११ दिनमा सकिएला साढे ८१ प्रतिशत काम ?

११ दिनमा सकिएला साढे ८१ प्रतिशत काम ?

काठमाडौँ — नारायणगढ–बुटवल सडकको स्तरोन्नति थालेको करिब ४ वर्ष हुन लाग्यो । तर भौतिक प्रगति १८.४४ प्रतिशत मात्र छ । निर्माणको समयावधि ११ दिन बाँकी छ । अर्थात् सम्झौताअनुसार २०७९ साउन २२ भित्र ८१.५६ प्रतिशत काम सकिसक्नुपर्नेछ । अब यो समयभित्र आयोजना पूरा हुन सम्भव छैन ।
निर्माणाधीन नारायणगढ–बुटवल सडक खण्ड । स्तरोन्नतिमा ढिलाइ हुँदा यात्रुले आवतजावतमा सास्ती खेप्दै आएका छन्। तस्बिर : नवीन पौडेल/कान्तिपुर

दुई खण्डमा विभाजन गरेर यसको ठेक्का दिइएको थियो । निर्माण व्यवसायीको ढिलाइले गर्दा तोकिएकै समयमा काम नसकिएको हो । उक्त सडकबारे जनगुनासो बढेपछि प्रतिनिधिसभाको विकास तथा प्रविधि समितिले यसबारे बुधबार छलफल गरेको छ । समिति सदस्यहरूले निर्माणमा ढिलाइ गरेर सर्वसाधारणलाई सास्ती दिने काम भएको आरोप लगाए । समिति सदस्य पद्मा अर्यालले निर्माणमा एकदमै ढिलाइ भएको बताइन् । ‘जुन रफ्तारमा काम अघि बढ्नुपर्ने हो, त्यसरी अघि बढेको छैन,’ उनले भनिन्, ‘जुन समस्या थिए, ती समाधान भइसकेपछि पनि काम भएको छैन, यो सडक भएर यात्रा गर्दा घण्टौं समय लाग्ने भएकाले जाँदाजाँदै एकातिर झरेर बसौं जस्तो लाग्छ ।’

निर्माण व्यवसायीलाई निगरानीमा राखेर छिटो काम गराउनुको विकल्प नभएको उनको भनाइ थियो । समिति सदस्य गजेन्द्रबहादुर महतले सरकारी निकायले बेवास्ता गर्दा निर्माणमा ढिलाइ भएको आरोप लगाए । ‘हामीलाई सताउनेमध्येको प्रमुख सडक यही हो,’ उनले भने, ‘निर्माण थालेको चार वर्ष हुन लाग्यो, २५ प्रतिशत पनि काम भएको छैन, परामर्शदाता र ठेकेदारको भरमा काम छाड्दा कसरी प्रगति हुन्छ ?’ अर्का सदस्य रामबहादुर विष्टले देशकै महत्त्वपूर्ण सडक भए पनि अहिले यसलाई बेहाल बनाइएको बताए । ‘सबैभन्दा खराब सडक कुनै छ भने त्यो नारायणगढ–बुटवल सडक नै हो, डेढ/दुई घण्टामा बुटवल पुगिने सडकमा अहिले १० घण्टासम्म लाग्छ,’ उनले भने, ‘ठेकेदार विदेशी, पैसा विदेशी भएपछि कारबाही गर्न पनि गाह्रो रछ, ठेकेदार भाग्यमानी रैछन्, काम नगर्दा पनि कारबाहीमा परेका छैनन् ।’ समयमै काम गर्नु नपर्ने र ठेक्का पनि नतोडिने भएपछि ठेकेदारको मनोमानी बढेको भन्दै यसमा भौतिक मन्त्रीको ध्यानाकर्षण हुनुपर्ने उनको भनाइ थियो । समिति सदस्य केदार सिग्देलले यात्रुले बढी सास्ती खेप्नुपरेको भन्दै निर्माण नसकिँदासम्मका लागि वैकल्पिक मार्गको विकल्प खोजिनुपर्ने बताए । अर्का सदस्य गणेश पहाडीले निर्माणको प्रगति एकदमै न्यून रहेको भन्दै चाँडोभन्दा चाँडो काम सक्नुपर्ने बताए । समिति सदस्य विद्या भट्टराईले समितिबाट निर्देशन दिने काम भए पनि त्यसलाई कार्यान्वयन गरिएको छ/छैन भनेर हेर्नुपर्ने बताइन् ।

छलफलमा सहभागी अधिकांश सदस्यले तोकिएको समय सकिन लाग्दा प्रगति २० प्रतिशत नपुगेको भन्दै तोकिएको समयमा निर्माण सकिने आधार के भन्दै प्रश्न गरेका थिए । यो सडकको कुल दूरी ११३ किमि छ । दुई खण्ड गरेर कुल ठेक्का रकम १६ अर्ब ९९ करोड रुपैयाँ छ । जसको ठेक्का चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसनले लिएको हो । आयोजना निर्देशनालय (एडीबी) का आयोजना निर्देशक सुशीलबाबु ढकालले निर्माण व्यवसायीले असार मसान्तसम्म ३० प्रतिशत प्रगती पुर्‍याउने दाबी गरेका भए पनि त्यति प्रगति नपुगेको बताए । ‘तर पहिलाको तुलनामा अहिले केही काम भएको छ,’ उनले भने, ‘चाँडो काम गराउन ताकेता पनि भएको छ ।’ पटक/पटक सचेत गराउँदा पनि काम नगरे ठेक्का तोड्नुको विकल्प हुने छैन । आयोजनाका अनुसार निर्माण व्यवसायीले पूर्वी खण्डका लागि ३८६ र पश्चिम खण्डका लागि ३६५ दिन म्याद थप गर्न प्रस्ताव गरेको छ …

पूरा समाचारको लागि : ekantipur.com

Leave a comment

Send a Comment

Your email address will not be published.