विराटनगरमा ‘फ्लड लाइट’ जडान अन्तिम चरणमा

विराटनगरमा ‘फ्लड लाइट’ जडान अन्तिम चरणमा

विराटनगर । प्रदेश १ सरकारको लगानीमा विराटनगरस्थित शहीद रंगशालामा ‘फ्लड लाइट’ जडानको काम अन्तिम चरणमा पुगेको छ। खेलकुदका रात्रिकालीन प्रतियोगिता सञ्चालनका लागि गत वर्ष असोजबाट ‘फ्लड लाइट’ जडान थालिएको थियो। जडानपछि प्रदेश राजधानी विराटनगर चलायमान भएर खेलकुद गतिविधी बढ्ने अपेक्षा गरिएको छ।

अबको केही दिनभित्रमा जडान सम्पन्न गर्ने गरी काम तीव्र गतिमा अघि बढिरहेको प्रदेश १ को सामाजिक विकास मन्त्रालयका सूचना अधिकारी षडानन्द भट्टराईले जानकारी दिए। उनका अनुसार काम सम्पन्न गर्नुपर्ने निर्माण कम्पनीको अन्तिम म्याद पुस २८ गतेसम्मको मात्रै छ।

‘जडान अन्तिम चरणमा पुगिसकेका कारण विराटनगरले बढीमा एक साताभित्र ‘फ्लड लाइट’ पाउँछ। काम धेरै बाँकी छैन,’ उनले भने, ‘निर्माण कम्पनीले सकेर हस्तान्तरण गर्छ। त्यसपछि खेलकुदका रात्रिकालिन प्रतियोगिताहरु सञ्चालन गर्न सहज हुने छ।’ भट्टराईका अनुसार ‘फ्लड लाइट’ जडानका लागि २०७६ असोज १ गते मन्त्रालय र निर्माण कम्पनी कार्की बन्धु अमर जेभी कन्स्ट्रक्सनबीच पहिलो पटक सम्झौता भएको थियो।

चार करोड २९ लाख रुपैयाँमा जडान गर्ने गरी भएको सम्झौतामा दुई सय १० दिनभित्र काम सम्पन्न गर्ने उल्लेख छ। तर कोरोनाका कारण जडान कार्य केही ढिला भएको कन्स्ट्रक्सनका सञ्चालक गणेश कार्कीले बताए। उनका अनुसार कोरोनाकै कारण काम ठप्प भएपछि निर्माणको समयअवधि दोस्रो पटक भदौमा थप गरियो।

‘फ्लड लाइट’ जडानका लागि शहीद मैदानको चारै कुनामा एक(एकवटा ३३ मिटर अग्ला मास्ट ९पोल० राखिसकिएको छ। प्रत्येक मास्टमा एक हजार वाटका २७ वटा बल्व राखिने कार्कीले बताए। मास्टमा विद्युत प्रवाहका लागि तार विछ्याउने र पोलमा बल्व राख्ने काम तीव्र रुपमा भइरहेको उनको भनाइ छ।

कार्कीका अनुसार ‘फ्लड लाइट’ र आवश्यक सामग्रीहरु भारतको मुम्बईस्थित ट्रान्सरेल कम्पनीबाट झिकाइएको हो। यसको जडान गर्न भारतबाटै प्राविधिकहरु झिकाइएको उनले बताए। भारतको मुम्वई, कोलकाता, सिलगुढी तथा आसामबाट प्राविधिक र कालीगढ झिकाइएका हुन्। ‘फ्लड लाइट’का लागि तीन सय केभिएको ट्रान्सफर्मर जडान प्रक्रिया पनि सुरु भएको मन्त्रालयका सचिव गोविन्दबहादुर कार्कीले जानकारी दिए।

उनका अनुसार लाइट जडान प्रदेश सरकार र विराटनगर महानगरको समन्यवमा अघि बढाउने योजना थियो। महानगरले एक करोड बजेट उपलब्ध गराउने र अरु रकम प्रदेश सरकारले बेहोर्ने एक खाले सहमति थियो। तर पछि दुवै निकायबीच समन्यव अभाव भएपछि प्रदेश सरकारले मात्रै ‘फ्लड लाइट’ निर्माणको काम अघि बढाएको हो।

यसैबीच प्रदेश १ का आन्तरिक मामिला तथा कानुन एवं सामाजिक विकास मन्त्री हिक्मतकुमार कार्कीले निर्माणाधिन अवस्थामा रहेको ‘फ्लड लाइट’को मंगलबार शहीद रंगशालामै पुगेर अनुगमन गरेका छन्। त्यस क्रममा कार्कीले रंगशालाको प्यारापिटको मर्मत र स्तरोन्नति प्रदेश सरकारले चाँडै थाल्ने जानकारी दिए। रंगशालालाई अत्याधुनिक बनाउन संरचना निर्माणमा जोड दिँदै प्रदेशमा भएका पुराना संरचना सुधार र मर्मत गरेर खेलकदुलाई चलायमान बनाउने काममा सरकार लागेको उनको भनाइ छ।

यो समाचार अन्नपूर्ण पोष्ट डट कमबाट साभार गरिएको हो । यो खबर अन्नपूर्ण पोष्टमा पढ्नको लागि कृपया तलको लिङ्कमा क्लिक गर्नुहोला । धन्यवाद ।

http://annapurnapost.com/news/172975

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *