गुल्मीका अग्नि पीडितले ऋण लिएर घर बनाए, सरकारले राहत रकम नदिंदा समस्यामा
गुल्मी । गुल्मीका आगोलागी पीडितले आफ्नै खर्चमा आवास निर्माण गरेका छन् । तर, ऋण लिएर बनाएको घर तयार भएपनि सरकारले दिने भनेको आवास निर्माण रकम नपाउँदा उनीहरू थप समस्यामा परेका छन् ।
गुल्मीको इस्मा गाउँपालिकाको वडानम्बर–२ सिदुङखामा गत वैशाख ८ गते सामुदायिक वनबाट लागेको आगो बस्तीमा पुग्दा धेरै क्षति भएको थियो।
घर बनाएको ऋण तिर्न नसक्दा अग्नी पीडितलाई थप समस्या निम्त्याएको इस्मा २ सिदुङ्खका अग्नी पीडित मिना रायमाझीले बताइन्। उनले भनिन्, ‘ हामीले ऋणलिएर ठेक्कमार्फत घर त बनायौं। तर, सरकारले दिने भनेको आवास निर्माण रकम नदिँदा हामी थप समस्यामा परेका छौं।’
उनले सरकारले तोके अनुसार घर निर्माण गरेको र विभिन्न चरणमा किस्ता रकम पाइन्छ भन्ने सुनेपनि अहिलेसम्म कुनै रकम नपाएको अग्नी पीडित बसुन्धारा कुँवरको दुखेसो छ ।
‘आगोलागीबाट घरमा भएको र गोठमा भएको सबै गुमाएर पीडित अवस्थामा पुगेका छौं ।तर सरकारले समयमै घर बनाउने रकम समेत दिएन। यसले थप पीडा दिएको छ हामी अग्निपीडितलाई।’
आगलागीबाट उनको घर गोठ र पसल समेत गलेर नष्ट भएको थियो । यी अग्नी पीडितका प्रतिनिधी मुलक समस्या हुन् । इस्मा मात्रै आगोलागीबाट ४९ घर गोठ जलेर नष्ट भएका थिए ।
सबै अग्नी पीडितले घर गोठ निर्माण गरेका छन् । तर सबैलाई एउटै समस्या घर निर्माणको लागि पाउनु पर्ने पैसा पाएका छैनन् । आगलागीबाट सिदुङखामा २६ वटा घरगोठ जलेर नष्ट भएका थिए भने दर्जनौ पशुचौपाया पनि जलेर नष्ट भएका थिए ।
आगलागी पीडित परिवारले आवास निर्माणका लागि ५ लाख पाउने व्यवस्था रहेको थियो । त्यसमध्ये इस्मा पालिकाले १ लाख अन्य ४ लाख प्रदेश र संघ सरकारले उपलब्ध निर्णय भएको थियो ।
इस्मा गाउँपालिकाले १ लाख रुपैयाँ दिएपनि अरु ४ लाख रुपैयाँ अग्नी पीडितले नपाएको इस्मा गाउँपालिका अध्यक्ष भगतसिंह खड्काले बताए । आगोलागिबाट जिल्लाभर मध्ये धेरै क्षती इस्मा गाउँपालिकामा भएको उनले बताए।
पालिकाले तत्काल गर्न सक्ने सबै कामहरु गरे पनि मुख्य समस्या घर निर्माणको भुक्तानी मै रहेको अध्यक्ष खड्काले बताए । पालिकामा अहिले घर बिहिन भएका नागरिकको घर निर्माण गरेका छन् ।
इस्माको सिदुङख्कामा स्थानीय समिति बनाएर पनि रकम संकलन गरिएको थियो । समितिले १६ लाख बढी रकम संकलन गरेर क्षतीको अवस्था मूल्याङकन गरेर पीडित परिवारलाई हस्तातरण गरिएको स्थानीय राहत संकलन समिति अध्यक्ष रमेश थापाले बताए ।
जिल्लामा गतएको वैशाख महिना सहित सुख्खा सिजनमा आगोलागीका कारणले १६९ घर गोठ जलेर नष्ट भएका थिए । १०० बढी पशुचौपाय जलेर नष्ट थिए । आगोलागीका कारण जिल्लामा सबैभन्दा बढी क्षति इस्मा गाउँपालिकामा भएको छ ।
जिल्लाका १२ वटा स्थानीय तहहरु मध्ये मदाने, मुसिकोट, धुर्कोट र रुरुक्षेत्रमा बढी क्षति भएको छ । जिल्लामा विभिन्न सामुदायिक वनबाट फैलिएको आगो बस्तीमा पुग्दा करोडौंको क्षति भएको छ ।
जिल्लाका ८० वटा सामुदायिक वनमा आगलागी भएको छ । सयौं नागरिक घरबार बिहिन भएका छन् । जिल्ला भर २ हजार बढी हेक्टर क्षेत्रफल वनमा डढेलो लागेको थियो ।
सामुदायिक वनमा आगो लगाउने व्यक्ति पहिचाहन गर्न निकै कठीन पर्ने गरेको डिभिजन वन कार्यालय गुल्मीले जनाएको छ । स्थानीय नागरिकले सहयोग नगर्दा आगो लगाउने व्यक्तिहरु पहिचाहन गर्न समस्या हुने गरेको हो ।
डिभिजन वन कार्यालय गुल्मीले आगो लागाउने व्यक्ति गोप्य सूचना दिएका पुरस्कार दिने व्यवस्था समेत गरेको छ । गुल्मी जिल्लामा पछिल्लो २० वर्षको अवधीमा ०७३ साल पछि आगोलागीको ठूलो घटना गत बैशाख महिनामा घटेको थियो ।
०७३ सालमा मुसिकोट नगरपालिकाको वडानम्बर–४ दगाकोटमा स्थानीय सामुदायिक वनबाट बस्तीमा आगो पुग्दा ५८ वटा घर जलेका थिए । सयौं पशुचौपाय र सयौं गोठ जलेर नष्ट भएका थिए । जिल्लामा १२ वटा स्थानीय तहहरु मध्ये रेसुङ्गा नगरपालिकामा मात्रै दमकल रहेको छ ।
अब गर्मी र सुख्खा सिजन सुरु हुन थालेको छ । तर स्थानीय तहमै दमकल नहुँदा जिल्ला सदरमुकामको एउटा दमकल सबै ठाउँमा पुर्याउँदा धेरै क्षति हुने गरेको छ ।
स्रोत : अनलाईन खबर