हेटौंडामा डम्पिङ साइट व्यवस्थित नहुँदा समस्या

मकवानपुर । हेटौंडा उपमहानगरपालिका क्षेत्रभित्रको डम्पिङ साइट व्यवस्थित हुन नसक्दा फैलिएको दुर्गन्धका कारण वरपरको वातावरणीय प्रदूषण बढ्नुको साथै जनस्वास्थ्यमा नकारात्मक असर परेको छ । हेटौंडा बजार क्षेत्र नजीक डम्पिङ साइट रहेकाले बजारको सौन्दर्यमा समेत असर परेको व्यापक गुनासो पाइएको छ ।

वन विज्ञान अध्ययन संस्थानको पश्चिम तथा उत्तरपट्टीको वन क्षेत्र र राप्ती खोला नजिकैमा फोहोर राख्ने डम्पिङ साइटका कारण राप्ती खोला तथा आसपासका बस्ती समेतमा समस्या भएको स्थानीयवासीको गुनासो रहेको छ । डम्पिङ साइटमा पटकपटक हुने आगलागीबाट उत्पन्न वायु प्रदूषणले स्थानीयवासी थप मारमा परेका छन् ।

बजारभित्रका घर, होटल, पसल तथा उद्योग व्यवसायबाट फोहोर सङ्कलन गरी थुपारिएको ठाउँमा आगलागी हुँदा बजार क्षेत्रसम्म दुर्गन्ध फैलिने गरेको छ । डम्पिङ साइटबाट निस्कने फोहोरको दुर्गन्ध तथा प्रदूषणले उपमहानगरपालिका–११ स्थित सिमलटारको एक हजार ५०० घरधुरीलाई प्रत्यक्ष असर परेको बताइएको छ । सिमलटार टोल विकास संस्थाका अध्यक्ष मधुकुमार थापा मगरले त्यहाँबाट डम्पिङ साइट हटाएर बस्तीभन्दा टाढा लैजानु पर्ने बताउछन् ।

त्यसैगरी पटकपटक डम्पिङ साइटमा हुने आगलागीबाट निस्कने प्रदूषणले न्यूरेनी, सिमलटार, चाइना क्वाटर, डागङ्डुगे, थानाभञ्याङ नयाँबस्ती १४ घरे, कर्रा, भूटनदेवी मन्दिर टोल, वन क्याम्पसलगायतका क्षेत्रमा प्रत्यक्ष असर परेको जनगुनासो रहेको छ । साथै आगलागीले गर्दा त्यहाँका बस्ती नै जोखिममा रहेको बताइएको छ । डम्पिङ साइट बजार एवं बस्ती नजिकै भएकाले त्यसलाई अन्यत्र सानुपर्ने न्यूरेनीका समाजसेवी रामप्रसाद भण्डारीको भनाइ रहेको छ ।

यसैगरी भुटनदेवी मन्दिर टोल विकास संस्थाका स्थानीयवासी सविन माक्तानले डम्पिङ साइटलाई व्यवस्थित गरेर तारबार गर्नुपर्ने बताए । फोहोरमा हुने आगलागीलाई नियन्त्रण नगरेमा त्यहाँबाट निस्कने प्रदूषणले बालबालिका तथा वृद्धवृद्धाको श्वासप्रश्वास र स्वास्थ्यमा असर पर्ने उनको भनाइ छ । शहरीकरण, बढ्दो जनसङ्ख्या र बसाइँसराइले गर्दा उपमहानरपालिकाबाट उत्पादित फोहोरको परिणाम दिन प्रतिदिन बढ्दै गएको छ ।

केही दिनअघि डम्पिङ साइटमा तीन दिनसम्म आगलागी हुँदा हेटौँडा उपमहागनगर पालिकाको दमकले आगो नियन्त्रण गर्नु परेको थियो । प्रदूषित धुवाँ र गन्ध आउने कारणले कोठा थुनेर बस्दा समेत घरमा बस्ने अवस्था थिएन । यो समस्या पटकपटक आइरहेको हेटौंडाका बासिन्दाको गुनासो छ भने हेटौँडा उपमहानगरपालिकालाई पनि फोहोरको दिगो व्यवस्थापन कसरी गर्ने चिन्ताले सताएको छ ।

वन विज्ञान अध्ययन संस्थानको १५८ बिघा जमीनमा कार्यालय भवन सङ्ग्रहालय, खेल मैदान, होस्टल र क्वाटर तथा अन्य भागमा वन जङ्गल रहेको छ । हाल त्यसको पछाडिपट्टी वन क्षेत्रमा डम्पिङसाइट अर्थात हेटौंडाको फोहोर फाल्ने गरिएको छ । त्यो डम्पिङसाइटसँगै राप्ती खोला बगेको छ ।

डम्पिङ साइटमा राख्ने फोहोर पानी, सडेगलेका अन्नपात, लुगा कपडा, प्लाष्टिक र अन्य मरेर सडेगलेका जीवजन्तुको हाडखोरलगायत अन्य प्रदूषित सामग्रीले खोलाको अवस्था सङ्कटमा परेको पाइएको छ । होहरले खोलाको पानी पानी प्रदूषित भएको छ । पानीको प्रदूषणले कृषिबाली, खानेपानी तथा नुहाउनेलगायतको काममा समस्या भएको छ । प्रदूषणलाई नियन्त्रण गर्न डम्पिङ साइटलाई खोलाभन्दा टाढा लैजानुपर्ने स्थानीयवासी हरिप्रसाद रिजालले बताए । तत्कालै सार्ने पर्ने अवस्था नभए त्यसलाई व्यवस्थित गर्नु पर्ने उनको भनाइ छ ।

यता जिल्ला वन कार्यालय मकवानपुरका प्रमुख इमनाथ पौडेल डम्पिङ साइटबाट आएको दुर्गन्धित फोहोर तथा दूषित पानीबाट राप्ती खोलालाई जोगाउनु पर्ने बताउछन् । खोलाबाट हुने गिटी बालुवाको उत्खनन रोक्नुपर्ने आवश्यकता रहेको रिजालको भनाइ छ । गैरकानूनी रुपमा गिटी बालुवाको ढुवानी गर्ने व्यक्ति तथा संस्थालाई जरिवाना गरेर छोड्ने प्रवृत्तिले अवैध काम नरोकिएको प्रमुख पौडेल भन्छन् ।

वन विज्ञान अध्ययन संस्थानको जङ्गलभित्र रहेका मृग र चित्तल डम्पिङ साइटमा जाँदा छाडा तथा भुस्या कुकुरले मार्ने गरेको संस्थानका प्रमुख विजय यादवले जानकारी दिए । एकहप्ता अगाडि दुई वटा चित्तललाई कुकुरले मारेको बताए । डम्पिङ साइटमा भुस्या कुकुर धेरै रहेको, चित्तल देख्नासाथ आक्रमण गर्ने गरेको उनको भनाइ छ । विगतमा सो अध्ययन संस्थानको वनमा १५० भन्दा बढी मृग तथा चित्तल रहेको थियो । असुरक्षाको कारण त्यसको सङ्ख्या घटदै गएको प्रमुख यादवले बताए ।

विसं २०२४ मा भारत सरकारबाट निर्माण गरिएको सो अध्ययन संस्थानको भौतिक पूर्वाधारको मर्मतसम्भारको अभावका कारण पर्खाल भत्केको र ठाउँठाउँमा तारबार टुटेको छ । अतिक्रमणले वन जङ्गलको क्षेत्र घटदै गएको र अनधिकृत व्यक्तिको प्रवेशले चित्तल, मृगजस्ता वन्यजन्तु मारिने समस्या बढेको छ ।

डम्पिङ साइट र मृग तथा चित्तल मारिएको सम्बन्धमा प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले आवश्यक जानकारी लिएको प्रमुख यादवले जानकारी दिए । डम्पिङ साइटका कुकुरको हुल त्यहाँ वन अध्ययन संस्थानको हाताभित्र आउने गरेको बताइएको छ । उपमहानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत नवीन घिमिरेले सङ्कलित फोहोर फाल्ने अर्थात डम्पिङ साइटको उचित व्यवस्थापन आवश्यक रहेको बताए ।

हाल हप्ताको दुई पटक प्रत्येक वडा र टोलबाट उपमहानगरपालिकाले फोहोर सङ्कलन गर्ने गरेको छ । मघेश आन्दोलन पश्चात् खासगरी बारा, पर्सा, रौतहट, सर्लाही, धनुषा र महोतरी जिल्लाका धेरै मानिस हेटौँडामा बसाइँसराइ आएका छन् । अहिले यहाँ वाग्मती प्रदेशको राजधानी समेत घोषणा भई कार्यान्वयन भइसकेको र शिक्षा, स्वास्थ्य र रोजगारीका लागि राम्रो भएकाले जनसङ्ख्या वृद्धि स्वभाविक रहेको वडाध्यक्ष नवीन सिग्देल बताउछन् ।

हेटौँडा औद्यौगिक व्यवस्थापन क्षेत्रमा रहेको १११ उद्योग, सरकारी स्वामित्वको हेटौँडा सिमेन्ट उद्योग, रिद्धिसिद्धी सिमेन्ट उद्योग, शिवम् सिमेन्ट उद्योग र एशिएन पेन्टस्लगायतका उद्योग र कलकारखानाले रोजगारी तथा जनसङ्ख्या बढेको छ । रोजगारीका लागि भारतबाट समेत मजदूर आउने गरेको छन् । यस सबैलाई ध्यानमा राखी उपमहानगरपालिकाका प्रमुख हरिबहादुर महतले उपमहानगरलाई प्रदूषणमुक्त तथा हराभरा बनाउने अभियानअन्तर्गत विभिन्न कार्यक्रम भइरहेको जानकारी दिए । हेटौंडालाई प्लास्टिकमुक्त क्षेत्र घोषण गरिएअनुरुप कालो प्लास्टिक प्रयोग तथा बिक्री बन्द भई सेतो प्लास्टिक प्रयोगमा ल्याइएको छ ।रासस

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *