डेढ महिनाभित्र बीपी राजमार्गमा स्थायी निर्माण थालिँदै

डेढदेखि दुई वर्षभित्र काम सकिने, ७ अर्ब रुपैयाँ लाग्ने अनुमान 

काठमाडौँ — गत असोज १० देखि १२ सम्म परेको अविरल वर्षाका कारण क्षति पुगेको बीपी राजमार्गमा डेढ महिनाभित्र स्थायी संरचना निर्माण प्रक्रिया थालिने भएको छ । त्यसका लागि तयारी भइरहेको सडक विभागले जनाएको छ ।

काभ्रेभन्ज्याङ–नेपालथोक खण्डको १२ किलोमिटर सडकमा बाढीपहिरोले क्षति गरेको छ । यसको ८.७ किमि सडक खण्ड रोशी खोलाले बगाएको छ । ३.३ किमि सडक कतै भासिएको र कतै चिरा परेको छ । अहिले अस्थायी डाइभर्सन बनाएर यातायातका साधन चलाइएको छ ।

बाढीले सडक बगाएको १६ दिनपछि यस खण्डमा यातायात सञ्चालनमा ल्याइएको हो । विभिन्न आयोजनामा रहेका मेसिन लगेर अस्थायी रूपमा सडक खुलाई यातायात सञ्चालनमा ल्याइएको हो । अहिले पनि विभिन्न खण्डमा साँघुरो सडकका कारण ट्राफिक जामको समस्या छ । यो सडक बनाउने विषयमा विभिन्न अवस्थामाथि विश्लेषण गरिएको सडक विभागका महानिर्देशक रामहरि पोखरेलले बताए ।

‘बाढी आउनुअघिको जस्तो सडक संरचना बनाउँदा साढे तीन अर्ब लाग्ने अनुमान छ, पहिलाकै जस्तो बनाउँदा यस्तै प्राकृतिक विपत्ति आएर क्षति नहोला भन्न सकिन्न,’ उनले भने, ‘त्यसैले यो उपयुक्त हुन सकेन ।’ त्यसपछि विभिन्न अप्ठ्यारो र समस्या भएको ठाउँमा सडकलाई सीधा गर्ने गरी पुल बनाउनुपर्ने देखिएको पोखरेलको भनाइ छ । ‘यस्ता पुल एउटै खण्डमा बनाउने होइन, कतै ५० मिटर, कतै सय मिटर दूरी गरेर करिब एक किमि जति त्यस्ता पुल बनाउँछौं,’ उनले भने, ‘तर बाटो सिधा बनाउन पुल बनाउन लागिएको हो, खोला भएर होइन ।’ यस्तो संरचना बनाउँदा केही बढी खर्च लाग्ने र त्यो दिगो पनि हुने उनले सुनाए ।

‘प्रतिकिमि दुई लेन सडक बनाउन ३० करोड रुपैयाँ लाग्छ,’ पोखरेलले भने, ‘पुल बनाउँदा त्यसको लागत प्रतिमिटर २२ लाख लाग्ने अनुमान छ ।’ सबै गरेर ७ अर्ब रुपैयाँ लाग्ने अनुमान रहेको उनको भनाइ छ । ‘अहिले क्रंकिट वाल लगाइएको छ, अब ती ठाउँमा आरसीसी वाल र रकलाई एंकरिङ गर्छौं,’ उनले भने, ‘यसअघि पानीको तहसम्म मात्र संरचना बनाएको देखिन्छ ।’ धेरै भित्तो खन्दा पहिरोको जोखिम हुने भएकाले अब सडक बनाउँदा भित्तो नकाट्ने गरी काम गर्ने पोखरेलको दाबी छ ।

‘पहिला बनेको सडकको रेखांकन परिवर्तन गरेर बनाउनेछैनौं, केही तलमाथि भने हुन सक्छ,’ उनले भने, ‘पहिला गरिएका कमीकमजोरीहरूलाई सुधार गरेर बलियो संरचना बनाउँछौं ।’ काभ्रेको चौकी डाँडादेखि मुल्कोटसम्मै सडकमा समस्या छ । ‘चौकीडाँडादेखि नेपालथोक खण्डमा बढी समस्या छ,’ उनले भने, ‘सिन्धुली खण्डमा कम र काभ्रे खण्डमा बढी क्षति भएको छ ।’

नेपाल सरकारको आफ्नै स्रोतबाट बनाउने कि जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) को अनुदान सहयोगमा बनाउने भन्नेबारे निर्णय भइनसकेको पोखरेलको भनाइ छ । ‘हामी छिटो काम गर्ने पक्षमा छौं, त्यसैले डिजाइन गर्न बजेटको समस्या छैन,’ उनले भने, ‘निर्माणमा बजेट सुनिश्चितता चाहिएको छ, प्रधानमन्त्री केपी शर्मा ओलीज्यूले अर्थमन्त्री विष्णु पौडेल अमेरिकाबाट आएपछि बसेर फाइनल गर्ने भन्नुभएको छ ।’

यसबीचमा बर्खाअघि दिगो सडकको तयारीका लागि साना–साना ठेक्का गरेर काम थालिने पोखरेलको भनाइ छ । ‘प्रधानमन्त्री र अर्थमन्त्रीले जाइकाका प्रतिनिधिसँग बीपी राजमार्ग बनाउनेबारे मौखिक कुरा गर्नुभएको हो,’ उनले भने, ‘यसबारे कुनै निर्णय भएको छैन । तर अबको डेढ महिनाभित्र स्थायी निर्माणको प्रक्रिया सुरु हुनेछ ।’ जाइकाले बनाउँदा डिजाइनमै दुई वर्षभन्दा बढी समय लगाउने भएकाले फेरि निर्माणमा ढिलाइ हुन सक्ने उनले बताए ।

नेपाल सरकारको स्रोत भए कुनै समस्या नआए ठेक्का भएको डेढदेखि दुई वर्षभित्र स्थायी रूपमै यसको निर्माणको काम सकिने उनको भनाइ छ । विगतका वर्षमा चाडबाडका बेला यो राजमार्ग भएर दैनिक १० हजार हाराहारी सवारी साधन गुड्ने गर्थे । अघिपछि पनि दिनको ७ हजारभन्दा बढी सवारीसाधन यो खण्ड भएर गुड्छन् ।

अस्थायी रूपमा खुलाइएको सडक अस्तव्यस्त रहेको नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले बताए । ‘सामान्य रूपमा सडक सञ्चालनमा ल्याइएको छ, फेरि कुनै पनि दुर्घटना नघट्ला भन्न सकिन्न,’ उनले भने, ‘सडककै कारण यात्रुले कष्टकर यात्रा गर्नुपरेको र सवारी साधन बिग्रिने समस्या बढेको छ ।’ यसलाई स्थायी रूपमा निर्माण नगर्दासम्म वैकल्पिक बाटोको व्यवस्था गर्नुपर्नेमा उनले जोड दिए ।

दसैंका बेला पनि काम गरेर बीपी राजमार्गलाई छिटो सञ्चालनमा ल्याउन सकिएको भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहालले बताए । ‘स्थायी रूपमा सडक बनाउने विषय पहिलो प्राथमिकतामा राखेका छौं,’ उनले भने, ‘जापानले बनाउने चाहना देखाए उसैलाई बनाउन दिन्छौं, यसबारे अहिले कुनै निर्णय भइसकेको छैन, ढिलो हुने देखिए आफैं काम थाल्छौं ।’ बीपी राजमार्गअन्तर्गत काभ्रेको मम्तीखोला, कालढुंगा, बोक्सीकुना, नार्केपुल आसपास, पिनथली बेसी, डालाबेसी, भ्याकुरे खोला, चार सय बेसी, मंगलटारलगायत खण्डमा सडक बगेको छ । यी खण्डमा कालोपत्रे सडकको नामनिसानसम्म छैन । कतिपय स्थानमा भने खोलाबाटै सवारी साधन चलाउनुपर्ने बाध्यता छ ।

बीपी राजमार्गअन्तर्गत काभ्रेको धुलिखेलदेखि महोत्तरीको बर्दिबाससम्म १ सय ५८ किलोमिटर सडक जापान सरकारको अनुदान सहयोगमा निर्माण गरिएको हो । करिब २० वर्ष लगाएर यसको निर्माण गरिएको थियो । राजधानीलाई पूर्वी तराईसँग जोड्ने गरी सन् १९९६ मा निर्माण सुरु गरेर २०१५ मा सम्पन्न गरी नेपाललाई जापानले हस्तान्तरण गरेको थियो । पछि फेरि भूकम्पले गर्दा सडकमा क्षति पुग्यो । १८ महिना लगाएर पुनर्निर्माण गरी जापानले नेपाललाई हस्तान्तरण गरेको थियो । त्यति बेला बीपी राजमार्ग निर्माणमा मात्र २८ अर्ब रुपैयाँ लागेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *