संखुवासभामा दुई वर्षदेखि फरार प्रतिवादी पक्राउ गरी कारागार पठाइएको छ। हातहतियार खरखजना मुद्दामा फरार प्रतिवादी मंगलबार पक्राउ गरी बुधबार कारागार चलान गरिएको जिल्ला प्रहरी कार्यालय संखुवासभाले जनाएको छ।
पक्राउ पर्नेमा पाँचखपन नगरपालिका– ५ खमारे बस्ने वर्ष ५६ का रामबहादुर राई रहेको जिल्ला प्रहरी कार्यालय संखुवासभाका प्रहरी निरीक्षक रामकुमार लामिछानेले बताए। उनका अनुसार, इलाका प्रहरी कार्यालय वानाबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाको आधारमा घरैमा लुकिछिपी बसेको अवस्था पक्राउ गरेको जनाएको छ ।
जिल्ला प्रहरी कार्यालय संखुवासभाबाट हातहतियार खरखजनासम्बन्धी कसुरमा मुद्दा दर्ता भई जिल्ला अदालत चैनपुरले २४ असार ०७९ मा फैसला आदेशले एक वर्ष ६ महिना कैद र १५ हजार जरिवाना तोकेको थियो, तर त्यसपछि उनी फरार रहेका थिए ।
निज प्रतिवादी राईलाई कैद भुक्तानका लागि बुधबार जिल्ला कारागार कार्यालय संखुवासभा पठाएको प्रहरीले जनाएको छ ।