सेयर बजारमा फेरि नयाँ रेकर्ड

सेयर बजारमा फेरि नयाँ रेकर्ड

राजनीतिक अस्थिरता तथा संवैधानिक संकटबीच पनि सेयर बजारले अर्को एक उचाइ लिएको छ । सातको पहिलो दिन आइतबार सेयर बजार परिसूचक नेप्से नयाँ रेकर्ड कायम गर्दै २१७५.३९ विन्दुमा पुगेको छ । आइतबार नेप्से परिसूचक ४.२२ प्रतिशत अर्थात ८८.१२ अंकले बढेर नयाँ उचाइमा पुग्दै हालसम्मको उच्च रेकर्ड राख्न सफल भएको हो । बैंकर अनलराज भट्टराईका अनुसार सेयर बजारले राजनीतिसँगको प्रभाव तत्काल देखए पनि हाल सस्तो ब्याजदर, अर्थ मन्त्रालयमा बजारमैत्री नेतृत्व तथा सेयर बजारमा प्रबेश गरेका नयाँ लगानीकर्ताका कारण बजारमा उत्साह आएको बताए ।

कोरोना कहरपछि विस्तारै अन्य आर्थिक गतिविधि पनि सुरु भएको तथा बजारमा व्यापक तरलता भएको कारण पनि सेयर बजारले नयाँ नयाँ रेकर्ड राखेको भन्दै उनले पछिल्लो ५.६ वर्षमा बजारमा करिब दोब्बर लगानीकर्ता थपिएका तथा प्रविधिका कारण सेयर कारोबारमा सहजताका कारण पनि बजार उकालो लागेको बताए ।

गत साताको अन्तिम नियमित कारोबार दिन बिहीबार पनि सेयर बजार २५.२१ अंकको वृद्धिसहित २०८७.२७ बिन्दुमा बन्द भइ एक महिना अवधिमा नै अर्को नयाँ रेकर्ड बनाएको थियो । एक महिनाअघि मंसिर १७ गते नेप्सेले २०७१.०३ अंकको रेकर्ड बनाएको थियो । भट्टराइका अनुसार लगानीका अवसर साँघुरिएको तथा बैकको निक्षेपमा पैसा राख्दाभन्दा बजारमा लगानी गर्दा बढी प्रतिफल आउने देखेपछि पनि लगानीकर्ता सेयर बजारमा झुम्मिएका हुन् । बैंक तथा वित्तीय संस्थाको मुद्दति निक्षेपमा समेत ब्याजदर घटेर ७ प्रतशतको हारारहारीमा आइसकेको छ । बजार कति दिगो हुन्छ भन्ने यकिन नभए पनि भट्टराई बजार राजनीतिबाट अलग्गिन खोजेको जस्तो पनि देखिएको बताउँछन् । बजारले नयाँ उचाइ बनाउँदै जाँदा लगानीकर्तामा उमंग थपिएको छ । जसका कारण बजारमा सेयरको माग बढेको छ ।

आइतबार सेयर बजारमा ‘क’ वर्गका कम्पनीहरूको कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक पनि ४.३१ प्रतिशत अर्थात १७.१८ अंकले बढेर ४१५.८८ अंकमा बन्द भएको छ । सातको पहिलो दिनको दिनभर २१२ कम्पनीको ६.३४ अर्ब रुपैयाँभन्दा बढिको १ करोड ४० लाख २६ हजार ८ सय ८६ कित्ता सेयर खरिदविक्री भएका छन् ।

आइतबार सबै समूह बढे पनि सबैभन्दा धेरै व्यापार समूह ९.६४ प्रतिशतले बढेको छ भने अन्य समूह ६.१९ प्रतिशत, उत्पादन तथा प्रशोधन समूह ४.८६ प्रतिशत, बैंकिङ समूह ४.४७ प्रतिशत, जीवन बिमा समूह ४.०९ प्रतिशत, निर्जीवन बिमा समूह २.८४ प्रतिशत, जलविद्युत् समूह २.४६ प्रतिशत, लघुवित्त समूह २.३६ प्रतिशत, विकास बैंक समूह २.१६ प्रतिशत, होटल समूह १.८५ प्रतिशत, फाइनान्स समूह ०.८८ प्रतिशत र म्युचुअल फण्ड समूह ०.२१ प्रतिशतले बढेको छ ।

यस्तै, सबैभन्दा धेरै सेयर कारोबार हुनेमा नेपाल लाइफ इन्स्योरेन्स ९५० करोड ९५ लाख ७५ हजार०, प्राइम कमर्सियल बैंक ९५० करोड २६ लाख २ हजार० छन् भने नेपाल दूरसञ्चार प्राधिकरण ९४५ करोड ७ लाख ९१ हजार०, नेपाल पुनर्बीमा कम्पनी ९२७ करोड ५२ लाख ५९ हजार० छन् ।

आइतबार हिमालयन डिस्टिलरीका सेयरधनी र साल्ट ट्रेडिङ कर्पोरेसनका सेयरधनीले १० प्रतिशतले कमाएका छन् भने ९ प्रतिशतभन्दा माथि कमाउने कम्पनीका सेयरधनीमा नेपाल पुनर्बिमा कम्पनी, प्राइम कमर्सियल बैैंक, कुमारी बैंक, गुराँस लघुवित्त वित्तीय संस्था, नेशनल लघुवित्त वित्तीय संस्थाका रहेका छन् । सेयर बजार उच्च वृद्धि भए पनि ३० सूचीकृत कम्पनीका सेयरधनीले भने गुमाएका छन् ।

यो समाचार कारोबार डेली डट कमबाट साभार गरिएको हो । यो खबर कारोबार डेली डट कममा पढ्नको लागि कृपया तलको लिङ्कमा क्लिक गर्नुहोला । धन्यवाद । https://www.karobardaily.com/news/125286

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *