सुरुङमार्ग निमार्णकाे क्रममा घरमा चिरा परेपछि चन्द्रागिरिका स्थानीय आन्दोलित
काठमाडौं । काठमाडौंको चन्द्रागिरिमा स्थानीयले उचित क्षतिपूर्ति नपाएसम्म सुरुङमार्गकाे काम अघि बढ्न नदिने चेतावनी दिएका छन् । स्थानीयले सुरुङमार्ग निमार्णकाे क्रममा घरहरूमा चिरा परेकाे, बैंकले सुरुङमार्ग आसपासका घरजग्गालाई धिताेमा राख्न नमानेको र पानी सुकेकाे गुनासोसहित ६ दिनदेखि आन्दोलन गरिरहेका छन् । उनीहरूले उचित क्षतिपूर्ति पाउनुपर्ने माग राखेर सुरुङमार्गकाे काम ठप्प पारेका छन् ।
आफूहरूका मागबारे पटकपटक सरकारले आश्वासन देखाए पनि आयाेजनाले बेवास्ता गरेको स्थानीयको गुनासो छ । उनीहरूले चन्द्रागिरि नगरपालिकाले पनि स्थानीयकाे मागमा सकारात्मक तवरले सहजीकरण नगरिदिएकाे गुनासो गरेका छन् ।
काठमाडौंदेखि धादिङसम्म ९३ घर समस्यामा रहेको सुरुङमार्ग पीडित संघर्ष समितिका संयाेजक रवि दानीले बताए । उनले क्षतिपूर्ति नपाएसम्म सुरुङमार्गको काम अगाडि बढ्न नदिने पनि बताए ।
“नागढुंगा सुरुङमार्ग आयाेजनाले स्थानीय जनताकाे माग र क्षतिपूर्ति उपलब्ध नगराएसम्म अवरोध रोकिँदैन । क्षतिपूर्ति नपाएसम्म निमार्ण कार्य अघि बढ्न दिन्नौँ,” दानीले भने ।
स्थानीय अवराेधका कारण सुरुङमार्गको निर्माण कार्यमा ढिलाइ भइरहेकाे जनाएको छ । अहिलेसम्म ८२ प्रतिशत काममात्र सकिएको छ । अवरोधकै कारण दैनिक १२० मिटर ढलान हुनुपर्ने काम पनि राेकिएकाे छ ।