काष्ठमण्डप कन्ट्रक्सनले निर्माण सम्पन्न गरयो कोरला नाका जोड्ने चराङ खोला पुल
जोमसोम : कालिगण्डकी करिडोर (बेनी-जोमसोम-कोरला) सडक आयोजना अन्तर्गत मुस्ताङको उत्तरी कोरला नाका जोड्ने निर्माणाधीन चराङ खोला पक्की पुल सोमबारदेखि सञ्चालनमा आएको छ।
उपल्लो मुस्ताङको कोरला पहुँच मार्ग सडकअन्तर्गत चराङ खोलामा निर्माण सम्पन्न भएको पुलको स्थानीय गुम्बाका लामाहरूले बौद्ध धार्मिक परम्परा अनुसार पूजापाठ गरी पुल माथि सवारी साधन सञ्चालनमा ल्याइएको हो। चराङ खोला पुलको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल बिष्टले रिवन काटेर उद्घाटन गरे।
उक्त पुल २०७५ साल असार २९ गते काष्ठमण्डप कन्ट्रक्सन प्रालिले १० करोड १८ लाख लागतमा ठेक्का सम्झौता गरेको थियो। दुई स्पानको ८० मिटर लामो चराङ खोला पुलको सुरुवाती ठेक्का सम्झौता अनुसार २०७७ पुस ९ गते सकिनु पर्ने थियो। तर पुल ६ वर्षमा सम्पन्न भएको हो।
चराङ खोला पुल निर्माणका क्रममा निर्माण कम्पनीले भौगोलिक विषमता, प्रतिकूल मौसम, हिमपात र अत्यधिक चिसोले निर्माणको काममा बाधा परेको उल्लेख गर्दै पुलको म्याद ५ पटकसम्म थप गरिएको थियो। आयोजनाका सूचना अधिकारी विष्णु चापागाईंले कोरला नाका जोड्ने चराङ खोला पुल सोमबारदेखि सञ्चालनमा आएको जानकारी दिए।