जलेश्वर नगरपालिका– ८ रमौलनिवासी रोहन राउतकी श्रीमती २१ वर्षीया रिना राउतको मृत्यु प्रकरणमा मृतकको माइती पक्षबाट हत्याको आरोप लगाई प्रहरीमा जाहेरी दिइएको छ। श्रीमान्, सासू, ससुरा र देवर मिलेर छोरीको हत्या गरेको भन्दै आरोपीहरूलाई अनुसन्धानको दायरामा ल्याई हदैसम्मको सजाय दिन भनी माइती पक्षले प्रहरीमा जाहेरी दिएको हो । 

धनुषाको हंसपुर नगरपालिका– ६ सोनगामा माइती भएकी  रिनाकाे गत वैशाख १९ गते जलेश्वर नगरपालिका– ९ रमौलनिवासी वृजमोहन राउतका २४ वर्षीय छोरा रोहन राउतसँग विवाह भएको थियो। बिहेमा दाइजो र अन्य सबै खर्च मिलाएर १५ लाखभन्दा बढी खर्च गरे पनि उनलाई थप दाइजोका लागि पटकपटक मानसिक पीडा दिने गरेको मृतकका मामा भोगेन्द्र रायले बताए ।

दाइजोकै कारण राउत परिवारले भान्जीको ज्यान लिएको उनी दाबी गर्छन्। उनले घाँटीमा रातो दागसमेत देखिएकोमा उक्त दाग र परिवारको बयानले थप आशंकित बनाएको बताए। 

जिल्ला प्रहरी कार्यालय महोत्तरीका एसपी नकुल पोखरेलले पीडित पक्षबाट जाहेरी आएको बताउँदै घटनामा सत्यतथ्य पत्ता लगाउन प्रहरी नचुक्ने बताए । उनले घटनाको विभिन्न पाटोबारे अनुसन्धान भइरहेको बताउँदै पोस्टमार्टम रिपोर्टले अझै कुरा खुल्ने बताए । पीडित पक्षको सल्लाहबमोजिम आजै प्रादेशिक अस्पताल जनकपुरमा समिति बनाएर मृतकको पोस्टमार्टम हुने बताउँदै पोस्टमार्टम रिपोर्टले धेरै तथ्य खुल्ने बताए। 

यद्यपि, मृतकका घर पक्ष राति अचानक टाउको दुखेकोमा उनलाई आराम गर्न सल्लाह दिएको र केही छिनमै शरीर अचेत र चिसो भएपछि तुरुन्त अस्पताल पुर्‍याएको दाबी गर्छन् । अस्पताल पुर्‍याउँदा डाक्टरले मृत घोषणा गरेको परिवारजनको भनाइ छ ।