सुदूरपश्चिमको गौरव : रानीजमरा

सुदूरपश्चिमको गौरव : रानीजमरा

कञ्चनपुर । सुदूरपश्चिम प्रदेशमै संघीय सरकारबाट निर्माण भइरहेको राष्ट्रिय गौरवको एकमात्र आयोजना रानी जमरा कुलरिया सिँचाइ आयोजनाले वैशाख १ गते किसानको खेतमा सिँचाइ पुर्‍याउने भएको छ।

आयोजनाले मूल नहरदेखि क्यानल निर्माणको काम सम्पन्न गरिसकेको छ। कटासेमा निर्माण भइरहेको ४.७ मेगावाट विद्युत्् क्षमताको पावरहाउसमा साइड क्यानल निर्माण गरेर आयोजनाले वैशाख १ गते किसानको खेतमा सिँचाइ पुर्‍याउने भएको हो। पावरहाउसको बाइपास क्यानल निर्माणको काम सम्पन्न भइसकेको छ।

मूल नहरबाट आउने पानीलाई बाइपास क्यानलबाट परम्परागत रूपमा सञ्चालनमा आएका रानी जमरा र कुलरिया कुला हुँदै किसानको खेतसम्म छोडिने आयोजनाका सिनियर डिभिजनल इन्जिनियर अनुभव चौधरीले बताए। ‘वैशाख १ गते मूल नहरबाट क्यानल हुँदै रानी जमरा र कुलरिया कुलामा सिँचाइको पानी छोड्ने गरी काम भइरहेको छ’ इन्जिनियर चौधरीले भने ‘निर्माणमा कुनै अवरोध नभए वैशाखमा किसानको खेतमा आयोजनाको पानी पुग्नेछ।’

चौधरीका अनुसार नहरमा ४० मिटरक्युव परसेकेन्ड पानी छोडेर सिँचाइ पुर्‍याइनेछ। मुल नहरमा १०० मिटरक्युज परसेकेन्ड पानी छोड्न सकिनेछ। मूल नहर सञ्चालन भए कैलालीको पूर्वी क्षेत्रको १४ हजार ३ सय हेक्टर जमिनमा सिँचाइ पुग्नेछ।

सिँचाइ उपभोक्ता किसानहरूको संस्था रानी जमरा कुलरिया जल उपभोक्ता संस्थाका उपाध्यक्ष लालवीर चौधरीले आयोजना, मन्त्रालय र किसानहरूका बीच वैशाखमा सिँचाइ पुर्‍याउने गरी सम्झौता भएको बताए।

‘सिँचाइ सञ्चालनका लागि अधिकांश कामहरू सम्पन्न भएका छन्, पावरहाउसमा बाइपासबाट पानी छोडेर वैशाखमै सिँचाइ किसानको खेतमा पुग्नेछ’ उपाध्यक्ष चौधरीले भने ‘किसानहरूले लगाउने चैते धानमै सिँचाइ पुग्ने विश्वास छ, अब किसानहरूले ढुक्कले सिँचाइ सुविधा पाउने छन्, हाम्रा लागि निकै खुसीको कुरा हो।’

आयोजनाको पहिलो चरणअन्तर्गत बाँकी रहेका कामहरूसमेत धमाधम भइरहेका छन्। आयोजनाका सिनियर डिभिजनल इन्जिनियर विदुरमान श्रेष्ठले पहिलो चरणअन्तर्गत बाँकी रहेको पावरहाउस निर्माणको काम समेत अन्तिम चरणमा पुगेको बताए। डिजाइन परिवर्तन भएका कारण निर्माणमा ढिलाइ भएको पावरहाउसमा सिभिलतर्फ झन्डै ९० प्रतिशत काम भइसकेको श्रेष्ठले बताए।

‘हाइड्रो मेकानिकलको काम केही बाँकी छ, त्यसका लागि तीन महिना थप लाग्न सक्छ’ श्रेष्ठले भने ‘असार अन्तिम साता विद्युत् उत्पादन गरेर परीक्षण गर्ने आयोजनाको लक्ष्य छ।’ नेपाल सरकार र विश्व बैंकको लगानीमा निर्माण भइरहेको आयोजनामध्ये नेपाल सरकारको लगानीमा कटासेमा सिँचाइकै पानी प्रयोग गरेर विद्युत् उत्पादन गरिनेछ।

आयोजनाको मुख्य इन्टेक क्षेत्रबाट बग्ने पानीबाट ४।७ मेगावाट विद्युत् उत्पादन गर्न १ अर्ब ७३ करोड रुपैयाँ लागत लाग्नेछ । आयोजनाको दोस्रो चरणअन्तर्गत परम्परागत रूपमा सञ्चालित रानी, जमरा र कुलरिया सिँचाइ आयोजनाको नहर व्यवस्थित गरिनेछ। मुख्य तीनवटा शाखाबाट अन्य प्रशाखाहरूमा पानी व्यवस्थित गर्नका लागि निर्माणका कामहरू सुरु भएको इन्जिनयर चौधरीले बताए।

कर्णाली नदीको पानीले कैलाली जिल्लाको मध्य क्षेत्रसम्म सिँचाइ सुविधा पुर्‍याउने लक्ष्य राखिएको आयोजनाले लम्की शाखा विस्तारको कामसमेत अघि बढाइरहेको छ। लम्की शाखाअन्तर्गत १४.६ किलोमिटर नहर निर्माण हुनेछ। इन्जिनियर चौधरीका अनुसार लम्की शाखातर्फ झन्डै १२ किलोमिटर नहर निर्माणको काम अन्तिम चरणमा छ।
‘८५ प्रतिशत जति काम सम्पन्न भएको छ, ६.२ किलोमिटर नहर सम्पन्न र झन्डै १२ किलोमिटरमा काम अन्तिम चरणमा छ’ चौधरीले भने ‘लम्की शाखा सञ्चालन हुन भने अझै दुई वर्ष बढी समय लाग्नेछ।’ लम्की शाखा सञ्चालन भए आयोजनाबाट कुल १८ हजार हेक्टर क्षेत्रफलमा सिँचाइ सुविधा पुग्नेछ।

१ अर्ब ७१ करोड रुपैयाँको लागतमा लम्की शाखाअन्तर्गत दुई वर्षभित्र १४ किलोमिटर नहर निर्माण गर्ने गरी ठेक्का सम्झौता भएको थियो। बल्चौर क्षेत्रदेखि रोरा नदीसम्मको झन्डै ६ किलोमिटर क्षेत्रमा नहर निर्माण भएको भए पनि जग्गाको मुआब्जा वितरणमै दुई वर्ष समय सकिएपछि गत वर्ष निर्माण कम्पनीलाई एक वर्ष समय थप गरिएको थियो। नहर निर्माणको काम कालिका कुमार जेभीले गरिरहेको छ।

आयोजनाले विश्व बैंकको दोस्रो चरणको कार्यक्रमअन्तर्गत १८ जुलाई २०१९ बाट काम सुरु गरेको हो। दोस्रो चरणमा ३१ डिसेम्बर २०२३ मा पाँच वर्षभित्र सम्पन्न गर्ने गरी विश्व बैंकले ६६ मिलियन डलर ऋण लगानी गरेको गरेको छ।

७२ मिलियर डलरको दोस्रो चरणको कार्यक्रममा नेपाल सरकारको ३ मिलियन म्याचिङ फन्ड र उपभोक्ताको श्रमदान गरी ३ मिलियन डलर लगानी रहेको छ। दोस्रो चरणमा कुला प्रणाली आधुनिकीकरण, कृषि सुधार र आयोजना व्यवस्थापनका कार्यक्रमहरू सञ्चालित छन्।

कैलालीको पूर्वी क्षेत्रका किसानका लागि आर्थिक क्रान्ति हुने विश्वास गरिएको राष्ट्रिय गौरवको आयोजनाबाट सिँचाइ सुविधा पुगे कृषि खेती विस्तार हुनेछ। कृषि खेती विस्तारका लागि आयोजनाले छुट्टै कृषि कार्यक्रम कार्यान्वयन इकाइसमेत सञ्चालनमा छ। अन्नपूर्ण पोष्टबाट

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *