गोरखा — मध्यपहाडी लोकमार्गअन्तर्गत मसानेठाटी–ठाँटीपोखरी खण्ड निर्माणको काम अघि बढाउन दबाब दिँदै स्थानीयवासीले मंगलबार जिल्ला प्रशासनमा धर्ना दिएका छन् ।
ठेकेदार खोज्दै आएका उनीहरूले मसानेठाँटी–लुइँटेल–ठाटीपोखरी सडकको काम छिटो हुनुपर्ने माग गर्दै नाराबाजी गरे । १६ किलोमिटर सडकखण्ड पछिल्लो पटक ठेक्का लागेको ३ वर्षमा ३० प्रतिशतभन्दा बढी काम भएको छैन । ‘६ वर्ष भयो, घाँसपात, पानीपँधेरो, भान्सामा धुलोमाटो लतपतियो, पुरानो हिँडिरहेको ह्युमपाइप फालेर नयाँ बनाउने भने, अहिले नयाँ बाटो बनेन, पुरानो बाटो भत्काइदिए,’ पालुङटार–१ भुलभुलेखारकी इन्दिरा देवकोटाले भनिन्, ‘ठेकेदारको चरम लापरबाही भयो । मूल ठेकेदारको मुख नै देख्न पाएका छैनौं, पेटी ठेकेदार भन्ने हुँदोरहेछ, ती पनि काममा छैनन् ।’ सडकमा धुलो उडेर बसिसाध्य नभएको उनले बताइन् ।
उक्त सडकमा ढुंगा र गिट्टी बीचमा थुपारेर अलपत्र छाडिएको छ । ठेकेदारले ज्याला नदिँदा कामदारलाई घर जाने गाडीभाडा आफूहरूले जोहो गरेर पठाउनुपरेको दुखेसो देवकोटाको छ । ‘ज्याला नपाएपछि कामदारले पसलमा पैसा तिर्न सकेका छैनन्, कति दिनसम्म काम गरेको पैसा नपाउँदा कामदार त्यसै फर्किएका छन्,’ उनले भनिन्, ‘ज्याला नपाएका कामदारलाई हामीले खाना खुवाउनुपर्ने स्थिति छ ।’ जभाभावी निर्माण सामग्री थुपार्ने तर काम नहुँदा नालामा पानी नबगेर सडक हिलाम्मे बन्ने गरेको पालुङटारका कमल पोखरेलले बताए । ‘चार लेनको बाटो बन्ने भन्या छ, आशा गर्यौं तर एक–दुई वर्ष होइन, कहिलेसम्म हेर्ने यो अवस्था ?,’ उनले भने, ‘धुलोले अत्तालिएका छौं, अब बर्खा लाग्न थाल्यो, एम्बुलेन्स पनि हिँड्न सक्दैन, यसको जिम्मेवारी कसले लिने ?’ ठेकेदारलाई निर्माणस्थलमा तुरुन्त उपस्थित गराउनुपर्ने पालुङटार–४ लुइँटेलका कालिकाप्रसाद सोडारीले माग गरे । सडक निर्माणलाई तीव्रता दिन माग गर्दै यसअघि पनि पटकपटक ठेकेदारका प्रतिनिधिलाई स्थानीयले सचेत गराएका थिए । ‘क्वालिटीको काम गर्दैनन्, कामदारको रासनपानीको पैसा पनि तिर्दैनन्,’ सोडारीले भने …
Leave a comment