समय अगावै काम सक्ने निर्माण व्यवसायीलाई ओखलढुंगामा सम्मान

समय अगावै काम सक्ने निर्माण व्यवसायीलाई ओखलढुंगामा सम्मान

पूर्णप्रसाद न्याैपाने

ओखलढुंगामा समय अगावै काम सक्ने निर्माण व्यवसायीलाई सिद्धिचरण नगरपालिकाले सम्मान गरेको छ । आठौं नगरसभाको अवसर पारेर नगरपालिकाले नेपाल सरकारसँग ठेक्का सम्झौता गरेर लिएको समय अगावै काम सक्ने ठेकेदारलाई दोसल्ला ओडाएर सम्मान गरेको हो ।

निर्वाचन क्षेत्र स्तरीय चक्रपथ (रिङरोड) को पहिलो खण्ड निर्माणको काम सक्ने निर्माण व्यवसायी तेजबहादुर भुजेल र सिस्नेखोला पुल बनाउने निर्माण व्यवसायी मोहन कार्कीलाई सक्नुपर्ने समय भन्दा करिब एकवर्ष अगावै योजना सम्पन्न गरेकोमा सम्मान गरिएको नगरप्रमुख मोहनकुमार श्रेष्ठले बताए । योजना जिम्मा लिएर अलपत्र पार्ने ठेकेदारका बीचमा समय अगावै गुणस्तरीय काम गरेर योजना हस्तान्तरण गर्ने ठेकेदारलाई प्रोत्साहन स्वरुप सम्मान गरिएको उनको भनाई छ । ‘योजना जिम्मा लिएर अलपत्र पारेकै कारण ठेकेदार प्रति सबैको धारणा गलत बन्ने अवस्था छ । वर्षौ ताकेता गर्दा पनि काम नभएका थुप्रै उदाहरण छन् तर उहाँहरुले समय अगावै राम्रो काम गरेर देखाउनुभयो ।’ नगरप्रमुख श्रेष्ठले भने, ‘समय भित्रै राम्रो काम गर्ने ठेकेदार पनि छन् भन्ने उदाहरण देखाएकाले उहाँहरुलाई हामीले सम्मान गरेका हौं ।’ ठेकेदार सम्मानले नगरक्षेत्रका अन्य योजना समयमै सक्न अन्य निर्माण व्यवसायीहरुलाई सन्देश दिने उनको भनाई छ ।

प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले द्धोय निर्माण व्यवसायीहरुलाई दोसल्ला ओडाएर सम्मान गर्दै प्रशंसा पत्र प्रदान गरेका थिए । ठेकेदार सम्मान गर्दै मन्त्री गुरुङले निर्माण व्यवसायी इमान्दार भए मुलुकले विकासमा छिट्टै फड्को मार्ने बताएका छन् । ‘यहि जिल्लामा सुनकोशी पुल बनाउन १५–१८ वर्ष लाग्यो । त्यस्तै पुल अहिले १ वर्षमा बन्यो । यहि हो हामीले ल्याएको समृद्धि ।’ मन्त्री गुरुङले भने, ‘राम्रो काम नगर्ने ठेकेदार विरुद्ध सरकार कठोर भएर लाग्ने छ । अब यो प्रदेशमा जस्ले काम रोक्छ उसको भुत्तानी रोकिन्छ ।’ राम्रो काम गर्नेलाई प्रोत्साहन र समयमै काम नगर्ने ठेकेदारलाई कानुनी कारबाही सुरु गर्न मन्त्री गुरुङले प्रमुख जिल्ला अधिकारीलाई निर्देशन दिएका छन् ।

सम्मान ग्रहण गर्दै

विकास निर्माणका आयोजना वषौं अलपत्र पर्ने समस्या रहेको ओखलढुंगामा दुईवटा योजना समय अगावै सम्पन्न भएका छन् ।

प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले जिल्लाबाट निर्वाचित भएपछि रोजेको उच्चस्तरीय चक्रपथ निर्माणको योजना अन्तरगत निर्वाचन क्षेत्र नं. १ उच्चस्तरीय चक्रपथ (रिङरोड) को पहिलो खण्ड रुम्जाटार सानीटार वनपाले बुलादी देउराली फेदे सडक तीन वर्षमा बनाईसक्ने गरि महालक्ष्मी कन्स्ट्रक्सन कन्सर्न प्रा.लि बालाजु काठमाडौंले ठेक्का लिएको थियो । २०७८ पुस २१ गते सम्म म्याद राखेर २०७६ पुस २० गते ठेक्का सम्झौता गरेको निर्माण कम्पनीले ९ किलो मिटर ८ सय मिटर सडक निर्माणको काम थालेको डेढवर्ष नपुग्दै सम्पन्न गरेको छ ।

त्यस्तै सिस्ने खोला पुल पनि समय भन्दा एक वर्ष अघि नै निर्माण सम्पन्न भएको छ । मिलनचोक सपनावति रुम्जाटार सडक खण्ड अन्तरगत सिस्ने खोलामा २ वर्षमा बनाई सक्नेगरि ठेक्का लागेको पुल एक वर्ष नपुग्दै निर्माण सम्पन्न भएको हो । के.एम. इन्जिनियर्स विल्डर्स प्रा.लि. काठमाडौंले २०७९ साल असार २४ गते निर्माण सम्पन्न गर्नेगरि २०७७ असार २५ नेपाल सरकारसँग ठेक्का सम्झौता गरेको थियो ।

समय अगावै निर्माण सम्पन्न भएका दुवै योजना उद्घाटन भईसकेका छन् ।

यो समाचार भिजन समाचार डट कमबाट साभार गरिएको हो । यो खबर भिजन समाचार डट कममा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

समय अगावै काम सक्ने ठेकेदारलाई ओखलढुंगामा सम्मान – (visionsamachar.com)

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *