४ महिनामा गौतमबुद्ध क्रिकेट रंगशालाको ११ प्रतिशत काम
चितवन। चितवनको भरतपुरस्थित गौतमवुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामा निर्माण सम्झौता भएको ४ महिनामा ११ प्रतिशत काम सकिएको छ । झण्डै ३ बर्षसम्म रोकिएको रंगशालाको काम अगाडि बढाउन हिमालयन कालीञ्चोक बीबीआर जेभीसँग गत असार २३ गते सम्झौता भएको थियो ।
साउनको तेस्रो हप्ताबाट निर्माण थालेकामा हालसम्म ११ प्रतिशत काम सकेको निर्माण कम्पनीका साइट इन्चार्ज विजय ढकालले जानकारी दिए । उनका अनुसार रंगशालाको भीआईपी प्यारापिट टावर बनाउने काम सुरु गरिएको छ । साढे दुई तलाको हुने दुईवटा भीआईपी टावरको जमिन ढलान तथा पिलर उठाउने काम सकिएको छ ।
दशैं र तिहारका बेला पनि थोरै जनशक्ति राखेर काम गरिरहेको उनले बताए । छठमा धेरै जसो कामदारहरु घर गएकाले काम सुस्त छ । छठलगत्तै दुई सिफ्टमा काम गरेर दुई प्यारापिटमा अलग अलग काम हुने ढकालले जानकारी दिए ।
‘साउनको तेस्रो हप्ताबाट मात्रै भौतिक पूर्वाधारको काम थालिएको हो, बीचमा बर्खाले पनि डिस्टर्ब गर्यो, त्यसपछि चाडबाडहरु आए’, उनले भने, ‘अब छठ पछि कामले गति लिन्छ ।’
ठेक्का सम्झौतापछि प्यारापिटतर्फको चार वटा स्ट्याण्डमा सोलिङ गरेर पीसीसी ढलान सकिएको छ । अब प्यारापिटका कामहरूसँगै मैदानको समेत काम अगाडि बढ्ने उनले जानकारी दिए । पुल्चोक इन्जिनियर कलेजका प्राविधिकहरूले बनेर अलपत्र बनेका पिलर तथा रडहरुको परीक्षण हालै सकेका छन् ।
अब प्यारापिट थप गर्दा रडमा लागेको खियाको उपचार गरेर मात्रै थप रडहरु जडान गरिने ढकालले बताए । नयाँ ठेक्कामा भीआईपी टावर पूरा गर्ने, मैदान र प्यारापिटकोसमेत काम गर्ने उल्लेख छ । दुई वटा भीआईपी टावरमा भीआईपी पाहुनासहित प्लेयर बक्स, अफिसियल बक्स, कर्पोरेट बक्सहरु रहनेछन् ।
भरतपुर महानगरपालिका–१५ रामपुरमा बन्न लागेको रंगशालामा १५ हजार दर्शक अट्ने प्यारापिटसहित ५ वटा पिच बनाइँदैछ । महानगरका इन्जिनियर (उपनिर्देशक) सन्तोष आचार्यका अनुसार थप १० हजार क्षमताको प्यारापिटसहित मैदान हिमालयन कालिञ्चोक बीबीआर जेभीले तयार गर्नेछ ।
सुरुमा रंगशाला निर्माण थालेको धुर्मस सुन्तली फाउण्डेसनले ५ हजार जना अट्ने प्यारापिट तयार गरिसकेको छ । प्यारापिटका लागि २८६ पिलर उभ्याइएको छ ।
पानी पर्दा नजम्ने र चाडै नै खेल्न मिल्ने बनाउने प्रविधिको प्रयोग मैदानमा गर्न लागिएको छ । मैदानको भित्री भागमा पाइपहरु राखेर जमेको पानी नालीमा खसाउन मिल्ने गरी डिजाइन गरिएको छ । यो ठेक्का सम्झौतामा रात्रिकालीन खेल खेलाउन मिल्ने फ्लड लाइट हुने छैन भने डिजिटल स्कोरबोर्ड पनि राखिएको छैन ।
यी दुबै कामका लागि अर्को चरणको ठेक्का लगाउने भरतपुर महानगरपालिकाले जनाएको छ । निर्माणस्थलमा सहजीकरणका लागि महानगरपालिकाको एक कार्यालय तथा सुरक्षाकर्मीहरु छन् ।
रंगशाला निर्माणको पहिलो किस्ता (१० प्रतिशत) वापत निर्माण कम्पनीले ६ करोड ८० लाख रकम असार मसान्त अगाडि नै भुक्तानी लिइसकेको छ । ३० महिना भित्र सक्ने गरी निर्माण कम्पनीले भरतपुर महानगरपालिकासँग गत असार २३ गते सम्झौता गरेको थियो । २०८३ पुस २२ गतेसम्म निर्माणको म्याद दिइएको छ ।
रंगशाला निर्माण लागत ७५ करोड ५० लाख ९१ हजार १ सय ८९ रुपैयाँ रहेको महानगरपालिकाका उपनिर्देशक जगन्नाथ अर्यालले जानकारी दिए । महानगरले रंगशाला निर्माणलाई उच्च प्राथमिकतामा राखेको भन्दै उपनिर्देशक अर्यालले तोकेको अवधिभन्दा अगाडि नै रंगशालाको काम सक्ने गरी निर्माण कम्पनीलाई सहजीकरण गरिरहेको बताए ।
रंगशाला निर्माणका लागि चालु आर्थिक वर्ष संघीय सरकारले २५ करोड र भरतपुर महानगरपालिकाले ४ करोड ८० लाख बजेट विनियोजन गरेका छन् । यस्तै, बागमती प्रदेश सरकारले कुल ठेक्का रकमको ७० प्रतिशत रकम व्यहोर्ने निर्णय गरेको छ । रंगशालाका लागि बागमती प्रदेश सरकारले ५२ करोड ५० लाख रकम दिने निर्णय यसअघि गरिसकेको छ ।
धुर्मस सुन्तली फाउण्डेसनले बनाउन सुरु गरेको रंगशाला बजेट अभाव भएको भन्दै २०७८ साउन २२ गतेबाट पूर्ण रुपमा काम रोकिएको थियो ।
त्रिभुवन विश्वविद्यालयको नाममा रहेको तथा कृषि तथा वन विज्ञान विश्वविद्यालयले भोगचलन गरेको २० बिघा १९ कट्ठा जग्गामा धुर्मस सुन्तली फाउण्डेसनले निर्माण थालेको रंगशालाको काम ३९ प्रतिशत सकिएको फाउण्डेसनको दाबी छ ।