१७ वर्षपछि हिउँदमा बग्यो लिच्छविकालीन राजकुलो

१७ वर्षपछि हिउँदमा बग्यो लिच्छविकालीन राजकुलो

काठमाडौं । ललितपुर महानगरपालिभित्रका ६७ वटा ढुंगेधारामध्ये अहिले मुस्किलले १५ वटा जतिमा पानी आउँछ । पानी आउने धारामा पनि मुस्किलले ६ महिनामात्रै पानी खस्छन् ।

अधिकांश पोखरी पनि सुकेका छन् । ढुंगेधारा र पोखरीहरु सुकेसँगै अतिक्रमणको चपेटामा परेका छन् । पानी सोस्ने खुला जमिनको अभावमा इनारहरू सुक्ने अवस्थामा पुगेका छन् । यसको समाधान के होला ?

महानगरपालिकाले ढुंगेधारामा पानी झार्ने योजना अनुरूप चालु आर्थिक वर्षमा ७२ लाख रुपैयाँ बजेट विनियोजन गर्‍यो । ढुंगेधारामा पानी झरेसँगै धेरै अमूर्त सांस्कृतिक सम्पदाले पूर्णता पाउने महानगरपालिकाको विश्वास छ तर कसरी ?

मेयर चिरिबाबु महर्जन ११ वटा धारामा पानी झार्ने प्रयास भइरहेको बताउँछन् । उनका अनुसार, चालु आर्थिक वर्षभित्र पहिलो चरणमा तीन वटा र दोस्रो चरणमा आठ गरी कुल ११ वटा ढुंगेधारामा पानी ल्याउने लक्ष्यसहित प्रयागलाल जोशीको टिमले काम गरिरहेको छ । जोशी काठमाडौं उपत्यकाको प्राचीन ढुंगेधारासम्बन्धी विज्ञ हुन् ।

गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जन ललितपुरको टीकाभैरव १ नं राजकुलोको पानी लगनखेलको सैनिक ब्यारेक छेउको पोखरीमा खसाले पाटन क्षेत्रका ढुंगेधारामा बाह्रै महिना पानी आउने दाबी गर्छन् ।

ढोलाहिटीबाट नखिपोटपट्टि जाने राजकुलो अवरुद्ध भएर खुमलटारतिर गएकोले पाटनको अधिकांश धारामा अहिले पानी नझरेको उनी बताउँछन् । सो राजकुलो ढोलाहिटीसम्म मर्मत पनि गरिएको छ ।

राजकुला मर्मतको योजना

२०७३ सालमा स्थानीय तहको चुनावी माहोल सुरु भइरहेको थियो । अरूले विकास र समृद्धिको नारा लिएर चुनावमा होमिँदै थिए । नगरलाई आधुनिकीकरण गर्नेदेखि प्रविधिको विकास जस्ता मुद्दामा सबै केन्द्रित थिए । त्यही बीचमा महर्जनको एउटा फरक एजेण्डा थियो टीकाभैरव १ नं राजकुलोमा पानी ल्याउने ।

गोदावरी नगरपालिकामा रहेका ३० वटा पोखरीमध्ये झण्डै एक चौथाइ पोखरी सुकिसकेका थिए । सुकेसँगै सरकारी पोखरीप्रति अतिक्रमणकारीहरूको आँखा पनि लागिसकेको थियो । ढुंगेधारामा पानी आउन कम भइरहेको थियो भने ६० हजार हेक्टरमा सिँचाइ सुविधा दिने राजकुलो नहुँदा किसानहरुलाई समेत सिँचाइको असुविधा बढिरहेको थियो । त्यसैलाई पुनर्जीवन दिनको लागि उनले यो एजेण्डा चुनावमा प्रस्तुत गरेको अनलाइनखबरलाई बताए ।

महर्जनले चुनाव जिते, नगरप्रमुख भइसकेपछि उनले सबैभन्दा पहिले आफ्नो पूर्वयोजना अनुरूप राजकुलो सञ्चालनमा ल्याउनको लागि ३० लाख रुपैयाँ बजेट छुट्याए । ‘म किसानको छोरो, मेरो पहिलो प्राथमिकतामा यो कुलो ब्युँताउनु थियो जुन आज सफल भएको छ’ गजेन्द्र भन्छन् ‘यो गोदावरी नगरपालिकाको मात्रै नभएर ललितपुर महानगरको समेत चासोको राजकुलो हो, हामीले आफ्नोतर्फबाट काम सम्पन्न गर्‍यौं, पाटनको ढुंगेधारामा पानी झार्ने हो भने अब महानगरपालिकाले चासो दिनुपर्छ ।’

नगरपालिकाले राजकुलो सफा गर्नको लागि पछिल्लो ३ वर्ष ३०/३० लाखको दरमा बजेट विनियोजन गरेको छ । यसमा अहिले वाग्मती प्रदेश र ललितपुर महानगरपालिकाले समेत चासो देखाउन थालेको छ । नगरपालिकाले यसको हेरचाह र सरसफाइकोे लागि ८ जना ढलपा नियुक्त गरिसकेको छ । जबकि सिँचाइ मन्त्रालयले ढलपाको दरबन्दी काटेर मन्त्रालयमा कर्मचारी तानेसँगै यो राजकुलोमा दुर्गतिको शृंखला सुरु भएको थियो ।

यो साल १७ वर्षपछि टीकाभैरव १ नं राजकुलोमा हिउँदमा पनि पानी बगेको देख्न पाइएको ललितपुर ठेचोका मचाकाजी महर्जन बताउँछन् । ‘२०६०÷६१ सालतिरसम्म हिउँदमा पनि यो कुलोमा पानी आउने गथ्र्याे । सफा गर्ने मान्छे कोही भएनन् ।’ महर्जन भन्छन् ‘बिस्तारै बर्खामा ढलसँगै बालुवा र गेगर आउन थाल्यो, कुलो भरिँदै गयो र पानी सुक्दै भयो । अहिले पुरानो राजकुलो ब्युँतिएकोमा खुसी लागेको छ ।’

यकिन प्रमाण नपाइए पनि यो राजकुलो लिच्छवि राजा जयदेव द्वितीयको पालामा बनेको विश्वास गरिन्छ । यो राजकुलो पहिले चापागाउँसम्मको मात्रै थियो । मल्लकालमा चापागाउँबाट पाटनसम्म ल्याइएको विश्वास गरिन्छ । तर मल्लकालमा कसैले सिद्धीनरसिंह मल्लको समयमा राजकुलो विस्तार गरिएको भन्छन् भने कसैले यक्षमल्लको निधनसँगै राज्य विभाजित भएपछि तत्कालीन राजाले यसको विस्तार गरेको बताउँछन् । स्थानीय किंवदन्ती अनुसार भक्तपुरका राजाले तान्त्रिक विधिबाट ललितपुरका सबै मुहानहरू सुकाइदिएपछि ललितपुरवासीलाई पानी पिलाउनकै लागि चापागाउँसम्म आइपुगेको राजकुलो पाटनसम्म विस्तार गरिएको भन्ने छ ।

राजकुलोलाई अहिलेको अवस्थामा ल्याउनको लागि चरणबद्ध कामहरु भए । अहिले राजकुलो २०२२ सालतिर भएको पुनर्निर्माणको अवस्थामा पुगेको छ । हाल गठन गरिएको उपभोक्ता समितिले गत जेठमा राजकुलो सफा गर्‍यो । एक महिनामा साढे ९ किलोमिटर राजकुलो सफा गर्नको लागि ७०० जनाले श्रमदान गरे भने पारिश्रमिक लिएर ४ हजारभन्दा बढीले सो राजकुलोमा काम गरेको नगरपालिकाका प्रवक्ता मिलन सिलवालले जानकारी दिए।

अहिले लेलेदेखि सुनाकोठीसम्मको राजकुलो निर्माण गर्ने जिम्मा स्थानीय श्यामबहादुर महर्जनको नेतृत्वमा रहेको उपभोक्ता समितिलाई दिएको छ । सो समितिले राजकुलोलाई प्राचीन स्वरूपमा ढाल्ने भन्दै बीचमा राखिएका सबै ह्युम पाइप हटाउन लगाएको छ ।

राजकुलोको विगत

टीकाभैरव १ नं राजकुलो पटकपटक सबै शासकहरुद्वारा पुनर्निर्मित हुँदै आइरहेको पाइन्छ । पछिल्लो पटक २०२२ सालतिर गरिएको पुनर्निर्माणको क्रममा प्रयोग भएका इँटा अहिले पनि सुरक्षित रहेको उपभोक्ता समितिका संयोजक महर्जन बताउँछन् ।

सोही समयपछि राजकुलोको हेरचाह गर्नको लागि ढलपाहरुको व्यवस्था गर्न थालियो । २०४७ सालमा ढलपाको दरबन्दी खारेज गर्ने बेलासम्ममा २२ जना ढलपाले सो कुलोको हेरचाह गर्ने गरेका थिए । तर वि.सं. २०४७ सालमा प्रजातन्त्र पुनस्र्थापनापछि सिँचाइ मन्त्रालयले सबै राजकुलोमा खटिएका ढलपाहरुलाई मन्त्रालयमा तान्ने र सो दरबन्दी खारेज गर्ने निर्णय ग¥यो । जुन निर्णयसँगै सुरु भयो देशभरिका राजकुलोको दुर्गति ।

त्यही कमजोरीबाट पाठ सिकेर नगरपालिकाले राजकुलो पुनर्सञ्चालनसँगै यसको सम्भावित असर कम गर्नका लागि ८ जना ढलपाको दरबन्दी सिर्जना गरिएको नगरप्रमुख महर्जन बताएँछन् ।

राजकुलो निर्माणसम्बन्धी किंवदन्ती पनि रोचक खालको छ । हालको चापागाउँ क्षेत्रमा केराउको खेती गर्ने बालिचा नाम गरेका किसानकी बालामै नाम गरेकी छोरी थिइन् । छोरी अत्यन्तै राम्री थिइन् । एक दिन केराउ बारीमा पानी लगाउन भनेर पठाएकी बालामै समयमा घर फर्किनन् । हराएकी छोरी खोज्न गएका बालिचालाई इट्टाटी गाउँका नगरकोटी थरका एक व्यक्तिले बालामैलाई राक्षसले लिएर टीका भैरव क्षेत्रतिर लैजाँदै गरेको बताए । बालिचा छोरी खोज्दै खोज्दै राक्षसको बसोबास रहेको क्षेत्रतिर पुगे । छोरीको अपहरण गरेर लगेको राक्षसले त्यति राम्री छोरी नफर्काउने बरु त्यसको बदलामा जे मागे पनि दिने भनेपछि बालिचाले पानीको अभाव रहेकोले पानी दिन भने । सोही समयदेखि टीकाभैरवबाट चापागाउँसम्म पानी ल्याउन थालिएको भन्ने स्थानीय किंवदन्ती रहेको उपभोक्ता समितिका अध्यक्ष समेत रहेका ६५ वर्षीय श्यामबहादुर महर्जन बताउँछन् ।

अर्को किंवदन्ती अनुसार बालिचा टीकाभैरवका भक्त थिए । उनी नियमित टीका भैरवको पूजा गर्न जान्थे । एकदिन पूजाबाट खुसी भएर टीकाभैरवले बालिचालाई ‘पछाडि नहेरी कोदालो घिसारेर लानू, पानी आउँछ’ भन्ने वरदान दिए । बालिचाले टीका भैरवको निर्देशन अनुसार आफ्नो घर पुग्दा साँच्चिकै त्यहाँसम्म पानी आएको थियो । त्यो नै पछि राजकुलो बन्यो भन्ने पनि अर्को किंवदन्ती पनि छ ।

यी किंवदन्तीले राजकुलोको सुरुवातसम्बन्धी अपुष्ट इतिहास बताउँछ । समयको हिसाबले उत्तर लिच्छविकालीन राजा जयदेव द्वितीयको पालामा टीकाभैरव १ नं राजकुलोको निर्माण भएको भन्ने मत बढी विश्वासिलो मानिन्छ । लेलेदेखि चापागाउँ (लिच्छविकालीन बस्ती लेम्बवटी द्रङ्गदेखि स्थरुद्रङ्ग) सम्म यो राजकुलो निर्माण गरेको कुरा त्रिभुवन विश्वविद्यालय नेपाली इतिहास संस्कृति तथा पुरातत्व केन्द्रीय विभागकी अध्यापिका डा. सध्या पराजुली खनाल पराजुलीले आफ्नो आलेख ‘काठमाडौं उपत्यकाको ऐतिहासिक राजकुलो’ मा उल्लेख गरेकी छिन् । पछि मल्लकालमा पाटनका राजा सिद्धिनरसिंह मल्लले चापागाउँदेखि लगनखेलसम्म विस्तार गरेको देखिएको छ ।

पूर्वमध्यकालीन समयमा काठमाडौं उपत्यकामा धेरै राजकुलोहरुको विकास भए । कीर्तिपुरका बासिन्दालाई सिँचाइदेखि अन्य उपभोगको लागि पानीको अभाव थियो । सबै कीर्तिपुरेहरु बल्खु खोलामा निर्भर थिए । ने.सं. २१९ (सन् १०९८) मा तत्कालीन राजाले कीर्तिपुरमा वलवलदेवीको तपस्या गरी बल्खु खोलामा बाँध बाधी कुलो निर्माण गरेको कुरा गोपालराज वंशावलीमा उल्लेख छ ।

उबेलाको ६० हजार हेक्टर सिँचाइ गर्ने कुलो

टीकाभैरव एक नम्बर राजकुलो काठमाडौं उपत्यकामा रहेका राजकुलोहरूमध्ये सम्भवतः सबैभन्दा लामो राजकुलो हो भन्ने अनुमान गर्छन् सोही राजकुलोबाट सिँचित भूभागका बासिन्दा । नगरप्रमुख महर्जनका अनुसार पहिले यो कुलोबाट ६० हजार हेक्टर क्षेत्रमा सिँचाइ हुने गरेको थियो । अहिले त्यसको आधा पनि जमिन खेतीयोग्य छैन होला । तर पनि मान्छेलाई पिउने पानीको स्रोत मानिएको ढुंगेधारा इनार आदिमा पानी ल्याउनको लागि समेत राजकुलो पुनर्निर्माण गर्नु आवश्यक रहेको गोदावरी नगरपालिकाले जनाएको छ ।

प्राचीनकालमै टीका भैरवद्वारा लेलेदेखि चापागाउँसम्म निर्माण गरेको विश्वास गरिएको राजकुलोसँगै कीर्तिपुरका पूर्वमध्यकालीन राजा शिवदेवले निर्माण गरेका, राजा प्रताप मल्लले शिवपुरीबाट हनुमानढोका दरबारसम्म ल्याएका, राजा सिद्धिनरसिंह मल्लद्वारा चापागाउँदेखि लगनखेलसम्म विस्तार गरेका तथा भक्तपुरमा राजा जितामित्र मल्लले महादेव पोखरीदेखि भक्तपुर दरबारसम्म निर्माण गरेका राजकुलोहरू प्रमुख थिए । तर यी राजकुलोमध्ये पनि सबैभन्दा लामो राजकुलो यही टीकाभैरव एक नं राजकुलो हो भन्ने स्थानीयको विश्वास छ ।

ढुंगेधारा : किराँतकालदेखि नै प्रचलनमा थियो ?

यस्ता कुलोहरु, पानीपोखरी, भूमिगत जलाधारमा सङ्कलन गरी आन्तरिक रूपमा माटाका डुँडको सहायताले बस्ती बस्तीमा पानी पु्याइ ढुङ्गेधारा निर्माण गर्ने प्रविधिको विकास पनि किराँतकालमै भइसकेको विभिन्न अभिलेखीय प्रमाणहरुले संकेत गरेको छ । किराँतपछि भारतको समथल भूभाग वैशालीबाट नेपाल आई शासन गर्ने लिच्छविहरू नहर वा कुलो निर्माणमा पोख्त थिए ।

पराजुलीका अनुसार लिच्छविकालमा यहाँका शासकहरूले कयौं राजकुलो निर्माण गरे । राजा वसन्तदेवको सं ४२८ (सन् ५०६) थानकोटको अभिलेखमा पानीय मार्गको उल्लेख गरेका छन् । उक्त पानीय मार्गले कुलोलाई सम्बोधन गरेको धनबज्र बज्राचार्यको मत छ । लिच्छविकालीन अभिलेखहरूमा तिलमक शब्दको उल्लेख भएको छ । लिच्छविकालीन अभिलेखहरूमा कुल्या, कुलो वा पानीय मार्ग आदि शब्दको प्रयोग नगरी तिलमक प्रयोग गर्नुले उक्त शब्द किराँतकालमा नै प्रचलित भइसकेको बुझिन्छ । शिवदेव, अंशुबर्माको टोखाको अभिलेखमा चिशिमंण्डा, मेकण्डीदुल तिलमकहरूको वर्णन पाइन्छ, जुन किराँत परिवारकै भाषाका शब्दावली रहेको धनवज्र वज्राचार्यको भनाइ छ ।

यो समाचार अनलाईन खबर डट कमबाट साभार गरिएको हो । यो खबर अनलाईन खबरमा पढनको लागि, कृपया तलको लिंकमा क्लिक गर्नुहोला । धन्यवाद ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *