समयमा भुक्तानी नपाएपछि निर्माण कार्य रोकियो

समयमा भुक्तानी नपाएपछि निर्माण कार्य रोकियो

विराटनगर । समयमा भुक्तानी नपाउँदा निर्माण योजनाहरु प्रभावित बनेका छन् । प्रदेश १ सरकारको लगानीमा बन्ने पहिलो प्रादेशिक विराटचोक–घिनाघाट सडक निर्माणको काम समयमा भुक्तानी नहुँदा रोकिएको छ ।
प्रदेशको गौरवको योजनाका रुपमा अघि सारिएको सडक निर्माणको कामको भुक्तानी नभएपछि निर्माण व्यवसायीले काम रोकेका हुन् ।

सडक निर्माण पूरा भएको कामको भुक्तानी समेत नपाएपछि निर्माण व्यवसायीले सडक निर्माणको काम रोकेका हुन् । कुल २२ किलो मिटर लामो सडकलाई तीन खण्डमा विभाजन गरी निर्माणको काम थालिएको थियो ।
पहिलो खण्ड १० किलोमिटर विराटचोक–नेताचोक र दोश्रो खण्ड नेता चोक–मिलनचोक १० किलोमिटर सडक निर्माणको ठेक्का लागेको थियो ।
पहिलोे खण्डको सडक निर्माणको काम ६८ करोड ६८ लाख र दोश्रो खण्डको ६९ करोडको लागतमा अघिल्लो आर्थिक बर्षमा ठेक्का लागी दुई बर्ष भित्र सम्पन्न गर्ने लक्ष्यसहित निर्माणको काम शुरु भएको थियो ।

विराटचोक–नेताचोक सडक ठेक्का पाएको श्रेष्ठ रमन एपेक्स जेभीका प्रोजेक्ट म्यानेजर विवेक कार्कीले सडक निर्माणको काम ४५ प्रतिशत पूरा भए पनि भुक्तानी नपाएपछि सडक निर्माणको काम अगाडि बढाउन समस्या भएको बताए ।

उनले सडकको निर्माणको लागि आवश्यक सव वेसको काम पूरा भएपछि ४ करोडभन्दा बढी रकम पूर्वधार विकास कार्यालयले भुक्तानी नदिएपछि काम प्रभावित भएको बताए ।

‘कोरोनाको संक्रमणको समयमा पनि हामीले काम रोकेनौं,’ प्रोजेक्ट म्यानेजर कार्कीले भने, गरेको कामको भुक्तानी माग्दा नपाएपछि वातावरण बिथोलियो । हामी भुक्तानी नआएसम्म काम गर्नसक्ने स्थितिमा छैनौं ।’उनले ३ महिनादेखि भुक्तानीका लागि ताकेता गरिरहेको पनि जानकारी दिए ।

दोश्रो खण्डको ठेकेदार कम्पनी श्रेष्ठ रमन एपेक्स जेभीका प्रोजेक्ट मेनेजर भरत कार्कीले पनि भुक्तानीकै कारण एक महिनादेखि काम रोकिएको बताए । उनले ५० प्रतिशत सडक निर्माणको काम पूरा भएको र ५ करोडभन्दा बढी रकम भुक्तानी नपाएपछि काम रोकिएको जनाए ।

‘असारसम्ममा निर्माणको काम पूरा गर्ने लक्ष्य थियो,’ उनले भने, ‘काम सकिएको भुक्तानी पाएनौं । यस्तै भइरहे निर्धारित समयमा काम सम्पन्न गर्न सकिँदैन ।’ उनले एक साताभित्र भुक्तानी भएको खण्डमा आगामी पनि असार मसान्तसम्म निर्माण पूरा गरी सरकारलाई हस्तान्तरण गर्ने दावी गरे ।

पूर्वधार विकास कार्यालयका प्रमुख राजनराज रेड्डीले डेकेदारलाई भुक्तानी दिन समस्या भएको स्वीकार गरे । कोरोनाका कारण प्रदेश सरकारले बहुवर्षीय परियोजनाको बजेट उल्लेख्य कटौती गरेको छ ।

हामीलाई कुल बजेटको ५० प्रतिशत मात्र बजेट खर्च गर्न अख्तियारी आएको छ । बजेटकै कारण विकास निर्माण प्रभावित नहोस भनेर आवश्यक बजेटका लागि प्रदेश सरकारसँग माग गरेका छौं । निकाशा भएलगत्तै भुक्तानी गर्नेछौं,’ रेड्डीले भने ।

प्रदेश सरकारको १ अर्ब ४० करोडको लगानीमा २२ किलोमिटर लम्बाइ रहेको सो सडक चार लेनको बनाउन लागिएको हो ।

हाल दुई लेनको सो सडक वस्ती भएको क्षेत्रमा ६४ मिटर र वस्ती नभएको क्षेत्रमा ५६ मिटर हुने गरी सडकको डिजाइन गरिएको छ । सडक निर्माणको दुवै प्याकेजको ठेक्का श्रेष्ठ रमण एपेक्स जेभीले लिएको छ ।

पूर्वबाट विराटनगर प्रवेश गर्ने यो सडकलाई कोशी राजमार्गको विकल्पको रुपमा हेरिएको छ । कोशी राजमार्गमा विकास निमार्ण जारी रहँदा विराटचोक हुँदै पूर्व जानेहरुले यो सडकाको प्रयोग गर्दे आएका थिए ।

निमार्ण सम्पन्न भएपछि प्रादेशिक सडक हुँदै राजधानी विराटनगरसँग प्रदेशवासीले बैकल्पिक र छोटो मार्गका रुपमा यो सडकलाई प्रयोग गर्न सक्नेछन् ।

विराटचोक–घिनाघाट सडक विराटनगरको पुष्पलालचोकबाट बैजनाथपुर, झोराहाट, नेताचौक र हरैचा हुँदै पूर्व–पश्चिम राजमार्गसँग जोडिनेछ ।
यो सडक निर्माण भएपछि कोशी राजमार्ग अन्तर्गत ६ लेनको निर्माणधीन इटहरी–विराटनगर सडकमा हुने सवारी चाप पनि कम हुने विश्वास लिइएको छ ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *