राजधानी छिर्ने र बाहिरिने मुख्य सडक नारायणगढ–मुग्लिन सडक खण्डमा निर्माणधीन बाँकी दुई पुल कात्तिकसम्ममा सक्ने लक्ष्य लिइएको छ ।
नारायणगढ–मुग्लिन सडक खण्ड अन्तर्गत काली र नाम्सी खोलाको बन्दै गरेका २ पुल दशैंसम्ममा निर्माण सकेर पुल सञ्चालनमा ल्याउने लक्ष्यका साथ काम भइरहेको र ती दुई पुलको कालोपत्रको काम मात्र बाँकी रहेको सम्बन्धितआयोजनाका इन्जिनियर कृष्ण आचार्यले बताए ।
सो सडक खण्डमा रहेका १९ पुलमध्ये चार निर्माणाधीन रहेका छन् । बाँकी दुई तुइन र खहरे खोलाको पुलको पहुँच सडक तथा कालोपत्रको काम बाँकी छ । आचार्यका अनुसार यी दुई पुल कात्तिक मसान्तसम्ममा सम्पन्न गर्ने लक्ष्य लिइएको छ ।
विश्व बैंकको सहयोगमा अनक कन्सट्रक्सनको जिम्मामा यस सडक खण्डमा रहेका १९ पुलमध्ये विसं २०७६ चैत १० गते १५ पुल निर्माणका लागि ठेक्का सम्झौता भएको थियो । यसअघि चार नयाँ पुल निर्माण गरिएको थियो । चार पुल सन् २०२० मा निर्माण गरिएको थियो । पन्ध्र पुलको लागत रु एक अर्ब २८ करोड रहेको छ ।
सडक नौदेखि ११ मिटरसम्म फराकिलो बनाइएपछी पुलको काम थालिएको हो । पुलको बीचमा सात दशमलव पाँच मिटर गाडी गुड्ने भाग रहेको छ भने दुवै पट्टी ठाउँअनुसार एक दशमलव पाँच मिटरसम्म फराकिलो पैदल मार्ग बनाइएको छ ।
विगतका वर्षमा पहिरोका कारण वर्षायाममा धेरै सास्ती व्यहोर्नुपर्ने भए पनि पछिल्लो समय सडक र पुल फराकिलो भएसँगै केही सहज हुँदै आएको छ ।