दमौली । ठेक्का सम्झौता भएर लामो समयसम्म प्रगति हुन नसकेको तनहुँको भानु नगरपालिकास्थित भानु मार्गको काम पुनः सुरु भएको छ । पटक–पटक म्याद थप भएर पनि सडक कालोपत्रको काम ढिलासुस्ती भएको उक्त खण्डमा पूर्वाधार विकास कार्यालयले निर्माण कम्पनीलाई स्पष्टीकरण सोधेपछि काम पुनः सुरु भएको हो । कार्यालयले केही समय अगाडि कारबाहीस्वरुप स्पष्टीकरण सोधेको थियो । लगत्तै निर्माण कम्पनीले कामलाई अगाडि बढाएको छ । भानु नगरपालिका–१३ चन्द्रावती, पोखरीछाप, ठूल्ढुङ्गा दश किलोमिटर सडकखण्डको कालोपत्र ढिलाइ हुँदा सर्वसाधारणलाई सास्ती हुँदै आएको छ ।
पछिल्लो पटक थपिएको म्याद असार मसान्तसम्म रहेकामा निर्माण कम्पनीले कामलाई निरन्तरता दिएको जिल्ला समन्वय समितिका पूर्वसदस्य एवं स्थानीयवासी गलबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “अहिले कामले केही गति लिन खोजेकोजस्तो देखिन्छ । दुई जेसिभी, दुई स्काभेटर, दुई टिपर, दुई ट्याक्टर प्रयोग गरी काम अगाडि बढेको छ, कामदार पनि केही सङ्ख्यामा थपिएको छ ।”
असार मसान्तभित्र उक्त खण्डको कामको प्रगति ४० प्रतिशत हुनसके निर्माण कम्पनीको म्याद थप्ने नभए ठेक्का सम्झौता तोड्ने निर्णय भएको जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्लेले जानकारी दिनुभयो । “निर्माण कम्पनीको लापर्बाहीका कारण कामले सोचेअनुरुप गति लिन नसकेपछि बसेको सर्वपक्षीय बैठकले असारसम्मको कामको प्रगति हेरेर म्याद थप गर्ने वा ठेक्का तोड्ने भन्ने निर्णय लिनेछ”, उहाँले भन्नुभयो ।
भानुमार्ग–चन्द्रावती–पुलिमराङ कुन्छा कालीमाटी सडकको हालसम्मको प्रगति करिब २० प्रतिशत मात्रै रहेको छ । विसं २०७६ कात्तिक ४ गते ठेक्का लागेको उक्त सडकको भौतिक प्रगति तीन वर्षमा अत्यन्तै न्यून रहेको हो …
Leave a comment