सिजनमै किन घट्यो सिमेन्टको मूल्य?

सिजनमै किन घट्यो सिमेन्टको मूल्य?

समिक्षा अधिकारी

कोरोना महामारीले अरू क्षेत्रझैं सिमेन्ट उद्योगहरू पनि समस्यामा परेका छन्। यसकै प्रभाव सिमेन्टको बजार भाउमा देखिएको छ। अहिले निर्माणको सिजन समयमै कम्पनीहरूले एक सय रूपैयाँसम्म मूल्य घटाएर सिमेन्ट बजार व्यवस्थापन गरिरहेका छन्।

अर्घाखाँची ओपिसी सिमेन्टले गत वर्षभन्दा प्रतिबोरा एक सय रूपैयाँ घटाएर कारोबार गरिरहेको जानकारी दिएको छ। प्रतिस्पर्धी बजारमा अस्तित्व कायम राख्न मूल्य घटाएर भए पनि आयतन फैलाउनुपर्ने आवश्यकता रहेको कम्पनीका बजार प्रमुख रमेश थापाले सेतोपाटीलाई बताए।

‘अघिल्लो वर्ष यही समयको मूल्यसँग तुलना गर्दा सय रूपैयाँ घटेको छ। तर कोइलाको मूल्य र ढुवानी खर्च अहिले बढेको छ। यस कारण केही दिनमा सिमेन्टको पनि मूल्य बढ्ने संकेत छ,’ थापाले भने, ‘मागभन्दा पूर्ति बढी भएपछि मूल्य घट्नुपर्ने अर्थशास्त्रको नियम छ। अहिले चाहिँ हामी यही नियमअनुसार चलिरहेका छौं।’

पछिल्लो समय बैदेशिक रोजगार क्षेत्र धरापमा परेकाले आवास निर्माण क्षेत्र सुस्ताएको छ। आम्दानी स्रोत हेरी घर बनाउनेको संख्या कम हुँदै गएको बताउँदै थापाले भने, ‘मान्छेहरूले नयाँ घर बनाउने आँट गरेका छैनन्। भइरहेका निर्माण क्षेत्रमा आफ्नो बजार खोज्दा मूल्य घटाएर कारोबार गर्नु परेको हो।’

यसैबीच शिवम् सिमेन्टले भने मूल्यमा घटबढ नभएको जानकारी दिएको छ। मोबाइल एप्सबाट समेत जानकारी लिन सकिने सुविधा भएको यस कम्पनीको सिमेन्टको मूल्यमा क्षणिक हेरफेर नभएको बजार शाखाका केशव अर्यालले जानकारी दिए।

‘उत्पादन लागत बढिरहेको छ। केही दिनमै सबैखाले सिमेन्टको मूल्य बढ्न सक्छ,’ अर्यालले भने, ‘यस्तोमा केही समयका लागि मूल्य घटाउनुले खास फरक नपर्ने कम्पनीको निर्णय हो।’

नेपाल सिमेन्ट उत्पादन संघका अनुसार बजारमा मागभन्दा पूर्ति धेरै हुन थालेपछि मूल्य घटाएर बिक्री गर्ने अवस्था आएको हो। मेसिन क्षमता बढाउन साथै कर्मचारी सञ्चालनका लागि कारखाना चालू राख्नु पर्ने हुँदा उत्पादन बढ्ने र माग घट्ने अवस्था आएको संघका अध्यक्ष ध्रुव थापा बताउँछन्।

‘सिमेन्ट अन्य साना उद्योगजस्तो आवश्यक पर्दा मात्रै खोल्न मिल्ने हुँदैन। मेसिन क्षमता कायम राख्न पनि चलाउनु पर्ने हुन्छ,’ अध्यक्ष थापाले भने, ‘उत्पादन पछि लामो समय स्टकमा राख्न पनि मिल्दैन। मूल्य घटाएर भए पनि सस्तोमा बेच्नु पर्ने बाध्यता कम्पनीहरूलाई छ।’

अर्को पाटो काम भएन भनेर कर्मचारी निकाल्न मिल्दैन। मूल्य कम गरेर बजार टिकाउने बाटो नखोजे कम्पनीले धेरै घाटा बेहोर्नुपर्ने अध्यक्ष थापा बताउँछन्।

उनका अनुसार प्रतिस्पर्धी बजारमा ग्राहकले आफ्नो उत्पादन पाएनन् भने उत्पादनको बजार गिर्ने सम्भावना हुन्छ, ‘यावत कारण सिजनका बेला मूल्य घटाएर सिमेन्ट बेच्नेतिर कम्पनीहरू लागिरहेका हुन्।’

संघको जानकारी अनुसार अघिल्लो वर्षको तुलनामा यस वर्ष समग्र १५ प्रतिशत बजार घटेको छ। सिमेन्टको मूल्यमा ५ प्रतिशतसम्म गिरावट आएको छ।

घर बनाउँदा सबभन्दा धेरै सिमेन्ट ढलानमा खपत हुन्छ। एक हजार वर्गफिटमा २ तले घर बनाउँदा एक हजार बोरा सिमेन्ट चाहिने अनुमान गर्नुपर्ने हुन्छ।

अहिले सामान्यतया पिपिसी सिमेन्ट ५५० र ओपिसी सिमेन्ट ६५० रूपैयाँ प्रतिबोरा दरमा उद्योगले बजार पठाइरहेको छ। कम्पनी मूल्यमा ठाउँअनुसार ढुवानी खर्च ३०–४० रूपैयाँ जोडिन सक्छ।

सिमेन्ट किन्दा ध्यान दिनुपर्नेः

सामान्यतया सिमेन्ट बनेको मितिबाट ३ महिनाभित्र प्रयोग गर्नु उपयुक्त हुन्छ। सिमेन्टको मिति हेर्न अरू उत्पादनभन्दा अलि फरक छ। यसमा हप्ताअनुसार मिति लेखिएको हुन्छ।

यदि सिमेन्ट २०७७ साल वैशाख पहिलो हप्तामा बनेको छ भने यसमा २०७७ र १ लेखिएको हुन्छ। त्यस्तै जेठको पहिलो हप्तामा बनेको भए २०७७ र ५ लेखिएको हुन्छ। यसको अर्थ यो सिमेन्ट २०७७ सालको ५ औं हप्तामा बनेको हो।

त्यसैगरी सिमेन्टको बोरा ठीक छ कि छैन, त्यो पनि हेर्नुपर्छ। बोरा प्वाल परेको भए सिमेन्ट कम हुन पनि सक्छ। त्यसैगरी संरचना निर्माण गर्दा स्थलमा ल्याएको सिमेन्ट ओस नपर्ने ठाउँमा भण्डारण गर्नुपर्छ।

सिमेन्ट भण्डारण गर्दा भुइँमा काठको फलेक वा चिसो रोक्ने सामान ओछ्याउनुपर्छ। त्यस्तै पानी पर्दा भण्डारण गरिएको कोठामा पानी पस्छ कि पस्दैन भनेर पनि चनाखो हुनुपर्छ। पानी पसेमा सिमेन्टको गुणस्तरमा ह्रास आउनुका साथै प्रयोग गर्नै नमिल्न सक्छ। यस्तो सिमेन्ट प्रयोग गरेमा उप्किने वा संरचना नै कमजोर हुन्छ।

यो समाचार सेतोपाटी डट कमबाट साभार गरिएको हो । यो खबर सेतोपाटीमा पढ्नको लागि कृपया तलको लिङ्कमा क्लिक गर्नुहोला । धन्यवाद ।

https://www.setopati.com/kinmel/construction/224928

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *