वीरगञ्ज-पथलैया ६ लेन सडकमा ढिलासुुस्ती र लापरबाही

वीरगञ्ज-पथलैया ६ लेन सडकमा ढिलासुुस्ती र लापरबाही

वीरगञ्ज । निर्माणाधीन सडकबाट उडेको धुलो नियन्त्रण नगरेको भन्दै असोज २४ गते बाराको परवानीपुरका बासिन्दाले आधा घण्टा सडक अवरुद्ध पारे । निर्माणाधीन सडकको धुलो नियन्त्रण नगर्दा बजार क्षेत्रका पसल, घरहरु धुलाम्य छन् ।

बाराको पथलैयादेखि वीरगञ्जको एकीकृत भन्सार जाँच चौकी (आईपीसी) सम्मको ३१ दशमलव २८ किलोमिटर सडक ८ वटा प्याकेजमा ठेक्का लगाएर कालोपत्रे गर्ने काम भइरहेको छ । तर समयमा निर्माण नसकिँदा मालबाहक ट्रक, बस धेरै चल्ने यो सडकको परवानीपुर बजार क्षेत्रमा घाम लाग्दा धुलो र पानी पर्दा हिलो हुने समस्या छ ।

परवानीपुर–३ लिपनीका चन्देश्वर यादव भन्छन्, ‘एक दिन पानी हाल्यो भने पाँच दिन हाल्दैन, न सडक नै समयमा बनाउँछ, पानी हालेर काम गर्नु, खाल्डा खुल्डी पुर्नु भन्दा ठेकेदारले वास्तै गर्दैनन्, अरु सरोकारवाला निकाय पनि कानमा तेल हालेर बसे जस्तो लाग्छ ।’

वीरगञ्ज महानगरपालिका–२१ का अध्यक्ष हबिब मियाँ सडक नबन्दा दिन दिनै जनताको गाली सुन्नुपरेको बताउँछन् । ‘सडक आयोजना कार्यालय र ठेकदारको लापरबाहीले नबन्ने, जनताको गाली हामीले सुन्नुपर्ने स्थिति छ,’ उनले भने, ‘पटक पटक काम गरिदिनुस् भनेर अनुरोध गर्दा पनि सुनुवाइ हुँदैन ।’

सडकको दुरावस्थाका कारण बाराको जीतपुरका बासिन्दा पनि आजित छन् । स्थानीय युवक राजुराज गिरी छिटो सडक बनाउन आग्रह गरेपनि सरोकारवाला कानमा तेल हालेर बसेको बताउँछन् । ‘ठेकदार काममा ढिलासुस्ती र लापरबाही गर्छ । सर्वसाधारणले धुलो खानुपर्छ’ उनले भने ।

दशैं अगाडि नै निर्माण कम्पनीले तीन महिनाभित्र सक्ने प्रतिवद्धता जनाए पनि कामले गति लिन नसकेको उनको भनाइ छ ।

व्यापारिक मार्ग विस्तार योजना (वीरगञ्ज–पथलैया सडक) पथलैयाले भने धेरैजसो प्याकेजको काम अन्तिम चरणमा पुगेको दावी गरेको छ । कालोपत्रे गर्दा सडक सुख्खा हुनुपर्ने भएकोले बेमौसमी वर्षाले समस्या पारेको आयोजना कार्यालयका सूचना अधिकारी इन्जिनियर सम्पत लाल दासले बताए । छठपछि कामले गति लिने र चैत मसान्तअघि सडक बनिसक्ने दावी इन्जिनियर दासको छ ।

बाराका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद कटुवालले निर्माण कम्पनीका प्रतिनिधि र योजना कार्यालयलाई बोलाएर छिटो काम गर्न निर्देशन दिइसकेका छन् । ‘कहाँनेर समस्या छ सुरक्षा दिएर हुन्छ कि कसरी हुन्छ ? समाधान गर्न तयार छु,’ उनले भने, ‘तर कामले गति लिनुपर्छ, नागरिकले धेरै दिन सास्ती पाउनुहुन्न …

यो समाचार अनलाईन खबर डट कमबाट साभार गरिएको हो । यो खबरअनलाईन खबर डट कममा पढनको लागि, कृपया यो लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *