शर्मा एड एम जेभीलाई मकवानपुरको ११ वटा विद्यालय भवन बनाउने ठेक्का

शर्मा एड एम जेभीलाई मकवानपुरको ११ वटा विद्यालय भवन बनाउने ठेक्का

मकवानपुर । जापान सरकारको सहयोगमा मकवानपुर जिल्लामा ११ वटा विद्यालयको भवन निर्माण गर्न शर्मा एड एम जेभी निर्माण कम्पनीले ठेक्का पाएको छ । जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरका प्रमुख बद्रिबहादुर पाठकका अनुसार मकवानपुरमा निर्माण हुन लागेको भवनको केन्द्रीय स्तरमै ठेक्का सम्झौता भइसकेको छ ।

जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मार्फत् निर्माण हुने विद्यालय भवनका लागि अहिले सम्बन्धित विद्यालयका प्रधानाध्यापक, विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा सम्बन्धित वडा अध्यक्षसँग समझदारी पत्रमा हस्ताक्षर गर्ने काम भइरहेको छ । अहिलेसम्म हेटौंडा उपमहानगरका चार वटा र भीमफेदी गाउँपालिकाको एउटा विद्यालयसँग समझदारीपत्रमा हस्ताक्षर भएको इकाईले जनाएको छ ।

जापान सरकारको सहयोगमा हेटौंडा उपमहानगरपालिकाका बालजगृति युवा वर्ष माविमा ९ कोठे भवन, महेन्द्र माविमा २१ कोठाको भवन, निर्मल माविमा १८ कोठाको भवन र ज्योति माविमा ९ कोठे भवन निर्माणका लागि समझदारीपत्रमा हस्ताक्षर भएको जिल्ला आयोजना कार्यान्वयन इकाई (शिक्षा) मकवानपुरका प्रमुख पाठकले जानकारी दिनुभयो ।

यसैगरी भीमफेदी गाउँपालिकाको पञ्चकन्या मावि इपामा निर्माण हुने भवनको पनि आइतबार नै समझदारीपत्रमा हस्ताक्षर गरिएको छ ।
त्यसैगरी मकवानपुर जिल्लाको मनहरी गाउँपालिकाको भोजसिद्व मावि, बागमती गाउँपालिकाको बाघभैरव मावि तथा चौरा आधारभूत विद्यालय, बकैया गाउँपालिकाको जनक मावि, थाहा नगरपालिकाको बज्रबाराही मावि र राक्सिराङ गाउँपालिकाको राष्ट्रिय माविको भवन निर्माण हुनेछ ।
११ वटै विद्यालय भवन निर्माणका लागि जापान सरकारले ४५ करोड रुपैयाँ सहयोग गर्ने भएको छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *