सिँचाइले फर्कायो गाउँ

सिँचाइले फर्कायो गाउँ

गण्डकी । मुस्ताङका सरोज तुलाचनले विकास के हो, बुझन पाएनन् । न घरमा खानेपानीको धारा, न त खेतमा लगाउने पानीकै व्यवस्था । पाठशालाको उस्तै समस्या । खेती गरे उत्पादन छैन । यातायातको व्यवस्था छैन । बिरामी भए औषधोपचारको समस्या उस्तै । परिवारको पालनपोषण गर्न पनि गाह्रो भएपछि उनी २२ वर्षअघि जापान हान्निए ।
मुस्ताङको थासाङमा निर्माण गरिएको सिँचाइ परियोजना । २ करोड ३० लाख रुपैयाँको लागतमा निर्माण गरिएको परियोजनाले ७५ हेक्टर जमिनमा सिँचाइ हुन्छ । तस्बिर स् प्रतीक्षारकान्तिपुर

थासाङ गाउँपालिका–१ का तुलाचन १५ वर्ष जापान बसेपछि सात वर्षअघि नेपाल फर्किए । ‘जापानमा धेरै दुःख गरें,’ उनले भने, ‘लामो संघर्षपछि कमाएको केही रकम बचत थियो । जापानमा मन खुसी थिएन, बाध्यता बढी थियो ।’ उनी नेपाल फर्किएर काठमाडौंमा होटल व्यवसाय थाले । ‘व्यापार पनि ठीकै थियो,’ उनी भन्छन्, ‘काठमाडौंमा पनि रमाउन सकिनँ । धन भएर के गर्नु, मन खुस नभएपछि ।’ यता गाउँमा सिँचाइको परियोजना निर्माण हुँदै थियो । सिँचाइ पुग्ने भएपछि उनी गाउँ फर्किए ।

भन्छन्, ‘सिँचाइकै कारण म गाउँ फर्किएको हुँ । जापान र काठमाडौंमा खुसी नभएको मन बल्ल गाउँ आएपछि रमाएको छ । सिँचाइ पुगेपछि बाँझो जमिन सदुपयोग गर्दै खेतीपाती गर्छु भनेर जापान नजाने निर्णय गरें । न त अब काठमाडौं नै फर्किन्छु ।’ गाउँमै स्याउ खेती गरेर यस पटक राम्रो आम्दानी गरेको उनले बताए । स्याउसँगै फापर, जौ, उवालगायत खेती गर्ने योजना रहेको उनको भनाइ छ । उनीसँगै गाउँका अन्य चार जना पनि सिँचाइको सुविधा भएपछि गाउँ फर्किएका छन् । गाउँ बनाउनुपर्छ भन्ने सोचले घर फर्किएको उनीहरूको भनाइ छ ।

गण्डकी प्रदेश सरकारले टुकुचेको झोमो फाँटमा २ करोड ३० लाखको लागतमा सिँचाइको योजना सम्पन्न गर्न लागेको छ । यही योजनाले गाउँ छाडेको कयौं वर्षपछि स्थानीयलाई आफ्नै ठाउँ फर्काएको छ । झोमो ठूलो परिणाममा स्याउ उत्पादन हुने फाँट रहेको झोमो टुकुचे सिँचाइ उपभोक्ता समितिका अध्यक्ष विष्णु शर्माले बताए । नजिकैको थापाखोलाबाट १ हजार ५ सय मिटरको नहरबाट पानी लगि पोखरी निर्माण गरी सिँचाइ गरिएको छ । कच्ची नहरबाट पानी लगी ढलान नभएको पोखरीबाट सिँचाइ गर्दा मुस्किलले महिना दिनपछि पालो पाउने किसानले अब भने साता दिनमै आफ्नो बारीमा सिँचाइ गर्न पाउनेछन् । पक्की नहरबाट सिँचाइ हुन थालेपछि उत्पादन बढ्नेमा किसान ढुक्क छन् ।

सिँचाइ आयोजना बनेपछि ७५ हेक्टरमा पूर्ण रूपमा पानी पुगेको खानेपानी, जलस्रोत तथा सिँचाइ विकास सब–डिभिजन कार्यालय मुस्ताङका प्रमुख झलकमोहन ओझाले बताए । सिँचाइकै कारण खेतीतर्फ आकर्षण बढेको थासाङ–१ का वडाध्यक्ष रत्नप्रसाद ज्वारचनको भनाइ छ । झोमोमा वार्षिक ४ देखि ५ करोडको स्याउ उत्पादन हुन्छ ।

यो समाचार इकान्तिपुर डट कमबाट साभार गरिएको हो । यो खबर इकान्तिपुर डट कममा पढ्नको लागि कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://ekantipur.com/business/2021/01/03/160963729658552526.html

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *