संघीय योजनामा नपरे पनि इच्छाकामना गाउँपालिका आफैंले बनाउँदैछ अस्पताल

संघीय योजनामा नपरे पनि इच्छाकामना गाउँपालिका आफैंले बनाउँदैछ अस्पताल

सरकारले स्थानीय तहसम्म स्वास्थ्य सेवा पुर्‍याउने उद्देश्यले गत मंसिर १४ गते एकैसाथ ३९६ स्थानीय तहमा अस्पताल भवन र सातवटै प्रदेशमा सरूवा रोग अस्पताल भवनको शिलान्यास गर्ने निर्णय गरेको थियो।

अस्पताल नभएको ठाउँलाई प्राथमिकतामा राखेर ३९६ वटा तहमा अस्पताल बनाउने सरकारको घोषणाको चौतर्फी प्रशंसा पायो।

चितवनको एक मात्र गाउँपालिका इच्छाकामनामा भने संघीय सरकारको यो कार्यक्रम परेन। जबकी अस्पतालै अस्पतालको शहर भरतपुरमा सोही कार्यक्रमअन्तर्गतको अस्पताल बन्दैछ।

तैपनि यस गाउँपालिका आफैंले कुरिनटारमा ‘इच्छाकामना अस्पताल’ निर्माणको काम अघि बढाएको छ। यस गाउँपालिकामा सामान्य उपचारका लागि स्वास्थ्यचौकी भए पनि चिकित्सकसहितको अस्पताल भने अहिलेसम्म छैन।

‘हामी आफैंले सुविधासम्पन्न अस्पताल निर्माणको काम अघि बढाएका छौं, तर हामीसँग बजेटको अभाव छ,’ गाउँपालिकाकी अध्यक्ष गीता गुरुङले सेतोपाटीसँग भनिन्, ‘संघीय सरकारले सबै तहमा अनिवार्य अस्पताल बनाउने कार्यक्रम ल्याएको थाहा पाएपछि खुसी भएका थियौं। तर हामीलाई पारिएनछ।’

गाउँपालिकाले वहुवर्षीय योजनाअनुसार बनाउन खोजेको उक्त अस्पतालको लागत १० करोड रुपैयाँ अनुमान गरिएको छ। ‘तर यसका लागि पर्याप्त बजेट हामीसँग हुँदैन। गतवर्ष र यस वर्ष ५०/५० लाख रुपैयाँ बजेट छुट्टाएका थियौं, यसले अहिले जगको काम भइरहेको छ,’ उनले भनिन्, ‘हाम्रो मात्र प्रयासले त वर्षौं लाग्ने भयो।’

अस्पतालको आवश्यकता सबैले महसुस गरे पनि सहयोग भने कतैबाट नपाएको गुनासो उनले गरिन्। ‘चेपाङ समुदायको बाहुल्यता रहेको दुरदराजको गाउँबाट उपचारका लागि भरतपुर, काठमाडौं पुग्नैपर्ने बाध्यता छ, विपन्न वर्गका जनता उपचार नपाएर मर्ने गरेका छन्,’ उनले भनिन्, ‘गाउँपालिकामा एउटा अस्पताल नभई भएको छैन।’

सवारी दुर्घटना अत्याधिक हुने पृथ्वी राजमार्ग र नारायणगढ मुग्लिङ सडकको ५० किलोमिटर क्षेत्र यहीँ गाउँपालिकामा पर्छ। यहाँ हरेक दिनजसो दुर्घटना हुन्छन्। तर घाइतेलाई उपचारका लागि भरतपुर पुर्‍याउनुपर्ने बाध्यता छ।

‘हामी यो बाध्यता हटाउन चाहन्छौं,’ अध्यक्ष गुरुङले भनिन्, ‘जतिसक्दो छिटो अस्पताल तयार गर्न संघीय सरकारको सहयोग चाहियो।’

उनले हरेक स्थानीय तहमा अस्पताल बनाउने योजनामा नपरेपछि सोही क्षेत्रका सांसद कृष्णभक्त पोखरेललाई पत्र लेखेर योजना पार्न आग्रह गरेको बताइन्। ‘अब म आफैं काठमाडौं गएर बजेटको पहल गर्छु,’ उनले भनिन्, ‘अस्पताल त जसरी पनि बन्छ।’

उनले संघीय सरकारको सहयोग प्राप्त भए यसै वर्ष भवन निर्माणको काम सकेर आगामी वर्ष उद्घाटन गर्न सकिने बताइन्।

यो समाचार सेतोपाटी डट कमबाट साभार गरिएको हो । यो खबर सेतोपाटीमा पढनको लागि कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://www.setopati.com/social/223853

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *