देउमाई नगरपालिकाका १९८ जना एकल पुरुषले २३ लाख २७ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता पाएका छन् । आर्थिक वर्ष ०८०/८१ मा उनीहरूले उक्त रकम पाएका हुन्। देउमाईले नगरभित्रका ६० वर्ष पुगेका अविवाहित, पत्नीसँग सम्बन्धविच्छेद भई विवाह नगरेका र पत्नीको मृत्यु भई अर्को विवाह नगरेका ६० वर्ष पुगेका पुरुषलाई  एक हजार मासिक भत्ता वितरण गरेको हो । 

देउमाईले आर्थिक वर्ष ०७९/८० मा नगरक्षेत्रका २०७ जना एकल पुरुषलाई  २४ लाख ८४ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता उपलब्ध गराएको थियो । देउमाईले ‘एकल पुरुष भत्ता वितरण सम्बन्ध कार्यविधि’ पारित गरी एकल पुरुषलाई भत्ता वितरण गरेको लेखा अधिकृत गजेन्द्र एक्तेनले जानकारी दिए । 

त्यसैगरी, आव ०८०/८१ मा ४५ वर्ष पुगेका अविवाहित ९१ महिलालाई  १० लाख ८९ हजार रुपैयाँ सामाजिक सुरक्षा भत्ता प्रदान भएको छ । ‘सामाजिक सुरक्षा कार्यक्रम’अन्तर्गत मासिक  एक हजार रुपैयाँका दरले भत्ता प्रदान गरिएको हो । आव ०७९/८० मा देउमाईका ८८ जनाले  १० लाख ५६ हजार रुपैयाँ भत्ता पाएका थिए ।

तेस्रोलिंगीका लागि मासिक  पाँच सय रुपैयाँ भत्ता उपलब्ध गराउने व्यवस्था रहे पनि कोही नआएको लेखा अधिकृत एक्तेनले बताए । आव ०८०/८१ मा ‘ग’ वर्ग अपांगता भएका ९२ जनाले  पाँच लाख ४५ हजार पाँच सय रुपैयाँ भत्ता पाएका छन्। 

यसैबीच, देउमाई नगरपालिकाले चालू आव ०८१/८२ का लागि नगरको तर्फबाट वितरण गर्दै आएको ‘सामाजिक सुरक्षा कार्यक्रम’ स्थगन गरेको छ । ‘सामाजिक सुरक्षा कार्यक्रम’अन्तर्गत वितरण गर्दै आएको एकल पुरुष भत्ता, एकल महिला भत्ता (४५ वर्षमाथि), तेस्रोलिंगी भत्ता, ‘ग’ वर्ग अपांगता भत्ता र ज्येष्ठ नागरिक पोसाक भत्ता वितरण कार्यक्रम स्थगन गरेको हो ।

सामाजिक सुरक्षा भत्ता वितरण नगर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगको निर्देशन र संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको पत्र प्राप्त भएपछि कार्यपालिका बैठकको निर्णयअनुसार अर्को निर्णय नभएसम्मका लागि सामाजिक सुरक्षा कार्यक्रम स्थगन गरिएको नगरप्रमुख पोख्रेलले बताए। देउमाईले सुत्केरी स्याहार, दाहसंस्कार र दीर्घरोगी सहयोग कार्यक्रमलाई भने निरन्तरता दिएको छ । सुत्केरी स्याहार कार्यक्रमअन्तर्गत  पाँच हजार रुपैयाँका दरले दुईपटकसम्म, दाहसंस्कारमा पाँच हजार रुपैयाँ र दीर्घरोगीलाई एकपटक  पाँच हजार रुपैयाँ उपलब्ध गराउँदै आएको छ ।