Nirman Khabar
Header Banner

पूर्व-पश्चिम राजमार्गस्थित दुधौरा पुलको निर्माण पुसभित्र सक्ने कम्पनीको प्रतिबद्धता

निर्माण खबर
निर्माण खबर | शनिबार, २७ मंसिर २०८२
समाचार सेयर गर्नुहोस्
पूर्व-पश्चिम राजमार्गस्थित दुधौरा पुलको निर्माण पुसभित्र सक्ने कम्पनीको प्रतिबद्धता

काठमाडौं । पूर्व–पश्चिम राजमार्गको पथलैया–ढल्केबर खण्डअन्तर्गत बाराको दुधौरा पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्ने प्रतिबद्धता निर्माण व्यवसायीले जनाएका छन् ।

मुख्य राजमार्गको पुल निर्माण वषौंदेखि अलपत्र परेको भन्दै गुनासो आएपछि भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले शुक्रबार पुल निर्माणको स्थलगत निरीक्षण गरे ।

मन्त्री घिसिङले पुल निर्माण सम्पन्न हुने तालिका, बाँकी काम, समस्या लगायत विषयमा सडक विभागका महानिर्देशक र निर्माण व्यवसायीसँग छलफल गरेका थिए । मुख्य राजमार्गकै पुल लामो समयदेखि निर्माण हुन नसक्दा यात्रुले सास्ती बेहोर्नु परेको उल्लेख गर्दै मन्त्री घिसिङले विद्युत् लाइन देखाएर काम रोक्न नहुने र तत्काल सम्पन्न गर्नुपर्ने बताए । उनले पुल नजिकबाट गएको ११ केभी लाइनले निर्माणमा कुनै असर नपर्ने उल्लेख गरे ।

पुल निर्माणको ठेक्का पाएको महादेव खिम्ती—हिराचन उपक्रम (जेभी)का रवि सिंहले पछिल्लो पटक थप गरिएकै समयमा पुल निर्माण सम्पन्न गर्ने प्रतिबद्धता जनाए । निर्माण व्यवसायी महासंघका अध्यक्षसमेत रहेका सिंहले पुसभित्र पुल निर्माण सम्पन्न गरी सडक विभागलाई हस्तान्तरण गर्ने बताए ।

चार लेनको ९० मिटर लम्बाइ भएको कंक्रिट पुल निर्माणका लागि महादेव खिम्ती—हिराचन उपक्रम (जेभी)सँग २४ असार २०७५ मा १७ करोड २२ लाख (कर सहित)मा ठेक्का सम्झौता भएको थियो । सुरुको सम्झौता बमोजिम पुल निर्माण असार २०७८ भित्र सम्पन्न गर्नुपर्ने थियो । पछिल्लो म्याद थप बमोजिम पुल निर्माण आगामी पुसभित्र सम्पन्न गर्नु पर्नेछ । पुलको भौतिक प्रगति ८५ प्रतिशत रहेको छ ।

तपाईंको प्रतिक्रिया

प्रतिक्रियाहरू

यस समाचारमा अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन।

पहिलो प्रतिक्रिया दिनुहोस्!