समयमा भुक्तानी नहुँदा सडक योजना प्रभावित

समयमा भुक्तानी नहुँदा सडक योजना प्रभावित

इलाम । प्रदेश सरकारअन्तर्गत निर्माणाधीन जिल्लाका आधा दर्जन सडक योजना समयमा भुक्तानी नहुँदा प्रभावित भएका छन् । जिल्लाका विभिन्न स्थानमा निर्माणाधीन सडकका लागि नियमित बजेट नआएका कारण काम गर्न कठिनाइ भएको सम्बद्ध निर्माण व्यवसायीले बताएका छन् ।

अघिल्लो आर्थिक वर्षदेखि जिल्लाका विभिन्न स्थानमा निर्माणाधीन सडकका लागि समयमै भुक्तानी नआएको भन्दै निर्माण व्यवसायीले सुस्त गतिमा मात्र काम अघि बढाएका छन् ।

प्रदेश सरकारअन्तर्गत राँके देउरालीबाट साढे २६ किलोमिटर सडक दुई प्याकेजमा काम भइरहेको छ । यो सडक निर्माणको दुवै प्याकेजका लागि करिब ६० करोड रुपैयाँमा ठेक्का लागेको हो । व्यवसायीका अनुसार दुवै प्याकेजमा गरेर साढे ४ करोड रुपैयाँ मात्र भुक्तानी भएको छ । समयमै भुक्तानी नभएकाले अघिल्लो वर्षको तुलनामा ५० प्रतिशत कामको तीव्रता घटाउनुपरेको व्यवसायीले बताए ।

‘काम गरेको बिल भुक्तानीसमेत नहुँदा निरन्तरता दिनै समस्या भएको छ,’ निर्माण व्यवसायी सन्तोष कटुवालले भने, ‘कामै बन्द गर्ने अवस्था आएकाले तीव्र गतिमा अघि बढाउन सकिएको छैन ।’ फिक्कलदेखि नयाँ बजारसम्मको २१ किलोमिटर सडक, सन्दकपुर गाउँपालिकाको माबुमा १२ किलोमिटर, माई नगरपालिकाको सुखानीदेखि चिसापानीसम्मको १५ किलोमिटर सडक, गाग्रे भन्ज्याङ–सोयाक करिब २६ किलोमिटर सडक प्रदेश सरकारअन्तर्गत निर्माणाधीन छन् । यी सबै सडकमा नियमित भुक्तानीकै अभावमा लक्ष्यअनुरूप काम हुन सकेको छैन । पूर्वाधार विकास कार्यालय झापामार्फत सञ्चालित योजनालाई निरन्तरता दिनै समस्या भएको व्यवसायीको भनाइ छ ।

सन्दकपुर गाउँपालिकाको माबुमा निर्माणाधीन सडकको ३५ प्रतिशत काम सकिए पनि न्यून मात्र रकम आएको व्यवसायीको भनाइ छ । ‘३९ करोडको योजनामा अहिलेसम्म न्यून मात्र रकम आएको छ,’ निर्माण व्यवसायी संघका अध्यक्ष सुवास चिपालुले भने, ‘अहिले ३ करोड रुपैयाँको बिल हालेका छौं ।’ समयमा भुक्तानी नभएकै कारण अन्योल भएको उनले बताए ।

‘सडक निर्माणको गति बढाउन सरकारले ठोस पहल गर्नुपर्ने आवश्यकता छ,’ माङसेबुङ गाउँपालिकाका अध्यक्ष डिकेन्द्र इदिंगोले भने, ‘विदेशी दाताबाट हुने काम समयमा भुक्तानी भएर छिटो अगाडि बढ्ने तर प्रदेश सरकार र संघीय सरकारअन्तर्गतका योजना बजेटकै कारण द्रुत गतिमा काम नभएको अवस्था छ ।’

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *