वेतिनी स्वास्थ्य चौकी भवन हस्तान्तरण

वेतिनी स्वास्थ्य चौकी भवन हस्तान्तरण

जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मकवानपुरले जिल्लामा पहिलो चरणमा निर्माण सुरु गरेका स्वास्थ्य चौकी भवनहरु धमाधम सम्पन्न हुन थालेका छन् । इकाईमार्फत् शुरु गरिएको स्वास्थ्य चौकी भवनमध्ये वेतिनी स्वास्थ्य चौकी भवन निर्माण सम्पन्न गरेर आइतबार हस्तान्तरण गरिएको छ ।

निर्माण सम्झौताको २१ महिनामा भवन निर्माण सम्पन्न गरी हस्तान्तरण गरिएको भवन निर्माणको ठेक्का पाएको पुष्पाञ्जली–जिम्बा जेभीका प्रतिनिधि दिपक वि. क. ले जानकारी दिनुभयो । रु. एक करोड ६० लाख लागत अनुमान गरिएको भवन ठेक्का प्रक्रियाबाट रु. एक करोड ३० लाखमा निर्माण गर्ने गरी पुष्पाञ्जली–जिम्बा जेभीले ठेक्का पाएको थियो ।

आइतबार नवनिर्मित स्वास्थ्य चौकी भवनको प्राङ्गणमा आयोजित एक कार्यक्रमबीच भवन हस्तान्तरण गरिएको हो । कार्यक्रममा राष्ट्रिय पुनर्निर्माण प्राधिकरणअन्तर्गत जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मकवानपुरका प्रमुख तुलसीराम खरबुजा, बागमती गाउँपालिकाका अध्यक्ष सर्केश घलान, वडा अध्यक्ष मदनकुमार दोराङ्च्याङ, स्वास्थ्यचौकी इन्चार्ज रामप्रसाद सिञ्जाली मगर, निर्माण व्यवसायी वि. क. लगायतको उपस्थिति रहेको थियो ।

निर्माण कम्पनीले २ तलाको भवन सम्झौता अवधिमै निर्माण सम्पन्न गरेको जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) का इन्जिनियर रविन पाठकले जानकारी दिनुभयो । उहाँले जिल्लामा निर्माणाधीन अन्य स्वास्थ्य चौकी भवनहरु पनि आगामी २०७८ सालको जेठ महिनाभित्र सम्पन्न भइसक्ने जानकारी दिनु भयो ।
जिल्ला आयोजना कार्यान्वयन इकाई (भवन) मकवानपुरले पहिलो चरणमा मकवानपुरको हेटौंडा उपमहानगरपालिकाको बसामाडी, कैलाश गाउँपालिकाको गोगने तथा डाँडाबास र राक्सिराङ गाउँपालिकाको चैनपुरमा स्वास्थ्य चौकी भवन निर्माण गरिरहेको छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *