काठमाडौं । प्रशासनिक खर्च कटौतीका लागि नयाँ भवन निर्माण र फर्निचर खरिद नगर्ने घोषणा गरेको सरकारले भौतिक पूर्वाधार विकास अन्तर्गत सडक, पुल र सुरुङमार्ग निर्माणलाई भने प्राथमिकतामा राखेको छ । तर तराई–मधेश द्रुत मार्ग लगायतमा भने सरकारले विगतको भन्दा कम बजेट विनियोजन गरेको छ ।
सरकारले आर्थिक वर्ष २०८०/८१ को बजेटमा भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका लागि १ खर्ब ३१ अर्ब ५९ करोड विनियोजन गरेको छ । यो चालु आर्थिक वर्षको बजेटको तुलनामा ३० अर्ब कम हो । चालु आर्थिक वर्षमा यो मन्त्रालयले १ अर्ब ६१ अर्ब रुपैयाँ बजेट पाएको थियो ।
सरकारले पूर्व–पश्चिम राजमार्गलाई चार लेनमा विस्तार गर्ने कार्यलाई तीव्रता दिने घोषणा गरेको छ । पूर्व–पश्चिम राजमार्गको विस्तार तथा स्तरोन्नतिका लागि ३१ अर्ब २ करोड रुपैयाँ विनियोजन गरिएको छ ।
राजमार्ग र रणनीतिक सडक अन्तर्गत १५० वटा पुल निर्माण गर्ने घोषणा गरेको सरकारले पुल निर्माणका लागि २ अर्ब ८ करोड बजेट विनियोजन गरेको छ ।
सरकारले पूर्व–पश्चिम राजमार्ग अन्तर्गत नारायणगढ–बुटवल र कमला–कञ्चनपुर खण्डको विस्तार तथा स्तरोन्नतिको काम आगामी आर्थिक वर्षमा सम्पन्न गर्ने जनाएको छ । नारायणगढ–बुटवल खण्डलाई एशियाली राजमार्गको गुणस्तर मापदण्डमा विस्तार गर्ने सरकारको योजना छ । त्यसका लागि चिनियाँ कम्पनीसँग ४२ महिनाभित्र काम सम्पन्न गर्ने गरी २०७५ माघ २४ गते सम्झौता भए पनि सडकको प्रगति सुस्त छ ।
यसैगरी सरकारले पूर्व–पश्चिम राजमार्गकै कमला–ढल्केबर–पथलैया, बुटवल–गोरुसिङ्गे, काकडभिट्टा–लौकही, पथलैया–नारायणगढ र लमही–भालुवाङ सडक खण्डको स्तरोन्नति पनि सुरु गर्ने जनाएको छ । दाङको लमही–भालुबाङ खण्डमै एमसीसी परियोजना मार्फत सडक स्तरोन्नति तथा विस्तारको प्रक्रिया अघि बढेको छ …
Leave a comment