सिद्धिचरण लोकमार्ग स्तरोन्नति तयारी

सिद्धिचरण लोकमार्ग स्तरोन्नति तयारी

ओखलढुङ्गा। सरकारले हिमाल, पहाड र तराई जोड्ने सिद्धिचरण लोकमार्ग स्तरोन्नति गर्ने भएको छ । यसका लागि रु १ अर्ब ५० करोड बजेट विनियोजन समेत गरिइएको छ । जीर्ण अवस्थामा रहेको सिराहाको मिर्चैयादेखि सोलुखुम्बुसम्मको सडक यसैवर्ष स्तरोन्नति हुने भएको हो ।

मिर्चैया–कटारी–घुर्मी–ओखलढुङ्गा–सोलु सडक स्तरोन्नति गर्न उच्च प्राथमिकता दिई आवश्यक रकम विनियोजन भएको प्रदेश १ का भौतिक पूर्वाधार विकास मन्त्री अम्बिरबाबु गुरुङले जानकारी दिनुभयो । ऐतिहासिक महत्त्व बोकेको उक्त सडक सरकारले विशेष बजेट मार्फत स्तरोन्नति गर्ने निर्णय गरेको उहाँको भनाइ छ ।

“यो सडक प्रदेश १ को समृद्धिसँग जोडिएको छ । यही मार्ग भएर माथिल्लो सगरमाथाका सोलु, खोटाङ, ओखलढुङ्गा र उदयपुरको उत्तरी क्षेत्रमा खाद्यान्न र निर्माण सामाग्री ढुवानी हुन्छ ।” उहाँले भन्नुभयो, “म त्यो क्षेत्रको सांसद भएकाले सिद्धिचरण लोकमार्ग स्तरोन्नति मेरो प्राथमिकतामा छ । प्रदेश सरकारको सिफारिस र समन्वयमा राष्ट्रिय गौरवको योजना बनाएर सरकारले विशेष बजेट व्यवस्था गरेको छ । अब तत्काल ठेक्का प्रक्रिया सुरुआत हुन्छ । लोकमार्गको सडक चौडाइ बढाएर ढल निकास सहितको व्यवस्थित बनाइने छ । ”

कटारी–घुर्मी–ओखलढुङ्गा सडक स्तरोन्नतिको माग गर्दै उदयपुरको उत्तरी क्षेत्रका स्थानीयले केही दिन अघि सडक अवरुद्ध समेत गरेका थिए । आन्दोलित स्थानीयलाई सम्बोधन गर्दै मन्त्री गुरुङले तत्काल सडक स्तरोन्नतिको प्रक्रिया सुरु गराउने प्रतिबद्धता जनाउनुभएको थियो ।

दसकौँ अलपत्र बनेको सडक स्तरोन्नति हुने भएपछि स्थानीयले खुसी व्यक्त गरेका छन् । कटारी नगरपालिका १४ का रुद्र प्याकुरेलले लामो समयदेखि सिद्धिचरण लोकमार्ग स्तरोन्नति गर्न गर्दै आएको माग ढिलै भए पनि पुरा हुनेभएपछि खुसी व्यक्त बताउनुभयो । उहाँले भन्नुभयो “हामीले निकै हारगुहार ग¥यौँ । सडक मर्मत गर्न माग गरेर कहीँ कतैबाट सुनुवाइ भएको थिएन ।” कटारी–घुर्मी सडक मर्मत भएपछि जोखिम मोलेर यात्रा गर्नुपर्ने यस क्षेत्रका नागरिकको बाध्यता अन्त्य हुनेछ ।रासस

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *