सम्पादक तथा लेखक रोशन दाहालको अनुसन्धानात्मक पुस्तक बजारमा आएको छ। पुस्तकले बजारमा अहिले चलिरहेका पुस्तकभन्दा नयाँ स्वाद दिने लेखक दाहालको दाबी छ। उनका अनुसार पुस्तकमा समेटिएको विषयवस्तु नेपाली माटोमै जन्मिएको मौलिक ज्ञान हो ।

पुस्तकमा सम्मोहनद्वारा आफ्ना पूर्वजन्महरूमा पुगेर गरिएका अनुभवहरू ‘फिक्सन’ शैलीमा समेटिएको छ। सात हजार मानिसलाई पूर्वजन्म गराइएकामा तीमध्ये पूर्वजन्मको यात्रा गर्न सफल करिब ६ हजारजनाका अनुभवमध्ये केही प्रमुख अनुभव पुस्तकमा उल्लेख गरिएका लेखकको दाबी छ।

लेखकका अनुसार विगत १५ वर्षअघिदेखि मानिसहरूका विविध समस्या समाधान गर्नका निम्ति पूर्वजन्म चिकित्सा गराउँदै आएका लाफ्टर बाबाले करिब सात हजार मानिसलाई पूर्वजन्ममा लगेका थिए। केही मानिसले चाहिँ उनीसँग जीवन र जगतका विषयमा जान्न चाहेर पनि पूर्वजन्मको यात्रा गरेका बताइएको छ। तीमध्ये केही ‘पूर्वजन्म–सत्र’मा लेखक आफैँ पनि बसेर हेरेका थिए। उनैलाई पनि बाबाले सम्मोहन गरेर पूर्वजन्ममा लगेका थिए।

अमूर्त विषय भए पनि आफैँले केही अनुभव गरेपछि र प्रत्यक्ष देखेपछि लेखकले यसलाई पुस्तकको आकार दिएको बताएका छन्। आफैँ प्रत्यक्ष सहभागी भएर लेखेका कारण पुस्तक रोचक बनेको उनी बताउँछन्। जीवनलाई फरक दृष्टिकोणले हेर्नका निम्ति यो पुस्तक एकपटक पढ्नैपर्ने उनको भनाइ छ।

आफ्ना पूर्वजन्महरूमा मृत्यु, मृत्युपछि र जीवनअघिको अवस्था तथा लोकलोकान्तरहरूको रोमाञ्चक यात्रा गरेका मानिसहरूको अनुभव सुन्दा निकै आश्चर्यजनक लाग्छ र संसार रहस्यमयी पनि। पुस्तकमा पूर्वजन्मको अनुभव गरेका मानिसमध्येका केही प्रमुख घटना उल्लेख छन्; जसमा पृथ्वीनारायण शाह, भीमसेन थापालगायत कुनै समयका इटलीका राजाहरूसमेतका प्रसंग उल्लेख छन्। पृथ्वीनारायण शाह अहिले महिलाका रूपमा छन् भन्ने सुन्दा निकै अचम्म लाग्छ।

मेरो जीवन यो रूपमा किन छ? यतिका मान्छेमा यिनै केही निश्चित मान्छे मेरा नातेदार किन भए? जीवन कर्मफल मात्रै हो या अरू पनि केही? जीवनमा किन समस्या आउँछन् र केही समस्याको जति गर्दा पनि किन समाधान हुन सक्दैन? बच्चादेखि नै किन हरेक मानिसको फरकफरक स्वभाव हुन्छ? मान्छेले गर्नुपर्ने चाहिँ के हो? जीवनसँग सम्बन्धित यी र यस्ता अनगिन्ति प्रश्नहरूको उत्तर खोज्ने प्रयास गरेको छ यो पुस्तकले।

पुस्तकको उद्देश्य मानिसहरूलाई पूर्वजन्मप्रति विश्वास दिलाउनु नभई नेपालको मौलिक ज्ञानका बारेमा जानकारी दिनु रहेको लेखकको भनाइ छ। पूर्वजन्ममा रुचि हुने या नहुने दुवै थरी पाठकका निम्ति पुस्तक पठनीय छ।