्माणका कामहरु पुन: रोकिन थालेका हुन्।

साना ठुला गरी निर्माणाधीन ८ खर्ब रुपैयाँ बराबरका साढे ६ हजार आयोजना प्रभावित भएको उनले दाबी गरे। ‘हाम्रा धेरै दक्ष कामदार र निर्माण सामाग्री भारतबाट आयात हुन्छ। फागु पूर्णिमामा भारत गएका कामदार फर्किन पाएका छैनन्। अहिले त त्यहाँका धेरै राज्यमा लकडाउन नै भइसक्यो,’ उनले भने, ‘एकातिर मजदुर अभाव छ अर्कातिर कष्टमाइज सामानहरु आएका छैनन्। काम प्रभावित त भइहाल्यो नि।’  

उनका अनुसार भारतबाट नेपालमा वार्षिक ५ लाख दक्ष र अर्धदक्ष जनशक्ति आउने गर्छन्। सडकका लागि मात्र नभइ जलविद्युत, भवन, अण्डर ग्राउण्ड केबलिङ लगायत अधिकांश आयोजनामा भारतीयले काम गर्छन्। यो वर्ष आधा पनि भारतीय कामदारहरु आउन सकेका छैनन्।
नेपालमा ३१ जिल्लामा निषेधाज्ञा लगाएपछि ५० प्रतिशत साइट खाली भएको उनको भनाइ छ।

५० प्रतिशतमा पनि केही कामहरु भइरहेको छ। ‘पहिलेको लकडाउन जस्तो अवस्था छैन। भारतको दृश्य सबैलाई थाहा छ,’ उनले भने,’पहिले कामदारहरुले महिनौ हिडेर घर जानु पर्‍यो, धेरै समस्या खेपे। अहिले बेलैमा साइट छाडेर घरतिर जान थालेका छन्।’ अहिले नदी नियन्त्रण, पुलका केही कामहरु चलिरहेको उनले बताए। केही ठुला आयोजनाहरुमा पनि प्रशासनले सहजीकरण गरिदिएका कारण काम भइरहेको छ।

भारतबाट कन्स्टमाइज सामानहरु ल्याउन नसक्दा आयोजनाका कामहरु रोकिएको सिंहको भनाइ छ। ‘वाटर पम्प, पुलमा प्रयोग हुने केबल, कोन लगायतका सामानहरु त्यहाँका फ्याक्ट्रीहरु बन्द हुँदा ल्याउन सकिएको छैन। हाम्रा अर्डरहरु महिनौं पहिलेदेखि लिएर पनि डेलिभरी दिन सकेका छैनन्,’ उनले भने, ‘मेरै सामान महिनौंदेखि रोकिएका कारण काम गर्न पाएको छैन। एक सातामा आइपुग्ने सामान महिनौं बितिसक्दा पनि आउदैन !’

स्थानीय प्रशासनहरुले समेत स्वास्थ्य पहिलो प्राथमिकता भन्दै कामहरु रोक्न निर्देशन दिन थालेका छन्। यसले गर्दा कामदार खटिएका र काम भइरहेका योजना पनि रोकिन थालेका छन्। सरकारका नीतिकै कारण कामै गर्ने वातावरण नभएको निर्माण व्यवसायीको गुनासो छ। ६ महिना आयोजनाका लागि म्याद थपे पनि त्यसबाट निर्माण व्यवसायीहरुले लाभ लिन पाएका छैनन्।

‘माघको १५ गते निर्णय भयो तर चैतदेखि नै लागू हुने गरी बितिसकेको समयमा लागि समय थपेर के फाइदा छ र ?,’ सिंहले भने, ‘जहिलेबाट निर्णय भयो त्यही समयबाट लागू गर्नुपर्ने होइन र ? तलब खाए जस्तो होइन नि।’यो समाचार बिजमाण्डुबाट साभार गरिएको हो ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *