सिक्लेस हाइड्रोमा ३० करोडको क्षति

सिक्लेस हाइड्रोमा ३० करोडको क्षति

पोखरा । अविरल वर्षाका कारण कास्कीको मादी नदीमा आएको बाढीले सिक्लेस हाइड्रो प्रालिद्वारा सञ्चालित मदक्यू खोला जलविद्युत् आयोजनामा ३० करोड रुपैयाँ बढीको क्षति पुगेको छ ।

कास्कीको मादी गाउँपालिका–१, मदक्यू खोलामा १३ मेगावाट क्षमताको सो आयोजनामा मंगलबार आएको बाढीले सो बराबरको क्षति पुगेको आयोजनाका सञ्चालक किरण केसीले जानकारी दिए । उनका अनुसार १४ किलोमिटर ट्रान्समिसन लाइन लगायत अन्य संरचनामा क्षति पुग्दा विद्युत उत्पादनसमेत बन्द भएको छ ।

यस्तै, बाढीले आयोजनाको ‘स्विचयार्ड’ बगाएको छ भने बाँधमा व्यापक क्षति पुगेकोछ । आयोजनाको इलेक्ट्रिक मेकानिकल सिभिल संरचना, विद्युत प्रसारण लाइन लगायतमा क्षति हुँदा ३० करोड बढीको क्षति पुगेको उनको दाबी छ ।

आयोजनाको पावर हाउसमाथिबाट अझै पनि पहिरो खसिरहेकाले पावर उच्च जोखिममा रहेको उनले बताए । सञ्चालक केसीले भने, ‘आयोजनामा बाढीले व्यापक क्षति गर्दा वर्षाको समयमा पुनः सञ्चालनमा ल्याउन थप चुनौती थपिएको छ । आयोजनालाई पहिलाकै अवस्थामा ल्याउन करिब वर्ष दिनसम्म लाग्न सक्छ । ’

आयोजनासम्म जाने सडक ठाउँ–ठाउँमा बाढीले बगाउँदा सामान ढुवानी गर्न समेत कठिन हुने देखिएको छ । गत २०७४ चैतबाट केन्द्रीय प्रसारण लाइनमा जोडिएको आयोजनामा बाढीले क्षति पुग्दा मादी १, सिक्लेसका बासिन्दा अध्याँरोमा बस्न बाध्य छन् । बाढीले मदक्यू खोला जलविद्युत आयोजना सहित सुपर मादी, हिमालयन र अपर मादी हाइड्रोमा बाढीले ठूलै क्षति गरेको हो ।

यो समाचार राजधानी डेली डट कमबाट साभार गरिएको हो । यो खबर राजधानी डेली डट कममा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *