
प्रतिनिधिसभा सदस्य एवं पूर्व कृषिमन्त्री घनश्याम भुसाल नेकपा एमालेका वैचारिक नेता हुन् भन्नेमा कसैको विवाद छैन । तर, पछिल्लो समय भुसालले लिएको राजनीतिक अडानका सम्बन्धमा भने उनी बहसमा तानिँदै आएका छन् ।
माधव नेपाल समूहमा रहेर पनि भुसालले माधव नेपालकै भनाइ नमानेको, देउवालाई प्रधानमन्त्री बनाउन अदालतमा हस्ताक्षर बुझाएर विश्वासको मत दिने बेलामा तटस्थ बसेको, बाहिर–बाहिर ओलीको विरोध गरेर भित्रचाहिँ ओलीसँगै मिल्नुपर्छ भन्ने गरेको जस्ता आरोपहरूको सामना भुसालले एमालेभित्रैबाट गरिरहेका छन् ।
ओली पक्षका ‘हार्डलाइनर’हरुले भुसाललाई एकताविरोधी करार गर्न खोजिरहेका छन् भने माधव पक्षका ‘हार्डलाइनर’ले चाहिँ उनलाई ओलीपरस्त देखाउने प्रयास गरिरहेका छन् ।
आखिर, एमालेभित्रको विवादमा दोस्रो पुस्ताका नेता भुसालको ‘पोजिसन’ कहाँनेर छ ? उनले देउवालाई किन विश्वासको मत दिएनन् ? ओलीसँगै मिल्नुपर्छ भन्ने भुसालको लाइन हो कि विभाजनसम्म माधव नेपालसँगै जानुपर्छ भन्ने हो ? यिनै प्रश्नमा केन्द्रित रहेर रातोपाटीले एमाले नेता भुसालसँग अन्तरंग कुराकानी गरेको छ । यसक्रममा हामीले भुसालसँग अब नेकपा एमालेको भविष्य के हुन्छ र देउवाले नेतृत्व गरेको सरकारप्रति उनको विश्लेषण के छ भन्ने प्रश्नसमेत गरेका छौं ।
अन्तरवार्ताका क्रममा नेता भुसालले एमालेभित्रको अहिलेको संकटलाई ‘एमाले भर्सेस ओली’बीचको अन्तरविरोधका रुपमा संश्लेषण गरे । ओलीले संसद विघटन गरेवापत आत्मालोचना गरेको खण्डमा आफूले पनि देउवाको पक्षमा हस्ताक्षर गरेवापत आत्मालोचना गर्ने उनले बताए ।
एमाले अध्यक्ष ओलीले कुनै दिन पश्चाताप गर्नैपर्ने र पार्टीमा आत्मसमर्पण गर्नुपर्ने भुसालको भनाइ छ । आफूहरुले ओलीविनाको एमाले कल्पना नगरेको बताउँदै उनले माधव नेपालविनाको एमाले कसैले पनि कल्पना गर्न नहुने बताए ।
प्रस्तुत छ एमाले नेता भुसालसँग रातोपाटीले गरेको कुराकानीको सम्पादित अंशः
यहाँको विश्लेषणमा नेकपा एमालेको भविष्य के हुन्छ ? अब एमाले विभाजित हुन्छ कि एकतावद्ध हुन्छ ?
नेकपा एमालेका सन्दर्भमा एकता यसको प्रवृत्ति हो, यसको स्वभाव हो । नेकपा एमाले जुन बन्यो, यस्ता पचासौं साना–साना समूहहरु मिल्दै बनेर आयो । यो कुनै एउटा समूहसँग अर्को समूह मिलेको जस्तो रहेन, सधैंभरि एउटै पार्टीका रुपमा, एउटै समूह र संस्कृतिका रुपमा यो हुर्केर आयो । यसको धेरै महत्वपूर्ण कुरा के हो भन्दाखेरी एमाले भनेको नेपालको कम्युनिस्ट आन्दोलनको एकताको प्रवृत्ति हो । एकता, एकता र फेरि एकताद्वारा यो निर्माण भएको हुनाले एकता जति सजिलो छ, विभाजन त्यति सजिलो छैन नेकपा एमालेलाई । यस अर्थमा यो एकीकृत रहन्छ, एकीकृत राखिन्छ भन्ने मलाई लाग्छ …
Leave a comment