६८ करोड लागतमा धनगढीमा बन्दैछन् सात सडक

६८ करोड लागतमा धनगढीमा बन्दैछन् सात सडक

एसियाली विकास बैंकको ऋण सहयोगमा कैलालीको धनगढी उपमहानगरपालिकामा सात वटा अत्याधुनिक सडकको निर्माण कार्य सुरू भएको छ।

बिहीबार धनगढी उपमहानगरपलिकाका मेयर नृपबहादुर वड र उपमेयर सुशीला मिश्र भट्टले वडा नम्बर ४ चटकपुर–क्याम्पस सडकको शिलान्यास गरेका हुन्।

क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत दुई वर्षभित्र योसहित अरू छ वटा सडकको निर्माण सम्पन्न हुने बताइएको छ।

बिनाभ्याट ६८ करोड पाँच लाख ९८ हजार सात सय चार रुपैयाँ लागत लाग्ने यी सडक कालोपत्रेको जिम्मा कालिका कन्स्ट्रक्सनले पाएको छ।

गुल्मदेखि चर्चसम्म २ हजार ७ मिटर, धनगढी चौराहदेखि कैलाली नालासम्म मेनरोडमा ३ हजार ९ सय ९० मिटर र धनगढी क्याम्पसदेखि जाखोरतालसम्म १ हजार ४ सय ५० मिटर कालोपत्रे आधुनिक सडक निर्माण हुनेछ।

यस्तै, क्याम्पसदेखि चटकपुर गेटसम्म ३ हजार ६ सय ५० मिटर, धनगढी खुटिया सडक ८ सय ७० मिटर, मालपोत रोड ४ सय ३० र हसनपुर रोड १ हजार १ सय ५० गरी जम्मा १० हजार १ सय ८७ मिटर सडक कालोपत्रे निर्माण हुने क्षेत्रीय सहरी विकास आयोजनाका उप–व्यवस्थापक इन्जिनियर श्यामचन्द्र बुढाथोकीले जानकारी दिए।

यसमा २० हजार दशमलव चार सय ६६ मिटर नाली निर्माण हुनेछ।

संघीय आयोजना कार्यान्वयन इकाई धनगढीका सूचना अधिकारी समेत रहेका इञ्जिनियर बुढाथोकीले सडक निर्माण कम्पनीले २०७७ साउन १८ गतेदेखि लागू हुनेगरी २०७९ साउन १८ गतेभित्र (दुई वर्ष) मा सम्पन्न गरिसक्नुपर्ने सम्झौता पत्रमा उल्लेख रहेको जानकारी दिए।

यस सडक पूर्वाधारमा सौर्यबत्ती, फुटपाथ, ढल निकास, मिड ड्रेन, साइड ड्रेन, डिभाइडर, सोलार सडक बत्ती, अण्डरग्राउण्ड विद्युतीकरण निर्माण सहितको चार लेन र दुई लेनका सडक निर्माण हुने गरी विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) तयार गरिएको छ।

धनगढी उपमहानगरपालिकाका नगर प्रमुख नृपबहादुर वडले आफ्नै कार्यकालमा सडक निर्माणको काम सक्ने गरी काम अघि बढ्ने दाबी गरे।

‘स्थानीयले साथ दिएका छन्, यस्तै भए निर्माण कम्पनीले तोकिएकै अवधिभन्दा पनि छिटो काम सम्पन्न गर्ने सहमति भएको छ,’ मेयर वडले भने।

पहिलो चरणमा ७ वटा सडक निर्माण सुरू भएसँगै क्षेत्रीय सहरी विकास आयोजना अन्तर्गत धनगढीमा विभिन्न आकारका जम्मा २३ वटा सडक निर्माण हुँदैछन्।

धनगढी उपमहानगरपालिकामा ४३ किलोमिटर सडक विस्तारका लागि सन् २०१५ मा छुट्टयाइएको एक अर्ब ३५ करोड रुपैयाँ बजेट रहेको छ।

एसियाली विकास बैंकको ऋण सहयोगमा धनगढी उपमहानगरपालिका जस्तै सुदूरपश्चिममा नेपाल सरकारले कैलालीकै गोदावरी नगरपालिका र कञ्चनपुरको शुक्लाफाँटा र भीमदत्त नगरपालिकामा ११ अर्ब रुपैयाँको लागत हुने गरी क्षेत्रीय सहरी विकास आयोजना लागू गरेको छ।

Leave a comment

Send a Comment

Your email address will not be published. Required fields are marked *