नुवाकोट । नुवाकोटको तादी गाउँपालिका–३ दोर्खुखोलामा पक्की पुल निर्धारित अवधिभन्दा १४ महीनाअगावै सम्पन्न भएको छ ।
खरानीटारबाट वडा नं १ उर्लेनी जोड्न निर्माण गरिएको सो पक्की पुलको बिहीवार बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जमकट्टेलले उद्घाटन गरेका थिए ।
जिल्लाकै विकट बस्तीको रूपमा रहेको उर्लेनीसम्म यातायातका साधनमार्फत जान मुख्य अवरोधको रूपमा रहेको दोर्खुखोलामा पुल निर्माण गरिएको हो । पुलको उद्घाटन गर्दै मुख्यमन्त्री जमकट्टेलले सडक व्यवस्थित बनाउन आवश्यक बजेट उपलब्ध गराउने बताए ।
‘विकासका लागि सडक पूर्वाधार प्रमुख आवश्यकता भएकाले प्रदेश सरकारले सोहीअनुसार प्राथमिकता दिएको छ,’ उनले भने, ‘जीर्ण सडक स्तरोन्नति गर्न बहुवर्षीय बजेट उपलब्ध गराउनेछौं ।’
तादी गाउँपालिकाको केन्द्र खरानीटारबाट उक्त पुलसम्मको सात किलोमिटर कच्ची सडक व्यवस्थित गर्न तीन तहको सरकारले सम्बोधन गर्नुपर्ने सांसद हितबहादुर तामाङले बताए ।
उर्लेनीको कृषि उपज बजार पुर्याउन, स्थानीयलाई दैनिक उपभोग्यवस्तु खरीद गर्न तथा सागरकुण्ड हुँदै गोसाइँकुण्डसम्म पुग्ने पदमार्ग सुचारु गराउन पक्की पुलबाट मद्दत पुग्ने विश्वास गरिएको छ ।
तादीको खरानीटार र उर्लेनीको सीमा हुँदै बगेको दोर्खुखोलामा ४१ मिटर लम्बाइ र आठ दशमलव चार मिटर चौडाइको पक्की पुल निर्माण गरिएको हो । निर्माण शुरू गरेको ६ महीनामै पुल निर्माण सम्पन्न भएको हो ।
२०७९ असार ३० गते पूर्वाधार विकास कार्यालय र जयविष्णु निर्माण सेवाबीच २०८१ असार ३० गतेभित्र पुल निर्माण सम्पन्न गर्ने सम्झौता भएको थियो ।
पूर्वाधार विकास कार्यालयका प्रमुख वीरेन्द्र वज्राचार्यका अनुसार रू. ६ करोड ९९ लाखमा पुलको ठेक्का लगाइएको थियो । निर्माण व्यवसायीलाई रू. ५ करोड ६२ लाख भुक्तानी दिन बाँकी रहेको उनले बताए ।
Leave a comment