स्थानीय तहले कति र कुन–कुन इन्जिनियर राख्नुपर्छ ? (यस्तो छ मापदण्ड)

स्थानीय तहले कति र कुन–कुन इन्जिनियर राख्नुपर्छ ? (यस्तो छ मापदण्ड)

आर्थिक वर्ष २०७३/०७४ देखि भूकम्प प्रतिरोधात्मक भवन निर्माण सम्बन्धी आधारभूत तालिम लिई सूचीकृत भएको कालिगढ वा ठेकेदार तथा सुपरिवेक्षणको लागि नियुक्त भएको प्राविधिकको रोहवरमा भवन स्वामित्व कर्तासँगै द्विपक्षीय सम्झौता गरी भवन निर्माण गर्न पाउने व्यवस्था छ । कालिगढ तथा ठेकेदारहरूले यस्तो तालिम निःशुल्क पाउनको लागि आफूलाई पायक पर्ने स्थानीय तहमा निवेदन दिनु पर्दछ ।

गाउँपालिकाहरुले भवन निर्माणको व्यवस्थापन, भवन संहिताको कार्यान्वयन तथा एकीकृत बस्ती विकास कार्यक्रमहरुको सञ्चालनका लागि नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भएको सिभिल इन्जिनियर वा आर्किटेक्ट–१, सम्बन्धित् विषयमा प्रमाणपत्र उत्तीर्ण गरेको सर्भेयर–१ र मान्यताप्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ वा आर्किटेक्ट विषयमा प्रमाणपत्र उत्तीर्ण गरेको सव–इन्जिनियर–१ गरी कम्ति ३ जना प्राविधिक जनशक्ति रहेको एक प्राविधिक शाखा स्थापना गर्नु उपयुक्त हुने गर्दछ ।

कामको बोझको आधारमा यस्तो प्राविधिक जनशक्तिलाई अन्य कार्यको समेत थप जिम्मेवारी प्रदान गर्नु उपयुक्त हुनेछ । नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता भएको इन्जिनियरले प्रमाणित नगरिकन क र ख वर्गका भवनहरूको नक्सा प्रमुख प्रशासकीय अधिकृतले स्वीकृति गर्नु हुँदैन ।

भवन निर्माणको प्रयोजनको लागि आर्किटेक्ट र इन्जिनियर भन्नाले नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भइ इन्जिनियरिङ व्यवसाय गर्ने अनुमति प्राप्त विशेषज्ञलाई मात्र जनाउने गर्दछ ।

मध्यमस्तरका नगरपालिकाहरूमा निर्माण मापदण्ड, बस्ती विकास तथा भवन संहिताको कार्यान्वयन र नक्सा पासको प्राविधिक कार्यको निमित्त कम्तिमा भवन विषयमा स्नातकोत्तर गरेको स्ट्रक्चरल इन्जिनियर १, अर्वान प्लानर वा आर्किटेक्ट वा सिभिल इन्जिनियर १, सिभिल इन्जिनियरिङ विषयमा प्रमाणपत्र हासिल गरेको सवइन्जिनियर १ र सम्बन्धित् विषयमा प्रमाणपत्र हासिल गरेको सर्भेयर १ गरी कम्तिमा ४ जना दरबन्दी सहितका प्राविधिक जनशक्तिहरू रहनु उपयुक्त हुन्छ ।

साथै, पूर्वाधारतर्फ प्राविधिक कार्यको निमित्त कम्तिमा सिभिल इन्जिनियर १ र सिभिल इन्जिनियरिङ विषयमा प्रमाणपत्र हासिल गरेको सवइन्जिनियर १ गरी कम्तिमा २ दरबन्दी रहनु उपयुक्त हुन्छ । यी नगरपालिकाहरूमा भवन मापदण्ड एवम् भवन संहिताको कार्यान्वयन तथा भौतिक पूर्वाधारतर्फ प्राविधिक सुपरीवेक्षणका लागि भवन विषयमा स्नातकोत्तर गरेको स्ट्रक्चरल इन्जिनियर १ को थप दरबन्दी समेत हुनु उपयुक्त हुन्छ ।

भवनको ढाँचरनक्सा तयार गर्ने तथा निर्माण सुपरीवेक्षण अनुमतिः आर्थिक वर्ष २०७२/७३ देखि भवन ऐन २०५५ को दफा ८ अनुसार क र ख वर्गका भवनहरुको ढाँचा, नक्सा, स्ट्रक्चर तथा विशेष सुविधाहरुको डिजाइन र निर्माण सुपरीवेक्षण आर्किटेक्ट वा इन्जिनियरबाट गराउनु पर्नेछ । नेपाल इन्जिनियरिङ परिषद्ले इन्जिनियरहरुको सूची तयार गरी व्यावसायिक अनुमति प्रदान नगरुन्जेल क र ख वर्गको भवनको लागि सिभिल इन्जिनियरिङ विषयमा स्नातक उत्तीर्ण गरी नेपाल इन्जिनियरिङ परिषद्मा दर्ता भइ ५ वर्ष सम्वन्धित क्षेत्रमा अनुभव हासिल गरेको इन्जिनियरबाट स्ट्रक्चर तथा विशेष सुविधाहरुको डिजाइन गराउनुपर्नेछ ।

ग र घ वर्गका भवनका लागि भवन सम्बन्धी विधामा कमसेकम प्रमाणपत्र तह उत्तीर्ण गरेको प्राविधिकबाट भवनको ढाँचारनक्सा तयार र निर्माण सुपरीवेक्षण गराउनु पर्नेछ ।

महानगरपालिका तथा उपमहानगरपालिकाहरूमा १–१ जना अधिकृत स्तरको जियो टेक्निकल इन्जिनियर समेतको थप दरबन्दी रहनु उपयुक्त हुन्छ । साथै महानगरपालिकाको हकमा प्रत्येक वडामा नेपाल इन्जिनियरिङ काउन्सिलमा दर्ता भएको कम्तिमा १ जना सिभिल इन्जिनियर र सम्भव भएसम्म १ जना सर्भेयर गरी २ जना दरबन्दी सहितको प्राविधिक जनशक्तिहरू रहनु उपयुक्त हुन्छ ।

साना नगरपालिकाहरूमा भवन संहिता, मापदण्ड कार्यान्वयन तथा नक्सा पासको प्राविधिक कार्यको लागि कम्तिमा आर्किटेक्ट वा सिभिल इन्जिनियर १, मान्यता प्राप्त शिक्षण संस्थाबाट सिभिल इन्जिनियरिङ विषयमा कम्तिमा प्रमाणपत्र हाँसिल गरेको सवइन्जिनियर १ र सम्बन्धित् विषयमा प्रमाणपत्र हाँसिल गरेको सर्भेयर १ गरी कम्तिमा ३ जना दरबन्दी सहितका प्राविधिक जनशक्तिहरू रहनु उपयुक्त हुन्छ ।

साथै, भौतिक पूर्वाधार भवन निर्माण तथा बस्ती विकास सम्बन्धी प्राविधिक जनशक्ति व्यवस्थापन र प्राविधिक शाखाको स्थापना योजनाहरूको कार्यान्वयनका लागि कम्तिमा सिभिल इन्जिनियर १ र सिभिल इन्जिनियरिङ विषयमा प्रमाणपत्र हाँसिल गरेको सवइन्जिनियर १ गरी थप २ प्राविधिक जनशक्तिहरू रहनु उपयुक्त हुन्छ ।

(सहरी योजना तथा भवन निर्माण मापदण्ड स्रोत पुस्तिकाबाट)

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *